Ad Area

उपचारमा रक्त सञ्चार केन्द्रको योगदान अतुलनीय


घोराही, १२ साउन ।नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको ५९ औँ रक्त संचार सेवा स्थापना दिवस मनाईएको छ । शाखा सभापति मदन गौतमको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेको प्रमुख आतिथ्यमा शनिबार घोराहीमा संस्थाको स्थापना दिवस मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डा। लामिछानेले रक्त सञ्चार केन्द्रले खेल्दै आएको भुमिकाका कारण अहिले हजारौँ बिरामीले नयाँ जीवन पाएको बताउनुभयो । रगतका कारण अकालमा जानबाट जोगाउन रक्त सञ्चार केन्द्रले स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भुमिकाका कारण स्वास्थ्य उपचार पनि सहज भएको बताउनुभयो ।

बढ्दो जनसंख्यासँगै उपचारका लागि चाहिने रगतको खपतलाई ध्यानमा राखेर रक्त सञ्चार केन्द्रलाई राज्यका तीन तहका सरकार र सरोकार सबैले अझ प्रभावकारी बनाउन ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले रगत अभावका कारण कोही पनि बिरामीको उपचार नरोकियोस् भनेर घोराहीले रक्त सञ्चार केन्द्रसँग समन्वय गरेर बिरामीलाई निशुल्क रगत आपूर्ति गर्ने काम गर्दै आएको बताउनुभयो ।

सो अवसरमा, नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका निवर्तमान सभापति नारायण आचार्यले जिल्लामा रेडक्रसले प्रदान गर्दै आएको काम र भुमिकामा सबैको सकारात्मक साथ सहयोगले सेवा प्रवाहमा सहजता भएको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी बमबहादुर डिसीले रक्त सञ्चार केन्द्र दाङको योगदानका कारण जिल्लाको स्वास्थ्य उपचारमा ठूलो सहयोग पुगेको बताउनुभयो ।
रेडक्रसमार्फत स्थापित रक्त सञ्चार केन्द्रको काम र योगदानका कारण संस्था समाजको एक अभिन्न अंग बनेको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनुभयो ।

वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले नागरिकको जीउज्याउनको सुरक्षामा रेडक्रसको परोपकारी कामले धेरैले नयाँ जीवन पाएको बताउनुभयो । जहाँ विपद त्यहाँ रेडक्रस भन्ने नारालाई वास्तवमै सही रुपमा कार्यान्वयन गर्दै आएको रक्त सञ्चार केन्द्रले जिल्लाको सबै क्षेत्रलाई महत्व दिएर काम गर्दा सबैले न्याय पाएको नागरिक समाजका हरिप्रसाद पाण्डेयले बताउनुभयो ।

Blog Post Ad

२०५९ सालमा तत्कालिन महेन्द्र अस्पतालको हाताभित्र नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले अस्पताल विकास समिति, नगरपालिका, जिल्ला विकास समिति, स्थानीय संघसंस्था, स्थानीय व्यक्ति, रक्तदाताहरुको सहयोगमा घोराहीमा रक्तसंचार सेवा केन्द्र संचालन गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले हाल आएर लमही र तुलसीपुरबाट पनि रक्तसंचार सेवा विस्तार गरि सेवा दिइरहेको छ ।

हाल दाङ शाखाले ३ वटा रक्तसंचार सेवा केन्द्र स्थापना गरि सेवा दिइरहेको छ । हाल आएर आफ्नै भवनबाट नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले रक्तसंचार सेवा संचालन गरि सेवा दिदै आइरहेको संस्थाले जनाएको छ ।

दाङ जिल्ला भरि पछिल्लो एक वर्षमा करिव ५ हजार ७५१ यूनिट रगत संकलन भएको र करिव ६ हजार २९ यूनिट रगत खपत भएको तथ्यांक छ । संकलन भएको रगत मध्ये करिव ९२ प्रतिशत स्वयंसेवी रक्तदाताहरुबाट संकलन भएको र ८ प्रतिशत सोध भर्नाबाट खपत भएको बताईएको छ । रगत दिने दाताहरु ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला रहेका रक्त सञ्चार केन्द्र दाङका प्रमुख दीलिप न्यौपानले बताउनुभयो । पछिल्लो एक वर्षमा मात्रै रगत लिने महिला ३ हजार ७७७ यूनिट रहेका छन भने पुरुषको २ हजार २५२ यूनिट रहेको उहाँले बताउनुभयो ।

३ संस्थासहित १३ जना सम्मानित

नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको ५९ औँ रक्त संचार सेवा स्थापना दिवसका अवसरमा शनिबार उक्त कार्यक्रममा १३ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ३ वटा संस्था र १० जना व्यक्ति रहेका छन् ।

रक्त सञ्चार सेवा केन्द्रहरुको स्थापना, सञ्चालन र संस्थागत प्रगतिका लागि गरेको योदान स्वरुप राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही उपमहानगरपालिका र ग्रामीण महिला उत्थान केन्द्रलाई सम्मान गरिएको छ ।
यसैगरी, संस्थागत विकासमा योगदान गरेको भन्दै प्रदेश सभा सदस्य राजु खनाल, पूर्व प्रदेश सभा सदस्य अर्जुन कुमार श्रेष्ठ, अमरबहादुर डाँगी, नागरिक समाजका हरिप्रसाद पाण्डेय, समाजसेवी बमबहादुर डिसी, ईन्द्रबहादुर बुढाथोकी, पत्रकार छबि पुरीलाई सम्मान गरिएको छ । यसैगरी, गुरु गौतम, निरज गिरी, कुलराज पोख्रेललाई पनि सम्मान गरिएको छ ।

कार्यक्रम स्थलमा ९ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान गर्नेहरुमा
शशीधर शर्मा, महेश बस्नेत, बिमल केसी, सुनिल पुन मगर, राजेश जिएम, अजय पुन मगर, देवका खनाल, चित्रबहादुर घर्ती र विष्णु हमाल रहनुभएको छ ।

रेडक्रसका जिल्ला संयोजक विश्राम अधिकारीले रेडक्रस र रक्त सञ्चार सेवा केन्द्रबाट प्रवाह भएको सेवा बारे जानकारी गराउनुभएको थियो । कोषाध्यक्ष कुशल तर्तालको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीवन्दले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad