Ad Area

दाङमा एक वर्षमा २२ हजार बढीले बनाए नयाँ पासपोर्ट


घोराही, ११ साउन । दाङमा गत आर्थिक वर्ष २०८०–०८१ मा करीव साढे २२ हजारले विदेश जान आवश्यक अनुमतिपत्र अर्थात राहदानी बनाएका छन् । गत वर्ष २२ हजार ३ सय ५४ ले राहदानी बनाएको दाङमा रहेका २ वटा इलाका प्रशासन र जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ९ सय २८ राहदानी वितरण भएको छ ।

यसैगरी, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ९ हजार ५ सय १४ राहदानी वितरण भएको छ । इलाका प्रशासन कार्यालय लमहीबाट पनि राहदानी लैजाने नै धेरै छन् । इलाका प्रशासन कार्यालय लमहीबाट ४ हजार ९ सय १६ राहदानी वितरण भएको तथ्यांकमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक रोजगार र विदेश भ्रमणका लागि बनाईने पासपोर्ट बनाउनेमा पुरुष धेरै छन् । पछिल्लो समय बढ्दो बेरोजगारी र राम्रो आम्दानीको श्रोत खोज्दै विदेशिनेको संख्या बढ्दै गएको देखिएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा दाङमा राहदानी लिनेमा पुरुष धेरै रहेको देखिएको छ । दाङका दुई इलाका र जिल्ला प्रशासन कार्यालयको रेकर्डमा सबैतिर राहदानी लिनेमा पुरुष धेरै छन् ।

राहदानी लिने महिलाभन्दा ७ हजार ८ सय १० पुरुष धेरै रहेको रेकर्डले देखाएको छ । जिल्लामा महिलाको तुलनामा दोब्बर पुरुष बढीले राहदानी लिएको देखिएको हो । ७ हजार २ सय ७४ महिलाले राहदानी लिँदा १५ हजार ८४ पुरुषले राहदानी लिएका छन् ।

इलाका प्रशासन कार्यालय लमहीमा १ हजार ३ सय ६४ महिला र ३ हजार ५ सय ५२ पुरुषले राहदानी लिएका छन । जिल्ला प्रशासन कार्यालयमा २ हजार ६ सय ९८ महिला र ५ हजार २ सय ३० पुरुषले राहदानी लिएका छन् ।
इलाका प्रशासन कार्यालय तुलसीपुरमा पनि राहदानी लिने पुरुषको संख्या दोब्बर बढी देखिएको छ । इलाका प्रशासन कार्यालय तुलसीपुरमा ३ हजार २ सय १२ महिलाले राहदानी लिँदा ६ हजार ३ सय २ पुरुषले राहदानी लगेको तथ्यांक छ ।

Blog Post Ad

उसो त, दाङमा गएको आर्थिक वर्षमा १८ हजार २ सय ७६ ले नयाँ नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ३ सय ८१ नयाँ नागरिकता वितरण भएको छ ।

इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ७ हजार २ सय ४२ नागरिकता वितरण हुँदा इलाका प्रशासन कार्यालय लमहीबाट ४ हजार ६ सय ५३ नागरिकता वितरण भएको छ ।

सोही अवधिमा दाङमा नयाँ नागरिकता बनाउनेमा महिलाको संख्या धेरै देखिएको छ । दाङका दुई इलाका र जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार सबै कार्यालयबाठ नागरिकता लिनेमा धेरै महिला छन् ।

तथ्यांकअनुसार दाङमा नागरिकता लिने पुरुषभन्दा १ हजार ८ सय महिला धेरै छन । जसमा ९ हजार ५ सय ३८ महिलाले नागरिकता लिँदा ७ हजार ७ सय ३८ पुरुषले नागरिकता बनाएका छन् । जिल्लाका तीनवटै प्रशासन कार्यालयमा नयाँ नागरिकता बनाउने महिला नै धेरै देखिएको हो ।

इलाका प्रशासन कार्यालयमा २ हजार ४ सय ५४ महिला र दुई हजार एक सय ९९ पुरुषले नयाँ नागरिकता बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमहीमा ३ हजार २ सय ५७ महिला र ३ हजार १ सय २४ पुरुषले नयाँ नागरिकता बनाएका छन् ।

उता, इलाका प्रशासन कार्यालय तुलसीपुरमा पनि नागरिकता लिने महिला नै धेरै देखिएका छन् । ३ हजार ८ सय २७ महिलाले नयाँ नागरिकता बनाउँदा ३ हजार ४ सय १५ पुरुषको नयाँ नागरिकता बनाएका छन् ।

देशभरका जिल्लाहरु मध्ये वैदेशिक रोजगारका लागि विदेशिनेहरुको तुलना गर्दा दाङबाट विदेशिनको संख्या उच्च छ । वैदेशिक रोजगार विभागका अनुसार बितेको पाँच आर्थिक वर्षमा दाङबाट ५४ हजार बढी व्यक्तिले श्रम स्वीकृति लिएर वैधानिक रुपमा विदेशिएका छन् । यो संख्या भारतमा रोजगारी गर्न जाने तथा अवैध बाटो भएर विदेशिनेहरुको संख्या बाहेकको हो ।

वैदेशिक रोजगार विभागबाट आधिकारिक श्रम स्वीकृति लिएर २०७६–०७७ देखि गत आर्थिक वर्षको असार मसान्तसम्म ५४ हजार बढीे श्रम स्वीकृति गराएर वैधानिक रुपमा वैदेशिक रोजगारीमा गएका छन् ।

दाङका करीव १२ हजार जनाले गत आर्थिक वर्ष २०८०–०८१ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७६–०७७ मा दाङ जिल्लाका ७ हजार ५ सय ८९ ले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७७–०७८ मा दाङका ३ हजार १ सय ७४ ले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा दाङका १२ हजार ७ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । यो वर्ष धेरैले श्रम स्वीकृति लिएको देखिएको छ । आर्थिक वर्ष २०७९–०८० मा दाङ जिल्लाका १७ हजार ८ सय ७ जनाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् ।

Blog Post Ad Blog Post Ad