Ad Area

दाङमा ११ परीक्षा केन्द्रबाट ६ हजार ५३ विद्यार्थीले मौका परीक्षा दिने


घोराही, १५ साउन । दाङमा माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि परीक्षाका लागि ११ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि ११ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस पटक जिल्लाभरबाट २ सय ६ वटा विद्यालयका ननग्रेडेड ६ हजार ५३ जना विद्यार्थी ग्रेड वृद्धि परीक्षाका लागि सामेल हुने भएका छन् ।

२०८० को एसईई परीक्षामा जिल्लाबाट कुल २ सय ४२ विद्यालयबाट १२ हजार ९ सय ३ जना विद्यार्थीले परीक्षा दिएकोमा ३६ वटा विद्यालयले सतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । बाँकी २ सय ६ वटा विद्यालयबाट ६ हजार ५३ जना विद्यार्थी ननग्रेडेड भएकाले ग्रेड वृद्धिका लागि मौका पाएका उहाँले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ दाङका सूचना अधिकारी तिलकराम बन्जाडेका अनुसार, जनता मावि गढवा केन्द्रमा ९ वटा विद्यालयका ४ सय १८ जनाले परीक्षा दिनेछन् । यसैगरी, पद्मोदय पब्लिक नमूना मावि भरतपुर केन्द्रमा १८ वटा विद्यालयका ६ सय ८ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिनेछन् ।

गोरखा इन्टरनेशल पब्लिक सेकेन्डरी स्कुल घोराही केन्द्रमा ८ वटा विद्यालयका ५ सय ११ जना विद्यार्थी, श्री माध्यमिक विद्यालय रझेना केन्द्रमा २४ वटा विद्यालयका ५ सय ८६ जना विद्यार्थी, बालविकास मावि घोराही केन्द्रमा २१ वटा विद्यालयका ५ सय ४२ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिने भएका छन् ।

यसैगरी, मावि तुलसीपुर सेन्टर केन्द्रमा २३ वटा विद्यालयका ५ सय ७२ जना, गुरुजजुर मावि रक्षाचौर केन्द्रमा ३५ विद्यालयका ४ सय १० जना, श्री सिद्ध पृथ्वी जनता मावि श्रीगाउँ केन्द्रमा २६ विद्यालयका ६ सय ५१ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिने भएका हुन् ।

Blog Post Ad

शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार, आदर्श नमूना मावि लालमटिया केन्द्रमा १५ वटा विद्यालयका ५ सय ३५ जना, आदर्श मावि देउपुर केन्द्रमा १८ वटा विद्यालयका ६ सय ५९ जना र गोरखा मोडेल सेकेन्डरी स्कुल लमही केन्द्रमा ९ वटा विद्यालयका ५ सय ६१ जना गरी कुल ६ हजार ५३ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिने भएका हुन् ।

यसैगरी, प्राविधिक धारतर्फ १ सय ५४ जनाले ग्रेड वृद्धि परीक्षा दिन लागेका शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ ।

त्यस्तै, ग्रेड वृद्धि परीक्षामा सबैभन्दा बढी परीक्षार्थी गणित, अग्रेजी विषयमा सहभागी लागेका हुन् । परीक्षा केन्द्र तोकिए पनि ग्रेड वृद्धिका लागि सहभागी हुने विद्यार्थीहरुको आवेदन भर्ने काम जारी रहेको शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने इकाइ प्रमुख चौधरीले बताउनुभयो । यसका लागि आवश्यक तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । असार १३ गते राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । जसमा देशभरबाट करीव ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । दाङमा पनि परीक्षामा सामेल भएका मध्ये करीव ५३ प्रतिशत विद्यार्थी पास भएका छन् ।

प्रत्येक विषयमा सैद्धान्तिक अर्थात लिखिततर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको हो । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेको छ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्ने भएकाले यो पटक धेरै विद्यार्थी ननग्रेडेड भएका हुन् ।

विद्यालय तहमा २०७२ देखि लेटर ग्रेडिङ पद्धति सुरु भएको हो । २०७८ मा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेर ग्रेडिङ हुन न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो । एसईईमा गत वर्षसम्म पुरानो पाठ्यक्रमकै आधारमा अध्ययन गरेका विद्यार्थी सहभागी भएकाले उनीहरूको हकमा संशोधित निर्देशिका लागू भएको थिएन । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका र १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी सामेल भएका थिए ।

Blog Post Ad Blog Post Ad