Ad Area

सल्लाको खोटाबाट ३२ लाख राजस्व संकलन


घोराही,१४ साउन । दाङमा सल्लाको खोटो संकलनबाट ३२ लाख बढी राजस्व संकलन भएको छ । जिल्लामा आर्थिक बर्ष २०८०⁄०८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार दुई सय ६९ रुपियाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय घोराहीका सुचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभएको छ ।

सुचना अधिकारी सापकोटाका अनुसार सल्लाको खोटो बिक्रीबाट संकलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय रुपियाँ वन समुह र चार लाख ७२ हजार तीन सय ३९ रुपियाँ प्रदेश संचित कोषमा जम्मा भएको छ ।

गतबर्ष जिल्लामा गत बर्ष ७८ हजार केजी सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपियाँ राजस्व संकलन भएको थियो । जिल्लामा सल्लाको खोटोबाट गतबर्षको तुलनामा तेब्बर बढी राजस्व संकलन भएको छ । जिल्लामा गतबर्ष सल्लाको खोटो संकलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्वमा समेत वृद्धि भएको छ । अघिल्लो बर्ष दश वटा समुहबाट खोटो संकलन भएपनि गत आर्थिक बर्ष १९ वटा वन समुहबाट खोटो संकलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।

जिल्लामा खोटो संकलन गर्ने क्षेत्रफल बढेसँगै राजस्वमा वृद्धि भएको सुचना अधिकारी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,‘विगतका बर्षभन्दा अहिले खोटो संकलन गर्ने क्षेत्रफल बढ्दा राजस्वमा वृद्धि भएको छ ।’ सडक कालोपत्रे गर्ने तारपिन तेल र पेन्ट गर्ने रङ बनाउनका लागि आवश्यक सामग्रीमा सल्लाको खोटो कच्चा पदार्थका रूपमा प्रयोग हुने गर्दछ ।

कच्चा पदार्थका रुपमा प्रयोग हुने सल्लाको खोटो जिल्लाका विभिन्न सामुदायिक वनबाट गंगा रोजिन एण्ड टर्पिनटाइन कम्पनी बाँके र बुढाथोकी टर्पिनटाइन कम्पनी अमेलिया दाङले खोटो संकलन गर्ने काम गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad