Ad Area

स्वस्थ र दीर्घजीवन जिउन शरीरलाई चलायमान राखौं


घोराही, १२ साउन । स्वस्थ जीवन अपनाउन सबैभन्दा पहिला शरीरमा विषाक्त पदार्थको सेवनमा नियन्त्रण गर्न सक्नुपर्छ । हामीले खाने कतिपय कुरा शरीरका लागि विषाक्त हुनसक्छ । जसमध्ये चुरोट, सुर्तीजन्य पदार्थ र मदिरा प्रमुख हुन् ।

यी पदार्थमा शरीरलाई हानि गर्ने रसायन हुनुका साथै लत बसाउने तत्व पनि हुन्छ । त्यही कारण पहिला रहरैरहरमा खाएपनि पछि हानि गर्छ भनेर थाहा पाउँदा चाहेर समेत छुटाउन कठिन पर्छ ।

यदि माथि चर्चा गरिएकामध्ये कुनै एकमा लत छ भने अन्य खानेकुरा र व्यायामले मात्र शरीर स्वस्थ रहन सम्भव हुँदैन । यसको लागि लत नै छोड्नुपर्छ । यी लत लाग्ने पदार्थ मात्र होइन, अहिले जंकफुड पनि दीर्घरोगको प्रमुख कारण बनिरहेको छ ।

यस्ता खानेकुरामा विशेष किसिमको तत्व हुन्छ, जसमध्ये एक चिनी हो । जंकफुडमा अत्यधिक मात्रामा सुक्रोज र उच्च फ्रुक्टोज हुन्छ । जसले शारीरिक पाचनमा असर पार्छ । त्यसमा हुने ट्रान्सफ्याट र नुनले पनि समग्र स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।

यी खानेकुरा हानिकारक छ भन्ने जान्दा जान्दै पनि मान्छेहरुले किन खान्छन् भने यसमा जिब्रो लोभ्याउने स्वाद हुन्छ । एक पटक खाएपछि फेरि खाने तलतल लाग्छ । त्यसैले चटक्कै त यी खानेकुरा छाड्न सकिंदैन । यद्यपि क्रमश: कम गर्दै प्राकृतिक खानामा आफूलाई अभ्यस्त बनाउन सकिन्छ ।

शरीरलाई चलायमान राखौं

Blog Post Ad

स्वस्थ रहन शारीरिक गतिविधि एकदमै महत्वपूर्ण हुन्छ । जब हामी कसरत गर्छौं, यसले मांसपेशीलाई मात्र बढाउँदैन, शरीरलाई फूर्तिलो र आकर्षक पनि देखाउँछ ।

मस्तिष्क र हर्मोनको कार्य क्षमता बढाउन पनि व्यायाम प्रभावकारी छ । शरीरले धान्न सक्ने बल उठाउने बानी र अन्य शारीरिक कसरतले शरीरमा रक्तसञ्चारलाई बढाउँछ । यसकै माध्यमबाट शरीरको हरेक अंग चलायमान र चुस्तदुरुस्त रहन्छ ।

व्यायामको अर्को फाइदा भनेको ब्लड सुगर र इन्सुलिनको स्तर घटाएर कोलेस्टोरोललाई सन्तुलनमा राख्छ । त्यस्तै, व्यायामले खानाबाट प्राप्त गर्ने क्यालोरी खर्च गरी टेस्टोस्टेरोन र हर्मोनको विकासमा मद्दत गर्छ । यी दुवैले समग्र शरीर र दिमागको स्वास्थ्यमा सुधार गर्छ ।

सगग्रमा व्यायामले डिप्रेसन, मोटोपन, टाइप २ मधुमेह, मुटुरोग र अल्जाइमर जस्ता रोगको जोखिम कम गर्छ ।

के गर्ने ?

व्यायाम गर्न जिम गर्न कक्षा लिनैपर्छ भन्ने पनि छैन । घरमै युट्युबबाट व्यायामका भिडियो हेरेर हल्काफुल्का व्यायाम, घरका कामकाज, बिहान एक चरण हिंड्डुल, छिमेकी र बालबच्चासँग कसरत हुने खालका खेल खेलेर पनि शारीरिक सक्रियता बढाउन सकिन्छ ।

बच्चा जसरी सुत्नुहोस्

निरोगी रहन जति स्वस्थ खानाको जरुरी छ, उत्तिकै आवश्यक छ सुताइ पनि । स्वस्थ रहन बच्चा जसरी केही दिमागमा हाबी हुन नदिई रातको समयमा छिटो सुत्ने बानी बसाल्नुपर्छ ।

धेरैजसो अध्ययनअनुसार राम्रो निदाउने हो भने मोटोपन, मुटुरोग, मधुमेह, उच्च रक्तचापको सम्भावना कम गराउने देखाएको छ । र, मस्तिष्कको कार्यक्षमतामा पनि सुधार ल्याउँछ । त्यसैले गुणस्तरीय र गहिरो निद्रा आवश्यक छ । कम्तीमा आठ घण्टा निदाउनु आवश्यक छ ।

राति राम्रो निद्रा पर्दैन भने केही सरल उपाय छन्, जुन उपयोगी हुनसक्छ ।

– बेलुकी सात बजेपछि खाना नखाने र कफी पनि नपिउने ।

– दैनिक सुत्ने र उठ्ने समय निश्चित बनाउने । र, निद्रा लाग्दैन भने पनि ओछ्यानमा जाने समय एकै राख्न खोज्ने । बरु जति गरेपनि निद्रा लागेन भने एकछिन उठेर केहीबेर कोठा वा बाहिर वरपर हिंड्न सकिन्छ ।

– कोठालाई पूरा अँध्यारो पार्ने र सजावटी लाइट पनि नबाल्ने ।

सानो–सानो कुरामा तनाव नलिने

स्वस्थ रहन व्यक्तिले कुनै पनि कुरा कसरी ग्रहण गर्छ भन्ने कुरामा पनि भर पर्छ । दैनिकजसो आइरहने सहज, असहज परिस्थितिले गर्दा मनमा कुरा खेलाएर तनाव मात्र लिइरहने हो भने यसले स्वास्थ्य र व्यवहारमा नै भुइँचालो ल्याउन सक्छ ।

अत्यधिक तनावले कर्टिसोल हर्मोनको स्तर बढाउँछ । तनावले दिमागलाई अशान्त पार्ने, निद्रा नपार्ने, जाँगर नचल्ने र आराम मात्र गर्न मन लाग्ने गराउँछ ।

तनाव लिने अधिकांशमा जंकफुडको तिर्सना अति बढी लाग्ने समेत हुन्छ । जसले क्यालोरी शरीरमा चाहिनेभन्दा बढी हुने र शारीरिक गतिविधि पनि कम हुनसक्ने हुँदा शरीरमा अनावश्यक बोसो बढ्छ । जुन धेरै रोगको जोखिमको कारक बन्न सक्छ ।

कुनै कुरालाई चिन्ता लिएर केही नगरी बस्नु भनेको जीवनमा बेकारको समय खेर मात्र फाल्नु हो । तनाव अत्यधिक लिंदा डिप्रेसनको समस्या ल्याउन सक्छ । जुन अहिले मानसिक स्वास्थ्यमा सबैभन्दा ठूलो चुनौती बन्दै गइरहेको छ ।

के गर्ने ?

तनावलाई व्यवस्थापन गर्न व्यायाम, हरियालीमा घुमफिर, गहिरो सास फेर्ने खालका सूक्ष्म व्यायाम र ध्यान उपयोगी हुनसक्छ । तनावको व्यवस्थापन यतिले पनि हुँदैन जस्तो लाग्छ भने मनोरोग विज्ञसँग परामर्श लिनु आवश्यक छ ।

तनाव कम लिंदा शरीर स्वस्थ मात्र हुँदैन । यसले दैनिकीलाई सहज र गुणस्तरीय बनाउँदै लैजान्छ ।

प्राकृतिक खानामा जोड दिनुहोस्

शरीरलाई स्वस्थ राख्न सबैभन्दा प्राकृतिक खानेकुरा खानुपर्छ । मासु, माछा, अण्डा, तरकारी, फलफूल, सागपात, ओखर, तेल र दुग्धजन्य पदार्थ सन्तुलित मात्रामा खानु आवश्यक छ ।

जो व्यक्ति कार्यालयको कुर्सीमा आठ घण्टा ड्युटी गर्छन् र कुनै शारीरिक कसरत छैन भने उसलाई दिनमा १५ सय क्यालोरी भए पुग्छ । जो व्यक्ति खेतबारीमा काम गर्ने वा जिम गर्छन्, उनीहरुलाई बढी क्यालोरी आवश्यक हुन्छ ।

अधिक तौल, मधुमेह वा मेटाबोलिक सिन्ड्रोम जस्ता समस्याको लक्षण छ भने क्यालोरी भएको कार्बोहाइड्रेटजन्य खाना कटौती गर्नुपर्ने हुन्छ । जंकफुड सकेसम्म कम खानुपर्छ ।

Blog Post Ad Blog Post Ad