Ad Area

नेपाल कम्युनिष्ट पार्टीले गर्यो सामुहिक धान खेती


घोराही, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले घोराहीमा सामुहिक रुपमा धान रोपाइँ गरेको छ । घोराही १६ करौती डाँडामा गत वर्षबाट कृषि उत्पादन गर्दै आएको पार्टीले शनिबार एक कार्यक्रम गरी साढे ३ बिगाहा क्षेत्रफलमा धान रोपाइँ गरेको छ ।

जिल्ला इन्चार्ज सबिन पोख्रेलको अध्यक्षता तथा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सामुहिक रुपमा धान रोपाइँ गरेको हो ।

रोपाइँ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज बुढामगरले जमीनको सही उपयोग गर्दै कृषिमा आत्मनिर्भर देश बनाउन पार्टीले अघि सारेको नीतिलाई सबैले अंगिकार गर्न आवश्यक रहेको बताउनुभयो ।

कृषि प्रधान देशको नारा लगाए पनि अर्बौंको कृषिजन्य बस्तु आयात गर्नुपर्ने बाध्यता बिस्थापन गर्न बाँझो जमीनमा कृषि क्रान्ति गरेर देशलाई कृषिमा आत्मनिर्भर बनाउन अब ढिलाई गर्न नहुने बताउनुभयो । युवाहरुलाई देशमा रोक्न र यहाँको विकासमा जोड्न समाजवादी व्यवस्थाको अवधारणालाई व्यवहारमा उतार्न लाग्नुपर्ने बताउनुभयो ।

पार्टीका घोराहीको उत्पादन विभाग प्रमुख सम्झना बिकले देशमा केही छैन भन्ने भाष्यलाई गलत साबित गर्न र युवाहरुलाई उत्पादनमा जोडेर देश विकासमा अग्रसर गराउन पार्टीले थालेको अभियानलाई सबैको साथ मिल्दै गएको बताउनुभयो । गत वर्ष सय क्वीन्टल बढी आलु उत्पादन गरेर आफुहरुले प्रमाणित गरेको भन्दै धान पनि यसैको निरन्तरता रहेको बताउनुभयो । सो पार्टीले देशका विभिन्न स्थानमा बाँझो जमीन भाडामा लिएर कृषि उत्पादन गर्दै आएको जनाएको छ ।

धान रोपाइँमा श्रमदान गर्न पार्टीका नेता कार्यकर्ता, विद्यार्थी युवा लगायत सयौँको सहभागीता रहेको छ । रोपाइँ गर्नु अघि आयोजित कार्यक्रमको सहजीकरण जिल्ला सेक्रेटरी तिलक योगीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad