मंसिर १७ देखि मतदाता नामावली संकलन
विमला घर्ती
घोराही, १२ मंसिर ।
यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ । आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गरिने भएको हो । निर्वाचन आयोग र प्रदेश निर्वाचन कार्यालय दाङले आइतवार घोराहीमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा अन्तर्रक्रिया कार्यक्रमको आयोजना गरी नामावली संकलन गरिने बिषयमा जानकारी गराएको हो । अहिले ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ । मंसिर १७ गतेदेखि हुने मतदाता नामावली संकलनको कार्यक्रम स्थानियतह लक्षित हुने छ ।
निमित्त प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार मतदाता नामावली संकलन हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ । तराई, भित्री मधेका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने छ । नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको समेत मतदाता नामावलीको विवरण संकलन गरिने आयोगले जनाएको छ । स्थायी ठेगानाभन्दा अन्यत्रबाट पनि मतदाता नामावली संकलन गर्न सकिने आयोगले व्यवस्था गरेको छ ।
मंसिर १७ देखि सुरु हुने मतदाता नामावली संकलन गर्न २ हजार ३ सय कर्मचारी खटिने आयोगले जनाएको छ । आयोगले पुस २० भित्र सबै स्थानीय तहमा नामावली संकलन गरिसक्ने लक्ष्य लिएको छ । आयोगका अनुसार अहिले १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम छन् । अब १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।
दाङमा हाल तीन लाख ७७ हजार, पाँच जना मतदाता रहेका छन् । जसमा एक लाख ९ हजार ८ सय ७५ महिला मतदाताको संख्या रहेको छ । भने एक लाख ८६ हजार एक सय २८ जना पुरुष मतदाता संख्या छ । दुई जना तेस्रो लिंगी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङका १० वटै स्थानिय पालिकाका कार्यालयमा नामावली संकलन गरिने छ । अहिले हुन लागेको मतदाता नामावली संकलन कार्यक्रममा करिव जिल्लामा थप २७ देखि २८ हजार थप हुने अनुमान गरिएको छ ।