Ad Area

दाङमा संचालित एम्बुलेन्समा जिपिएस जडान गर्ने तयारी


घोराही, ९ साउन । दाङमा संचालित ‘ग’ वर्गका एम्बुलेन्समा ग्लोबल पोजिसनिङ सिस्टम जिपिएस जडान गरी व्यवस्थित र पारदर्शी बनाउन मापदण्डको दायरामा ल्याउने निर्णय भएको छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले ‘ग’ वर्गका एम्बुलेन्समा जिपिएस जडान गरी प्रादेशिक प्रेषण केन्द्रसँग आवद्ध भई संचालन गर्ने निर्णय गरेको हो ।

सो एम्बुलेन्सलाई प्रविधियुक्त बनाउँदै ९० दिन भित्र राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले तोकेको मापदण्ड अनुसार ‘ख’ वर्गमा स्तारोन्नति गरी संचालन गर्ने व्यवस्था मिलाउन मापदण्डको दायरामा ल्याउन सम्बन्धित एम्बुलेन्स संचालक संस्थाहरुलाई निर्देशन दिने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।

यसैगरी, जिल्लामा संचालित एम्बुलेन्सहरुको भाडादर निर्धारण गर्न एम्बुलेन्स संचालकहरुलगायत सरोकार पक्षहरुसँग आवश्यक परामर्श गरी आगामी बैठकबाट दररेट निर्धारण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकले स्वास्थ्य कार्यालय दाङ र जिल्ला ट्राफिक कार्यालय दाङको आयोजनामा एम्बुलेन्स संचालक र एम्बुलेन्स चालकहरुलाई एम्बुलेन्स संचालन सम्बन्धी निर्देशिकाको विषयमा अभिमुखीकरण गर्ने तथा एम्बुलेन्स संचालन सेवाको नियमित अनुगमन पनि गर्ने निर्णय गरेको उहाँको भनाई छ ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्ड अनुसार एकरुपता नआएको भन्दै सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गर्दै निर्देशिका बमोजिम मापदण्ड पालना गर्न भनेपछि यसलाई कार्यान्वयन गर्न जिल्लामा प्रारम्भिक बैठकमार्फत निर्णय गरिएको बताईएको छ ।

एम्बुलेन्स चालक संघ दाङका अध्यक्ष सुभास रिजालका अनुसार जिल्लामा ८५ वटा एम्बुलेन्स सञ्चालनमा छन् । सबैभन्दा धेरै तुलसीपुरमा ३५ वटा, घोराहीमा १५ वटा र अरु पालिकाबाट सञ्चालनमा रहेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स निर्देशिकाले तोकेको मापदण्ड जिल्लामा संचालित एम्बुलेन्सले पुरा नगरेको बताउनुभयो ।

Blog Post Ad

स्वास्थ्य मन्त्रालयले मुलुकभर संचालित एम्बुलेन्सको रङ, साइरन र अन्य संकेतहरुमा एकरुपता ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले तोकेको मापदण्ड पूरा नगरेमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण समेत नगर्ने जनाएपछि अहिले जिल्ला स्तरमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले प्रकृया अघि बढाउन लागेको हो ।

जिल्लास्थित सरोकारवालाहरुको उपस्थितीमा बसेको बैठकमा स्वास्थ्य मन्त्रालय लुम्विनी प्रदेशका महाशाखा प्रमुख नोदनारायण चौधरी, स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत भरतबहादुर कुँवर, राप्ती प्रादेशिक अस्पतालका धनबहादुर केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश शाही, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि, एम्बुलेन्स चालक संघका प्रतिनिधि, स्वास्थ्य कार्यालय दाङका प्रतिनिधीलगायत उपस्थित हुनुभएको थियो ।

Blog Post Ad Blog Post Ad