Ad Area

सामुदायिक विद्यालयमा ‘कोरियन भाषा’ पढाई


घोराही, २७ साउन । कोरियन भाषाको पढाई हुने ठाउँ इन्स्टिच्युट हो । भाषा सम्बन्धी पढाई गर्न बजारमा खुलेका इन्स्टिच्युटमा पछिल्लो समय विद्यार्थीको चाप अत्यधिक देखिन्छ । त्यहाँ उनीहरु विश्वमा बोलिने धेरै प्रकारका भाषा सिक्न जान्छ । कोरियन र जापानीज भाषा पढ्ने विद्यार्थीको चाप इन्स्टिच्युटहरुमा अहिलेको समयमा धेरै देखिन्छ । त्यसैले हरेक इन्स्टिच्युटमा प्रायः यी भाषाका कक्षा संचालन हुने गरेका छन् ।

इन्स्टिच्युटमा भाषा कक्षा पढेर भाषाको आधारभूत ज्ञान लिएर रोजगारीका लागि ईपिएस परिक्षामा सहभागी हुने विद्यार्थीको चाप बढ्दै गएको बेला दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले यो वर्षदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय नै पढाउन थालेको छ ।

कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछि व्वस्थापन तर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिईरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिनुभयो । १२ कक्षा पास गरेर रोजगारीका लागि कोरिया जानेहरुका लागि मात्रै नभई अहिले पढ्नका लागि पनि कोरिया जान पाउने प्रावधान भएकाले मावि तहमा कोरियन भाषा कक्षाको औपचारिक शिक्षा लिएर जाँदा सहज हुने भएकाले पनि यो विषय पहिलो पटक दाङमा भित्र्याएको उहाँले बताउनुभयो ।

विद्यालयका अनुसार, मावि तहमा अंग्रेजी विषय बाहेक अरु विदेशी भाषाको पढाई भित्र्याउने मावि नारायणपुर पहिलो विद्यालय बनेको छ । पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रुपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर यो वर्षदेखि संचालनमा ल्याएको प्रधानाध्यापक खनालले बताउनुभयो ।

‘विद्यार्थीमा बढ्दो विदेशको मोह अनि शैक्षिक कार्यक्रममा नयाँ विषय राख्दा विद्यार्थीलाई पनि आकर्षण गर्न सकिने हुँदा हामीले कक्षा ११ मा यो वर्षबाट ऐच्छिक विषयका रुपमा सय पूर्णाङ्कको कोरियन भाषाको विषय लागू गरेका छौँ, यसमा विद्यार्थीको आकर्षण राम्रो देखिएको छ’, प्रधानाध्यापक खनालले भन्नुभयो ‘पढाईसँगै भविष्यमा पढेको ज्ञानलाई सही रुपमा लागू गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो । नयाँ विषय भएकाले हामीलाई पनि चासो छ । विद्यार्थीहरुमा थप चासो हुनु स्वाभाविक नै भयो । इन्स्टिच्युटमा गएर भाषाको औपचारिक ज्ञान लिनुभन्दा शैक्षिक कार्यक्रममा सहभागी भएर प्रमाण पत्रमा समावेश हुन पाउन अर्को अवसर पनि हो । यसले भोलिका दिनमा उनीहरु पढ्नका लागि कोरिया जान चाहेमा यसले ठूलो सघाउ पुर्र्याउँछ ।’

विद्यालयले कक्षा ११ मा व्यवस्थापनतर्फ अर्थशास्त्र विषयको विकल्पका रुपमा कोरियन भाषा ल्याएको हो । यो विषय माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ मा समावेश गरिएको छ । पाठ्यक्रमको समुह ‘ग’ मा कक्षा ११ र १२ का लागि कोरियन भाषा विषयको वार्षिक कार्य १ सय ६० घण्टा तोकिएको छ ।

Blog Post Ad

विषय कोड केओआर ४३७ स्पष्ट उल्लेख गरी पाठ्यक्रम तयार पारिएको हुँद जानकारी पाएका केही मावि तहमा अहिले यो विषयको पठनपाठन शुरुवात भएको छ । पूर्वको इलाम, झापातिर केही विद्यालयमा पढाई भएपनि पश्चिम क्षेत्रमा सम्भवतः मावि नारायणपुरले पहिलो पटक यो विषय भित्र्याएको विद्यालयको दावी छ ।

७५ पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अंक भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ । ऐच्छिक विषयका रुपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त ६ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । विद्यालयले कोरियन भाषा कक्षा संचालन गरेको बारे पालिकाको नगर शिक्षालाई समेत औपचारिक जानकारी गराएको प्रधानाध्यापक खनालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीका अनुसार विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरु कविराम चौधरी र श्यामलाल लहेरले पढाउने काम गर्दै आउनुभएको छ । नयाँ विषयसँगै विद्यार्थीको चासोको विषय भएकाले विद्यालयले शुरुवात गरेको उहाँले बताउनुभयो । कोरिया अहिले नेपालीको गन्तव्य मुलुक बन्दै गएको बेला शैक्षिक कार्यक्रममा विषय समावेश गर्दा विद्यार्थीहरुलाई पढ्न वा कामदारको रुपमा त्यहाँ जान सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तर, कोरियन भाषा विषयको पाठ्यपुस्तक पाउन निकै कठिन भएको शिक्षक कविराम चौधरीले बताउनुभयो । अहिले पाठ्यक्रम अनुसार आफैले पाठ्यसामग्री तयार पारेर पढाउने काम गर्दै आएको उहाँले बताउनुभयो । शिक्षक कविराम ७ वर्ष बढी कोरियामा बसेर विद्यावारिधी गरेर आउनुभएको अनुभवी शिक्षक रहेको विद्यालयले जनाएको छ ।

नयाँ विषय भएकाले विद्यार्थीले चासो लिएर पढीरहेका शिक्षक चौधरीले बताउनुभयो । उहाँले अरु विषय जस्तो सहज भने नरहेको हुँदा कोरियन भाषाको ज्ञानसँगै लेखनसीप पनि निखार्नु पर्ने हुँदा विद्यार्थीका लागि अवसरसँगै चुनौति पनि रहेको बताउनुभयो ।

कक्षा ११ मा अध्ययनरत घोराही १० नारायणपुर निवासी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पनि पढ्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो । कक्षा १२ को पढाई सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाईसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनु निकै ठूलो अवसर रहेको विद्यार्थी आशाले बताउनुभयो ।

यसैगरी, वडा नम्बर ११ डोक्रेना निवासी अर्का विद्यार्थी आयुष चौधरीले पनि आफुले कोरियन भाषा कक्षा शिक्षाका रुपमा लिन पाउँदा निकै खुशी लागेको बताउनुभयो । भविष्यमा कोरिया जाने मौका मिले पनि नमिले पनि पाठ्यक्रमबाट आफुले कोरियन भाषा शिक्षा लिन पाउनु अवसर भएको बताउनुभयो । आयुषले विहान विद्यालयमा औपचारिक शिक्षाका रुपमा कक्षामा पढ्नुहुन्छ भने दिउँसो इन्स्टिच्युटमा गएर भाषा कक्षा पनि लिने गर्नुभएको छ ।

आशा र आयुष जस्तै व्यवस्थापन तर्फ कक्षा ११ मा भर्ना हुनुभएकामध्ये ५५ जना विद्यार्थीहरुले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधार स्तम्भका रुपमा लिएर पढन थालेको जनाएका छन् । ‘१२ कक्षा पास गरेपछिको गन्तव्य सबैको कोरिया नै हुन्छ भन्न सकिँदैन तर यसले भाषा सिक्न सहयोग पुग्नेछ’, विद्यार्थी आशा केसीले भन्नुभयो ‘नेपाली, अंग्रेजी विषय पढ्दै आएका हामीलाई कोरियत भाषा बिल्कुलै नयाँ विषय भएकाले उत्साहित बनाएको छ ।’

३० जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न शुरु गरेकाले भोलिका दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्नेसमेत विद्यालयले अपेक्षा गरेको छ । सो विद्यालयमा हाल २ हजार १ सय ७१ जना अध्ययनरत छन् । विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad