Ad Area

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने


दाङ,६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ ।

आज बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री महराले राजीनामा दिनु भएको हो ।

गत चैत्र २३ गते एमालेसहित साना दलहरुका ४८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नु भएका महरा नेतृत्वको सरकारलाई नेकपा एमालेले दिएको समर्थन असार २० गते फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्रीबाट राजीनामा दिनु अघिको सम्बोधनका क्रममा मुख्यमन्त्री महराले ठूला राजनीतिक दलहरूमा देखिएको इमानदारीताको स्खलनले जनता निराश बन्दै गएको बताउनु भयो ।

दलहरुको नेता कार्यकर्ता एकपछि अर्को अनियमितता र भ्रष्टाचारका काण्डमा मुछिदै गएको भन्दै मुख्यमन्त्री महराले यसको सत्य तथ्य छानबिन गर्न र दोषीमाथि कारबाही हुनु पर्ने बताउनु भयो । महराले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताउनुभयो । । यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको थिएन ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad