Ad Area

मातृ मृत्युदरको जोखिम लुम्बिनीमा सबैभन्दा धेरै


घोराही, २२ साउन । स्वास्थ्य सचेतनासँगै प्रजनन् स्वास्थ्यबारे प्रचारप्रसार एवम् साक्षरता अभियान चलाए पनि लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा धेरै देखिएको छ ।

देशभरको तुलनामा लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा धेरै देखिएको छ । लुम्बिनीमा प्रति लाखमा २ सय ७ सुत्केरीको मृत्यु भएको नेपालको जनगणना २०७८ ले देखाएको छ । देशभर प्रति लाखमा १ सय ५१ सुत्केरीको मृत्यु भएकोमा सबैभन्दा धेरै लुम्बिनीमा देखिएको हो ।

हेल्थ टुडे मिडियाको आयोजनामा सोमबार घोराहीमा आयोजित सुरक्षित गर्भपतन सेवा र मिडियाको भूमिका विषयक कार्यक्रममा स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरिक्षक रीता न्यौपानेले प्रदेशभर र दाङको मातृ मृत्युदर एवम् गर्भपतनको अवस्था बारे जानकारी गराउँदै सात प्रदेशमध्ये लुम्बिनीको मातृ मृत्युदर धेरै देखिनु चुनौतिपूर्ण रहेको बताउनुभयो ।

उहाँँका अनुसार कोशी प्रदेशमा १ सय ५७ जना, मधेश प्रदेशमा १ सय ४० जना, वाग्मती प्रदेशमा ९८ जना, गण्डकी प्रदेशमा १ सय ६१ जना, कर्णाली प्रदेशमा १ सय ७२ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जनाको सुत्केरी अवस्थामा भएको छ । सुत्केरी भएको ४२ दिनसम्मको अवस्था सर्वेक्षण गर्दा यो अवस्था देखा परेको बताईएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा ७६ हजार २ सय ४३ बच्चाको जीवित जन्म हुँदा २ हजार ६ सय १३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । दाङमा प्रति लाख १ सय ६५ जनाको मातृ मृत्यु दर रहेको पनि तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा मात्रै दाङमा ८ जना सुत्केरी आमाको मृत्यु भएको छ । जसमा तुलसीपुरमा ४ जना, घोराही, दंगीशरण, बबई र राप्तीमा १–१ जना गरि आठ जना आमाको मृत्यु भएको छ । यो हुनुमा असुरक्षित गर्भपतन पनि कारण रहेको पनि नर्सिङ निरिक्षक न्यौपानले बताउनुभयो ।

Blog Post Ad

‘अघिल्लो आर्थिक वर्षमा पनि तुलसीपुरमा ७ जनाको मृत्यु भएको थियो । मातृ मत्युदर घटाउने धेरै प्रयास भए पनि नसकिएको अवस्था छ’ उहाँले भन्नुभयो ‘गर्भ रहँदा ८ पटक परिक्षण गर्ने, दिगो विकास लक्ष्यलाई पूरा गर्न स्वास्थ्य परिक्षण बढाउन ध्यान दिएमा यसले बच्चा र आमाको मृत्यु घटाउन सकिन्छ ।’

सुत्केरी पछाडिको अवस्थामा ख्याल नगर्दा पनि मृत्यु बढेको हुँदा उनीहरुको स्वास्थ्य सेवा बढाउन ध्यान दिने काम भईरहेको उहाँले बताउनुभयो । २०५८ फागुनमा पारित गर्भपतन सम्बन्धी निर्णय अनुसार २०५९ सालयता सरकारले १२ हप्तासम्मको गर्भलाई सुचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गर्न पाउने गरी कानुनी मान्यता दिएको छ ।

बढ्दो गर्भपतनसँगै मातृ मृत्युदरका कारण प्रजनन् स्वास्थ्यका क्षेत्रमा देखा परेका चुनौति कम गर्न तीन तहका सरकार र सरोकार संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् । जसको माध्यमबाट सन् २०३० सम्ममा मातृ मृत्यु दर ७० जना प्रति लाखमा झार्ने लक्ष्य राखेर काम भईरहेको स्वास्थ्य कार्यालयको भनाई छ ।

यसका लागि हाल स्थानीय तहमा पनि सुरक्षित गर्भपतन सेवा बिस्तार भईरहेको छ । तर अझै पनि अनाधिकृत औषधीको प्रयोगले मातृ मृत्युु दर बढेको उहाँले बताउनुभयो । ‘सके गर्भपतन नगर्नुस् यदि गर्न परे सुरक्षित रुपमा सुचीकृत स्वास्थ्य संस्थाबाट गर्नुस् भन्ने हो’, नर्सिङ निरिक्षक न्यौपानले भन्नुभयो ‘मेडिकल र सर्जिकल गर्भपतन गर्ने प्रावधानमा मेडिकल गर्भपतन बढी जोखिमयुक्त रहेकोे छ ।’

जिल्लामा हाल ९ सय ३० जना स्वास्थ्य स्वयम्सेविका रहेका छन् । उनीहरुले समुदाय स्तरमा प्रजनन् स्वास्थ्य सचेतनासँगै सुरक्षित गर्भपतनका बारेमा जानकारी दिने र सेवाको पहुँचमा पुर्याउने काम गर्दै आएका छन् ।

जिल्लामा २९ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिने गरिएको छ । जस अनुसार, जिल्लामा गर्भपतन गर्ने सुचिकृत स्वास्थ्य संस्थाहरु तुलसीपुर ८ वटा, बंगलाचुलीमा ४ वटा, घोराही र शान्तिनगरमा ३–३ वटा, लमही, राप्ती, , दंगीशरण र बबईमा समान २–२ वटा र राजपुरमा १ वटा रहेका छन् ।
सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ अनुसार १२ हप्ता सम्मको गर्भ सुचिकृत स्वास्थ्य संस्थाबाट स्वेच्छिक गर्भपतन गर्न सक्ने प्रावधान अनुसार स्वास्थ्य संस्थाबाट सेवा दिने गरिएको छ ।

यसका साथै विकलांग, जोखिमको अवस्था, जबरजस्ती करणी, हाडनाताको सन्दर्भमा, एचआईभी एड्सको हकमा तथा भ्रुणमा कमजोरी भएको अवस्थामा पनि गर्भवतीको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन हुने गरेको छ ।

सुरक्षित गर्भपतन गराउने पनि बढ्दै

दाङ सुचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारले २०५९ सालबाट सुरक्षित गर्भपतनको प्रावधान ल्याएसँगै सुचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।

सुरक्षित गर्भपतनको ३ वर्षे अवस्था नियाल्दा बढ्दै गएको पाईएको छ । आर्थिक २०७८–०७९ देखि आर्थिक वर्ष २०८०–०८१ सम्म जिल्लामा ६ हजार ८ सय ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा जिल्लाको बंगलाचुलीमा १३ जना, घोराहीमा ५ सय ७८, तुलसीपुर १ हजार ५ सय ४९ जना, दंगीशरणमा ७२ जना, लमहीमा ५० जना गरी २ हजार २ सय ६२ जनाले गर्भपतन सेवा लिएका स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, आर्थिक वर्ष २०७९–०८० मा जिल्लाभर २ हजार १ सय ४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जसमा बंगलाचुलीमा २९ जना, घोराहीमा ५ सय ८० जना, तुलसीपुरमा १ हजार ३ सय ४२ जना, शान्तिनगरमा १४ जना, दंगीशरणमा ६७ जना, लमहीमा २५ जना, राप्तीमा २० जना, गढवामा २७ जनाले गर्भपतन सेवा लिएका छन् ।

यसैगरी आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा २ हजार ५ सय ३३ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जस अन्तरगत बंगलाचुलीमा ५९ जना, घोराहीमा ५ सय ९० जना, तुलसीपुरमा १ हजार ५ सय ८० जना, शान्तिनगरमा ३२ जना, बबईमा ९ जना, दंगीशरणमा ७७ जना, लमहीमा २६ जना, राप्तीमा १ सय जना, गढवामा ५६ जना र राजपुरमा ४ जनाले गर्भपतन सेवा लिएका छन् ।

यस अन्तरगत १ हजार ३ सय ३८ जनाले औषधीबाट र १ हजार १ सय ९५ जनाले सर्जिकलमार्फत गर्भपतन सेवा लिएका छन् ।
यति मात्रै होईन, जिल्लामा उमेर नपुग्दै २० वर्ष मुनिका १ सय ८२ जनाले समेत गर्भपतन सेवा लिएको पाईएको छ ।

‘गर्भपतनपछि अस्थायी साधन प्रयोग गर्न ६६ प्रतिशत मात्रै छन् । लामो अवधिको १४ प्रतिशत रहेका छन् । गर्भपतनपछि पुनः सेवाा लिन आउनेमा
४ सय २७ जना र २ सय ४५ जनाले प्रजनन सेवा लिन आएको पाईएको छ’, स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरिक्षक रीता न्यौपानेले भन्नुभयो ‘औषधी सेवनबाट गर्भपतन गर्दा ८ जनामा जटिलता देखिएको थियो भने सर्जिकल गर्भपतन गर्दा २ जनामा जटिल समस्या देखा परेको थियो ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। बसन्त लामिछानेले डाक्टरको सिफारिस बिना जथाभावी औषधि बिक्री गर्ने काम रोख्नुपर्ने बताउनुहुन्छ ।

‘मानिस किन गर्भपतनको अवस्थामा पुगेका छन् । यो अध्यनन गर्न जरुरी छ । सामाजिक मुल्य मान्यता जस्ता कारण पनि लैंगिक विभेदले छोरा चाहिने नाममा महिलाले गर्भपतन गर्ने क्रम बढेको देखिएको छ’ उहाँले भन्नुभयो ‘समाजमा गरिबी, अशिक्षा, परम्परागत सोँचका कारण पनि असुरक्षित गर्भ पतनको प्रभाव बढ्दै गएको छ । जाँच बिना औषधि सेवन, जथाभावी गर्भपतन, मनलाग्दी औषधी सेवनलगायत कारणले पनि समस्या पैदा गरेकोे छ ।’
आम मानिसले गर्भपतनलाई सामान्य र सहज रुपमा लिने गरेका कारण पनि कालान्तरमा स्वास्थ्य जटिलताको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । ‘असुरक्षित गर्भपतनका कारण महिलाको प्रजनन् स्वास्थ्यमा मात्रै असर गरिरहेको हुँदैन उहाँको परिवार र आर्थिक अवस्थामा पनि धक्का लागिरहेको हुन्छ । त्यसैले गर्भपतनलाई सामान्य र सहज रुपमा कसैले पनि लिनु हुदैन’ उहाँले भन्नुभयो ‘अनिक्षित गर्भपतन हो भने समयमा स्वास्थ्य संस्थामा सम्पर्क गरेर सुरक्षित तरिकाले स्वास्थ्य लाभ लिनुपर्ने हुन्छ नभए कालान्तरमा यसको असर गम्भीर रुपमा देखा पर्ने निश्चित हुन्छ ।’

हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका निमित्ति कार्यालय प्रमुख किशोर आचार्यले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गर्नुपर्नेमा धेरैले अरु विषयलाई प्राथमिकता दिँदा आफैमा समस्या थपिने गरेको बताउनुभयो ।

जनस्वास्थ्यको विषयमा स्वास्थ्य कार्यालयबाट निरन्तर कार्यक्रम गर्दै सचेतना फैलाउने काम गर्दै आएको भन्दै बढ्दो जोखिम कम गर्न सुचिकृत स्वास्थ्य संस्थाबाट मात्रै आवश्यक सुरक्षित गर्भपतन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

उहाँले हरेक परिवारमा सुरक्षित गर्भपतनबारे सूसूचित गराउन मिडियाले खेल्दै आएको भुमिका अझ बढाउन आग्रह गर्नुभयो । अवैध औषधिको सेवनले निम्त्याउने स्वास्थ्य समस्याका बिषयमा जानकारी अनौपचारिक शिक्षा दिन, परिवार नियोजनको विकल्प गर्भपतन होइन भन्ने सन्देश प्रवाह गर्न, असुरक्षित गर्भपतनले निम्त्याउने स्वास्थ्य समस्याबारे जानकारी गराउन, सरोकारवाला निकायलाई जिम्मेवार बनाउन भूमिका खेल्न, सूचिकृत स्वास्थ्य संस्थामा सूचिकृत औषधि सेवन गरेर मात्र गर्भपतन गराउन पैरवी गर्न मिडियाले सचेततापूर्वक सन्देश प्रवाह गर्दै गएमा भोलिका दिनमा सुरक्षित गर्भपतनको पहुँच सबैमा पुग्ने र मातृ मृत्युदर घटाउन सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad