Ad Area

ढिलो पानी पर्दा रोपाइँ जारी, खेती हुने क्षेत्रफल घट्यो


घोराही,  ६ साउन । नेपालमा मनसुन समयममै भित्रिए पनि पश्चिम क्षेत्रमा ढिलो पानी पर्दा यो वर्ष धान रोपाइँ ढिलो भएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषकले बेलैमा धानको ब्याड राख्न नपाउनेदेखि खेतीपातीका लागि पानी अभावमा समयमा काम गर्न किसानलाई कठिन भएपछि साउनको पहिलो सातासम्म जिल्लामा धान रोपाइँ जारी छ । दाङमा अहिलेसम्म ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको सरकारी आँकडा छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाको देउखुरी क्षेत्रको राप्ती, लमही, गढवा, राजपुर गाउँपालिका बाहेक अरु पालिकामा अझै रोपाइँ भईरहेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । जिल्लाको राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा लगभग धान रोपाइँ भईसकेको छ । सूचना अधिकारी लामिछानेले भन्नुभयो, ‘असार दोश्रो सातासम्म पानी नपर्दा किसानले ब्याड राख्न पाएनन् । पानी लाग्ने ठाउँमा मात्रै बेलैमा धान रोपाइँ भयो । जिल्लाभरको अवस्था हेर्दा करिब ८२ प्रतिशत रोपाइँ भएको छ ।’

एकातिर रोपाइँ ढिलो भएको छ । अर्कोतिर धान रोपाइँ हुने क्षेत्रफल पनि यो वर्ष घटेको छ । जिल्लामा ३७ हजार दुई सय २५ हेक्टरमध्ये ३० हजार ५ सय २४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । तर, सिंचाई नपुगेका क्षेत्रमा पनि ब्याड तयार भएका ठाउँमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार देउखुरी क्षेत्रका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा रोपाइँ सकिएको छ । घोराही उपमहानगरपालिकामा ९७ प्रतिशत र बंगलाचुली गाउँपालिकामा ९५ प्रतिशत रोपाइँ सकिएको केन्द्रले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण पालिकामा ८६ प्रतिशत रोपाइँ भएको छ ।

कृषि अर्थविज्ञ लामिछानेका अनुसार, गत वर्ष तुलसीपुर उपमहानगरपालिकामा ७ हजार ३ सय १५ हेक्टर, घोराही उपमहानगरपालिकामा ७ हजार २ सय ४८ हेक्टर, दंगीशरण गाउँपालिकामा ४ हजार ९ सय ७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यसैगरी, राप्ती गाउँपालिकामा ३ हजार ७ सय ६७ हेक्टर, लमही नगरपालिकामा ३ हजार १ सय ६ हेक्टर, बबई गाउँपालिकामा २ हजार १ सय ८९ हेक्टर, गढवा गाउँपालिकामा १ हजार ७ सय ९४ हेक्टर, शान्तिनगर गाउँपालिकामा १ हजार ३ सय ९१ हेक्टर, राजपुर गाउँपालिकामा १ हजार २ सय ७३ हेक्टर र बंगलाचुली गाउँपालिकामा ६ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

सहज सिंचाई सुविधा भएका र दुई बाली उत्पादन हुने देउखुरीका अधिकांश खेतमा महिना दिन अगाडि नै रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले पछिल्लो ब्याड तयार नभएको ठाउँमा साउन दोश्रो हप्तासम्म रोपाइँ सकिने अवस्था रहेको जानकारी दिनुभयो । जिल्लामा यो वर्ष रोपाइँ हुने क्षेत्रफल घटेको छ । दाङमा धान खेती हुने ३९ हजार चार सय हेक्टर भए पनि तरकारी खेती पनि हुने अवस्थाले धान खेती हुने क्षेत्रफलबाट ३७ हजार दुई सय २५ हेक्टर भएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ लामिछानेले भन्नुभयो ‘धान, गहुँ, मकै फल्ने खेतबारी अहिले घडेरी बन्न थाले । उद्योग कलकारखाना खुल्न थाले । यसले गर्दा खेतीयोग्य जग्गा खुम्चिन थाल्यो, भएका खेतमा पनि अन्नबाली नलगाउने, बाँझै राख्ने अनि सबै खाद्यान्न किनेर खाने चलन बढेर गएको छ । यसले खेतीयोग्य जमीन प्लटिङमा परिणत भएको छ ।’ तर, उहाँले अहिलेसम्मको रोपाइँको अवस्था हेर्दा मौसम अनुकूल भएकोले सिंचाई, मल लगायतको व्यवस्थापन राम्रो भएमा धान उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । गत वर्ष जिल्लामा ३७ हजार ३ सय ६५ हेक्टरमा धान खेती भएको थियो । उता, बंगलाचुलीका किसान भने चैते धानबाली भित्र्याएर बर्खे धान रोपिरहेका छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान चैते धान भित्र्याएर बर्खे धान रोपिरहेका ज्ञान केन्द्रले जनाएको छ ।

Blog Post Ad

बंगलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र ८ वडा अन्तरगत गहतेरा, मुलाबारी, धनौरेलगायत विभिन्न ठाउँ तथा घोराही उपमहानगरपालिका वडा नम्बर १ को सुकाखोलामा चैते धानखेती हुने गरेको छ । दाङमा आर्थिक वर्ष २०८०–०८१ मा एक लाख ५९ हजार एक सय ४४ मेट्रिक टन धान उत्पादन भएको छ । आर्थिक वर्ष २०७९–०८० मा एक लाख ५४ हजार दुई सय ४३ मेट्रिक टन धान उत्पादन भएको थियो । दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्य रहेको सरकारी तथ्यांक छ । जसमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेतीपाती हुने गरेको तथ्यांकले देखाउँछ । बाँकी दुई हजार सात सय ८० हेक्टर खेतीयोग्य जमिन खुम्चिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । एक वर्षको अवधिमा ६० हेक्टर जग्गा खुम्चिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad