Ad Area

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी


काठमाडौं,१२ साउन । फ्रान्सको पेरिसमा आयोजित ओलम्पिक–२०२४ आजदेखि आधिकारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल जुलाई २४ देखि सञ्चालन गरिएको थियो । महिला फुटबल जुलाई २५ देखि सुरु गरिएको थियो ।

प्रतियोगितामा विश्वभरका कुल २०६ देशको सहभागिता छ । आप्रवासी ओलम्पिक टिम समेत समावेश छन् ।

प्रतियोगितामा ३२ खेलका ३२९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यसमा विश्वभरका कुल १० हजार ७१४ खेलाडीको सहभागिता छ ।

नेपालबाट ६ खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पौडीमा एलेक्जेन्डर शाहले पुरुष १०० मिटर फ्री स्टायल र डुवाना लामाले महिला २०० मिटर फ्री स्टायल, एथलेटिक्समा सन्तोषी श्रेष्ठले महिला म्याराथन (४२.१९५ किलोमिटर) ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।

जुडोमा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि, टेबलटेनिसमा श्यान्टु श्रेष्ठले पुरुष सिंगल्स र सुटिङमा सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्जेन्डर, डुवाना र श्यान्टु हाल विदेशमै प्रशिक्षणरत छन् ।

सात खेलाडीमध्ये श्यान्टु छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले ओलम्पिकमा सहभागिता जनाउन लागेको पहिलोपटक हो ।

Blog Post Ad

पौडी प्रशिक्षकमा नयना शाक्य, एथलेटिक्समा कान्ती महतो, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देबु थापा र सुटिङ प्रशिक्षकमा प्रदीप खाँती छन् । ब्याडमिन्टका प्रिन्स भने प्रशिक्षकविहीन छन् ।

Blog Post Ad Blog Post Ad