Ad Area

राजपुरमा साना किसान तथा युवा उद्यमशिलता परियोजनाकाे कार्ययाेजना र बजेट सार्वजनिक


राजपुर, १० साउन । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाकाे वार्षिक कार्ययाेजना तथा बजेट सार्वजनिक भएको छ ।

राजपुर गाउँपालिकाको समन्वयमा हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालन भईरहेको “राजपुर कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” को आर्थिक वर्ष २०८१-०८२ को वार्षिक कार्ययोजना तथा बजेट बिहीबार गंगदीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हाे ।

राजपुर गाउँपालिकाका अध्यक्ष तथा परियोजना अनुगमन समन्वय समिति संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षता तथा उपसंयोजक एवम् पालिका उपाध्यक्ष धनपतिदेवी यादवको उपस्थितीमा भएको कार्यक्रममा साे परियोजनाको वार्षिक कार्ययोजना निर्माणका विषयमा वृहत छलफल गरि परियाेजना कार्यान्वयन बारे जानकारी गराईएकाे हाे ।

कार्यक्रममा साे क्षेत्रका नागरिकहरुलाई व्यवसायी, उद्यमी बनाई बजारीकरणमा जोड्न बाख्रा, बोका, दुग्ध संकलन केन्द्र, दुग्ध सम्बन्धी तालिम, व्यावसायिक तरकारी खेति गर्ने किसानहरुका लागि सहयोग, खोर तथा भकारो सुधार कार्यक्रम, भर्मी कम्पोष्ट मल उत्पादन सहयोग, युवा उद्यमशिलता विकास तालिम लगायत विषयमा छलफल गरी योजना निर्माण गरिएको छ ।

संस्थाका अनुसार आर्थिक वर्ष २०८१-०८२ को लक्षित वार्षिक कार्ययोजना सम्पन्न गर्न २ कराेड बजेट विनियोजन भएको छ ।

Blog Post Ad

कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले साझेदार संस्थाहरुसँगकाे सहकार्यमा परियोजनामार्फत काम गर्दा परिणाम देखिने र नागरिकले घरदैलोमा स्थानीय सरकार आएको महसुस गर्ने बताउनुभयो । उहाँले सामाजिक, आर्थिक विकासमा यस प्रकारकाे कामले टेवा पुर्याउने हुँदा सिंगो पालिका अझ धेरै काम गर्न उत्साहित भएको बताउनुभयो ।

पालिका उपाध्यक्ष यादवले लक्षित महिलाहरुलाई आधार मानेर समुदायमा आधारित कृषि सम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयनका माध्यमबाट आर्थिक सुधार आउने विश्वास व्यक्त गर्नुभयो । महिला, युवा उद्यमीहरुलाई उत्पादनमा जाेड्ने अभियानका साथ परियोजनाले थालेको अभियानले गाउँपालिकामा काम गर्ने उत्साहकाे लहर ल्याएको बताउनुभयो ।

ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष चौधरीले महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा सशक्तीकरण गर्न संस्थासँगै स्थानीय सरकारले गरेको काम र उत्साहलाई अझ उँचाईमा पुर्याउन सबैको साथ, सहयाेगकाे अपेक्षा गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष श्याम रोका, वडा नम्बर ३ अध्यक्ष रामप्रसाद यादव, वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव, कार्यपालिका सदस्य रीता नेपाली, पशु शाखा प्रमुख डाक्टर दीपक नेपाली लगायतले राजपुरकाे कृषि, पशु, युवा उद्यमशीलता तथा सामाजिक विकासका पक्षमा भईरहेका काम बारे भनाई राख्नुभएको थियो ।

परियोजना फोकल पर्सन भीमकान्त चौधरीको स्वागत मन्तव्य एवम् विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक गिरीराज भट्टले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad