Ad Area

धान बिक्रीको पैसाका लागि प्रहरी गुहार्दै किसान


घोराही, २४ साउन  । दाङको घोराही उपमहानगरपालिका–७, सौडियार निवासी सगुनलाल चौधरीले गएको मङ्सिर महिनामा ५१ क्विन्टल धान बिक्री गर्नुभयो । सगुनलालसँग धान खरिद गर्नुभएका घोराही उपमहानगरपालिका–४ निवासी व्यवसायी लाले सुनारले माघ महिनामा पैसा दिने सहमति थियो ।

त्यही सहमति अनुसार गाउँमा तीन हजार रुपियाँ क्विन्टल धान बिक्री भइरहेका बेला सुगनलालले तीन हजार एक सय रुपियाँका दरले एक लाख ६१ हजार ८४० रुपियाँको धान बिक्री गर्नुभएको थियो । सहमति अनुसार माघमा पैसा दिने भनिए पनि चौधरीले अझै पैसा पाउनुभएको छैन । पैसा माग्दा सुरुमा भोलि भोलि भन्दै टारेका व्यवसायी सुनारले पछिल्लो समय फोन नै उठाउन छोडेको किसान चौधरी बताउनुहुन्छ ।

“राम्रो व्यापारी होला भनेर उधारोमा धान दिएको मान्छे ठग रहेछ,” किसान चौधरीले भन्नुभयो,“बर्खाभरि खेती गरेर उत्पादन गरेको धान घरखर्चका लागि दुई पैसा होला भनेर बेचेका थियौँ तर मान्छे ठग रहेछ । हुन्छ हुन्छ भन्दाभन्दै सात÷आठ महिना बिताइसक्यो पैसा दिँदैन, अहिले त भागेको छ ।’’ व्यवसायीबाट ठगिएपछि ६० वर्षीय चौधरी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय त कहिले व्यवसायीको घरमा धाउन थालेको छ महिनाभन्दा बढी भइसकेको बताउनुहुन्छ । चौधरीले भन्नुभयो, “पैसाका लागि जिल्ला प्रहरी कार्यालयलाई भन्यौँ, जिल्ला प्रशासन कार्यालयमा निवेदन दियाँै तर मान्छे पव्रmाउ परेको छैन ।” धान खरिद गर्दा घरमै जाने सुनार भने अहिले भेटिने गरेका छैनन् ।

सगुनलाल जस्तै घोराही उपमहानगरपालिका–७, सौडियारकै इन्द्र चौधरीले पनि गएको पुसमा १४ क्विन्टल धान बिक्री गर्नुभयो । १४ क्विन्टल धान बिक्री गर्नुभएका उहाँले प्रतिक्विन्टल तीन हजार १५० का दरले माघ महिनामा ४६ हजार दुई सय रुपियाँ पाउने सहमति थियो । त्यही सहमति अनुसार धान दिनुभएको थियो तर चौधरीले अहिलेसम्म पैसा पाउनुभएको छैन । जसले गर्दा जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय त कहिले सुनारको घर धाउँदाधाउँदै छ महिना बितिसकेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “पैसाका लागि घोराहीमा रहेको प्रभु बैङ्कको चेक नै दिएपछि विश्वास गरेर धान उधारोमा दियाँै । ऊ ठग रहेछ, बैङ्कमा जाँदा पैसा छैन ।” दिन्छु भन्दाभन्दै छ महिना बिताएको उहाँको गुनासो छ । उहाँका अनुसार सौडियार र डबरीगाउँका ३० जना किसानको १६ लाख ३३ हजार ९५५ रुपियाँ दिनुपर्ने छ ।

Blog Post Ad

धान लगेका लालेले माघ महिनामा दिनुपर्ने पैसा नदिएपछि ठगीमा परेका किसानले २०८१ वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा ब्याजसहितको रकम दाबी गर्दै निवेदन दिए । २०८१ जेठको १ गते दुवै पक्षबिच छलफल भयो र जेठको २५ गतेभित्र व्याजसहित रकम दिइसक्ने सहमति भयो तर उक्त सहमति अनुसार पैसा नदिएपछि किसान पुनः जिल्ला प्रशासन कार्यालय गएपछि अहिले प्रशासनले जिल्ला प्रहरी कार्यालयमा पठाएको किसान बताउँछन् ।

पैसाका लागि दिनहुँ कहिले जिल्ला प्रहरी कार्यालय त कहिले धान लाने लाले सुनारको घर धाउने गरे पनि पैसा पाउन नसकेको डबरीगाउँ निवासी किसान अनुष्का चौधरी बताउनुहुन्छ । धान खरिद गर्ने व्यापारीबाट ठगिएपछि पैसाका लागि प्रहरी कार्यालयदेखि स्थानीय तहसम्म गए पनि कतैबाट न्याय पाउन नसकेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “वर्षभरि दुःख गरेर उत्पादन गरेको अन्न घरखर्चका लागि दुई÷चार पैसा होला भनेर बिक्री गरेका थियौँ, ठग व्यापारी परेकाले पैसा नदिएर दुःख दिएको छ ।” जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले भने किसानलाई पैसा ठगी गरेर भाग्नेलाई प्रहरीले खोजी गरेर न्याय दिने बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad