माहुरीपालन व्यवसाय, पहिचानसँगै आम्दानी
घोराही,१२ साउन । दाङको घोराही उपमहानगरपालिका–१५ काठेकोहल निवासी विष्णु श्रेष्ठ माहुरीपालन व्यवसायी हुनुहुन्छ । कम मेहनतमा राम्रो आम्दानी लिन सकिने माहुरीपालन व्यवसायसँग जोडिनु भएका श्रेष्ठले माहुरी पालनलाई मह उत्पादनसँग जोडेर व्यवसाय गर्दै आउनुभएको छ ।
२०५१ सालमा ४२ घार मौरी ल्याएर व्यवसायिक उत्पादनमा लाग्नुभएका उहाँले अहिले राम्रो आम्दानी गर्दै आउनुभएको छ । अहिले एक सय ५० घार माहुरी छन् भने मह प्रशोधन उद्योग समेत स्थापना गरेर मह खरिद÷बिक्रीको समेत कारोबार गर्दै आउनुभएको छ । साथै उहाँले माहुरी पालक किसानलाई चाहिने माहुरीका घार, मदानी, आधार चाका समेत बनाउँदै बिक्री गर्ने गरेको बताउँनुहुन्छ ।उहाँका अनुसार दाङ जिल्लामा चिउरी, रुदेलो, तोरी अनि गोरक्ष बुटीको मह उत्पादन हुने भएकाले माहुरीपालनका लागि उपयुक्त मानिन्छ । यसरी उत्पादन गरिएको मह घोराही र काठमाडौंबाट बिक्री गरेको गरेको श्रेष्ठले बनाउनुभयो ।
स्वदेशमै राम्रो मह उत्पादन भएपनि बाहिरबाट आउने महका कारण व्यवसायी समस्यामा पर्ने गरेको भन्दै व्यवसायी श्रेष्ठ भन्नुहुन्छ,‘चार प्रकारका मह अहिले गोदाममै छन् । बिक्रीको लागि राम्रो बजारको खोजीमा छौं । भारतबाट आउने मह रोकिने हो भने यहाँको उत्पादनले राम्रो बजार पाउने थियो ।’ माहुरीपालन व्यवसायबाट बार्षिक दश लाख बढीको कारोवार गर्ने गरेपनि पछिल्लो समय भारतीय महका कारण समस्या परेको बताउँनुहुन्छ । घोराही उपमहानगरपालिका–४ डाँडागाउँ निवासी भीमकान्त देवकोटा विगत २२ वर्षदेखि माहुरी पालनमा जोडिनुभएको छ । माहुरी पालनबाट परिचय मात्र स्थापित भएको छैन पारिवारिक अवस्थामा समेत सुधार आएको छ ।
माहुरीपालन व्यवसायबाट घाटा खान नपरेको भन्दै उहाँले भन्नुभयो,‘कोरोनाको समयमा बाहिर जानै नपाउँदा माहरी पालन व्यवसायमा समस्या परेको थियो । त्यो समस्या अहिले हट्दै गएर पुरानै लयमा फर्किने आशा लागेको छ ।’ माहुरी जोन सञ्चालक समितिको अध्यक्षसमेत रहनुभएका देवकोटाले भारतीय बजारबाट भित्रिने मह रोक्न सक्ने र नक्कली महको कारोबारलाई निरुत्साहित गर्न सक्ने किसानले उत्पादन गरेको स्थानीय महले राम्रो बजार पाउने बताउनुहुन्छ । एक सय ५० घारमा माहुरी पाल्नुभएका देवकाटाले भन्नुभयो,‘घार संख्या बढाउने योजना हो । तर अहिले बजार सन्तोषजनक छैन । त्यही भएर खुम्चिनुपर्ने अवस्था छ ।’
सरकारले बजारीकरणमा ध्यान नदिदा व्यवसायीक रुपमा लाग्ने व्यवसायीलाई समस्या भएको बताउँनुहुन्छ । उहाँका अनुसार दाङ जिल्लामा २० हजारबढी मौरीका घार छन् । करिब ३० मेट्रिक टन मह प्रशोधन भइरहेको छ । दाङको सबैभन्दा बढी मौरीपालन घोराही उपमहानगरपालिकामा मात्रै पाँच हजार बढी माहुरीका घारहरु रहेका छन् । तुलसीपुर उपमहानगरपालिकामा तीन हजार दुई सय, बबईमा एक हजार, शान्तिनगरमा दुई हजार आठ सय, दंगीशरणमा एक हजार दुई सय मेलिफेरा जातको युरोपेली मौरी र बंगलाचुलीमा स्थानीय सेरेना जातको तीन हजार दुई सय मौरीका घारहरु रहेका छन् । देउखुरी क्षेत्रका राप्ती,लमही, राजपुर र गढवा क्षेत्रमा पनि माहुरीपालन हुने गरेको छ ।
दाङमा आर्थिक वर्ष २०७६÷०७७ बाट माहुरी जोन कार्यक्रम लागु भएको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाई लमहीमार्फत कार्यक्रम लागु छ । माहुरी जोन कार्यक्रम लागु भएपछि महको उत्पादन र उत्पादकत्वमा बृद्धि भएको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझा बताउनुहुन्छ ।
मौरी तथा महजन्य उत्पादनहरुको खरिद बिक्री, मौरीपालन र मह उत्पादनको तथ्यांक संकलन तथा व्यवस्थापनको लागि पहल भइरहेको प्रमुख ओझाले बताउनुभयो । पछिल्लो समय जिल्लामा महको उत्पादन बढेको भन्दै उहाँले भन्नुभयो,‘दाङ माहुरी र मह उत्पादनको लागि राम्रो जिल्लाको रुपमा छ । यसलाई अवसरको रुपमा किसानले लिनुपर्छ।’ मह गुणस्तरीय भएकाले यसको बजारीकरणको लागि प्रचारप्रसार गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुहुन्छ ।
आगामी वर्ष महलाई बजारीकरण गर्न हनी फेस्टिवल कार्यक्रम प्रस्ताव गरिएको कृषि अर्थविज्ञ लामिछाने बताउनुहुन्छ । मह उत्पादक किसान, उपभोक्ता साथै महको कारोबार गर्ने व्यवसायीलाई एक ठाउँमा ल्याउनका लागि हनी फेस्टिवल राख्ने योजना बनेको भन्दै कृषि अर्थविज्ञ लामिछानेले भन्नुभयो,‘यो फेस्टिवलले महको बजारीकरणमा मद्दत पुग्ने आशा छ ।’