Ad Area

घोराहीको सार्वजनिक सुनुवाईमा सामाजिक, आर्थिक विकासका कुरा


घोराही, २७ साउन । घोराही १ गंगा मावि रामपुरमा अध्ययरत छात्रा पुष्पा कुवरले आफु पढ्ने विद्यालयमा कक्षा कोठाको अभाव भएको नगर प्रमुख नरुलाल चौधरीलाई सुनाउनुभयो । टीनले छाएको पुराना कोठा अहिले जीर्ण भएर पानी चुहिने भएको अनि भएका कक्षा कोठामा पढ्ने वातावरण नभएको हुँदा पठनपाठनका लागि व्यवस्थापन गर्न ध्यानाकर्षण गराउनुभयो ।

आईतबार घोराहीमा आयोजित घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकामा रहेको विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले शैक्षिक समस्याका बारेमा खुलेर प्रश्न राखे ।

वडा नम्बर १७ मा रहेको मदन भण्डारी मेमोरियल स्कुलमा अध्ययनरत छात्रा प्रसिका स्वर्णकारले समयको व्यवस्थापनमा ध्यान दिन पालिकाका जनप्रतिनिधि एवम् कर्मचारीलाई आग्रह गर्नुभयो । तोकिएको समयमा जुनसुकै कार्यक्रमलाई सुचारु गर्न सके त्यसबाट धेरैलाई लाभ मिल्ने उहाँले बताउनुभयो ।

घोराही ५ धर्नास्थित महेन्द्र आधारभूत विद्यालय दलजीतपुरका विद्यालय व्यवस्थापन समिति सदस्य दलबहादुर नेपालीले पालिकाले आफ्नो विद्यालयलाई नमूना विद्यालयका रुपमा छनोट गरेपनि शैक्षिक कार्यक्रमका लागि आवश्यक सहयोग पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले विद्यालय नमूना बनाईए पनि नमुना विद्यालय बनाउन चाहिने श्रोत र शिक्षक अभाव झेलिरहेको बताउनुभयो ।

घोराही १८ मसिनाका पूर्णबहादुर मल्लले व्यावसायिक किसानले मल्चिङ विधिबाट खेती गर्दा निस्कने प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा समस्या भईरहेकाले समाधानका लागि आग्रह गर्नुभयो ।

पालिकाबाट अधिकांश वडाका नागरिकले अहिलेको समयमा फोहोर व्यवस्थापनको पाटो चुनौतिपूर्ण बन्दै गएको हुँदा दिगो समाधानको उपाय खोज्न पालिकालाई आग्रह गर्नुभएको थियो ।

Blog Post Ad

सो अवसरमा १९ वटै वडाबाट सहभागी भएका २८ जनाले प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा टोल विकास संस्था, विद्यालयका शिक्षक, विद्यार्थी, उपभोक्ता समिति, नागरिक समाज, ज्येष्ठ नागरिक, विद्यालय व्यवस्थापन समितिलगायतको सहभागीता रहेको थियो । विगतका सार्वजनिक सुनुवाईमा पूर्वाधार, बाटो घाटो, अनुदानलगायत विषयमा धेरै चासो र गुनासो गर्ने नगरबासीले यो पटक भने पुराना प्रश्नलाई निकै दोहोर्याएका छन् । अब बनेको पूर्वाधारलाई सही सदुपयोग गर्ने गरी पालिकाले ठोस नीति ल्याउन सके सबैको हीत हुनेमा जोड दिएका छन् ।

सडकले गाउँदेखि बजारसम्म जोड्ने काम गरेको हुँदा नागरिकको जीवन स्तर उकास्ने खालका कार्यक्रमलाई प्राथमिकता राख्न, शिक्षाको गुणस्तर सुधारका लागि दीर्घकालीन योजना बनाउन, सामाजिक, आर्थिक विकासका क्षेत्रमा गर्न सकिने प्रयासमा नगरबासीलाई जोडेर लैजान आग्रह गरेको छन् ।

उपमहानगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना, कार्यक्रम, आयव्यय बारे जानकारीसहित नगरबासीका प्रश्न जिज्ञासा सम्बोधन गर्न आयोजित सार्वजनिक सुनुवाईमा सहभागीले पालिकाले पहिलो पाँच वर्षे कार्यकालमा पूर्वाधारका क्षेत्रमा लगानी गरेर काम गरेपनि अब बजारलाई गाउँसम्म जोड्ने ठोस योजना अघि सार्न सुझाव दिएका थिए ।

हालसम्म भएका भौतिक विकासलाई सही रुपमा प्रयोग गर्न मानवीय एवम् सामाजिक विकासमा लगानी गर्न उनीहरुको आग्रह थियो । बढ्दो शहरीकरणका कारण फोहोर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हुँदा हरित उपमहानगरको अवधारणालाई अब कार्यान्वयन गर्न पालिकाको ध्यानाकर्षण गराएका थिए ।

नागरिकबाट आएका जिज्ञासा एवम् प्रश्नको जवाफ नगर प्रमुख नरुलाल चौधरीले विकासको क्रम निरन्तर जारी रहने हुँदा पालिकाले प्राथमिकताका आधारमा सबै ठाउँको विकासमा ध्यान दिएको बताउनुभयो ।

शुरुवाती चरणमा सडक संजालको विकासमा ध्यान दिएपनि अब यसको अधिकतम प्रयोग गर्दै आर्थिक एवम् सामाजिक विकासका क्षेत्रमा काम गर्न पालिका योजनावद्ध रुपमा अघि बढेको बताउनुभयो ।

पालिकाले अहिलेसम्म गरेको उपलब्धीलाई मुल्यांकन गरिदिनु पनि उहाँले सबैमा आग्रह गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले स्थानीय सरकार संचालन ऐन र आर्थिक ऐनले निर्दिष्ट गरेको क्षेत्राधिकारमा रहेर पालिकाको विकास र न्यायका पक्षमा काम भईरहेको बताउनुभयो । प्रकृयागत रुपमा काम गर्दा केही समय लागेको जस्तो देखिए पनि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायत क्षेत्रको काम निरन्तर रुपमा भईरहेको बताउनुभयो ।

सामाजिक विकास महाशाखा अन्तरगत शिक्षा शाखाका अधिकृत नारायणप्रसाद पौडेलले शिक्षा सुधारको प्रयास नवीन ढंगबाट अघि बढेको बताउनुभयो । पालिकाका १९ वटै वडामा नमूना विद्यालय छनोटदेखि शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक क्यालेन्डर बनाएर नीतिगत रुपमा धेरै कामको थालनी भइसकेको बताउनुभयो । हालैको एसईईमा आएको नतिजाको गम्भीर समीक्षासहित आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि पालिकाले कार्ययोजना बनाईसकेको बताउनुभयो ।

घोराही उपमहानगरको आयोजना तथा समाजका लागि संचार पैरवी नेपालको सहजीकरणमा भएको कार्यक्रममा पालिकाले आर्थिक वर्ष २०८०–०८१ मा शंशोधित बजेट रकम २ अर्व ६ करोड ४३ लाखमा अधिकांश बजेट खर्च भएको जानकारी गराईएको थियो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा पालिकाको सूचना अधिकारी भीमबहादुर चौधरीले वर्षभर भए गरेका काम र प्रगति बारे जानकारी गराउँदै चालुतर्फ १ अर्व २४ करोड ६६ लाख ५१ हजार र पूँजीगततर्फ ८२ करोड ५ लाख ९२ हजार विनियोजन भएकोमा सो बजेटमध्ये १ अर्ब ७४ करोड ९६ लाख २२ हजार ९ सय ८ रुपैयाँ अर्थात ८४ दशमलव ६३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । जसमा चालु तर्फ ८७ दशमलव ०९ प्रतिशत र पूँजीगततर्फ ८० दशमलव ९१ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास, महिला बालबालिका, कृषि, पशुपालन, उद्धम प्रवद्र्धन, सहकारी, वातावरण तथा विपद व्यवस्थापन, सरसफाईलगायत सेवा प्रवाहका बारेमा भएका काम र उपलब्धी बारे जानकारी गराउनुभएको थियो ।

पालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत पश्चात प्रतिवेदनका आधारसँगै टोल स्तरमा भईरहेको काम र नागरिकले भोग्दै आएका समस्याका बारेमा सवाल जवाफ भएको थियो ।

पालिकाबाट प्रवाह हुने सेवा, वस्तु र सुविधाहरुलाई अझ बढि गुणस्तरीय र प्रभावकारी बनाउन सेवाग्राहीहरुबाट रचनात्मक पृष्ठपोषण लिन पालिकाले नियमित रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

पालिकाबाट प्रवाह हुने सेवा, बस्तु र सुविधाहरुमा सरोकारवाला नागरिकहरुको पहुँच वृद्धि गरि पालिकालाई अझ बढि जवाफदेही र उत्तरदायी बनाउन, कार्यक्रमहरुमा भएका कमी कमजोरीहरु सुधार गर्न र कार्यक्रमहरुमा पारदर्शिता कायम गर्न, पारदर्शी शासन व्यवस्था, उत्तरदायी प्रशासनयन्त्र, सहभागितामूलक पद्धति र निर्वाध रूपमा सूचनाको पहुँच प्रत्याभूति गर्न तथा सहकार्यको संस्कार विकास गर्न, सेवा प्रदायक र सेवाग्राहीको संयुक्त प्रयासबाट विकास कार्यक्रमलाई अझ बढि प्रभावकारी र उपलव्धीमुलक बनाउन घोराहीले घोराहीको रामपुर क्षेत्र, नारायणपुर क्षेत्र र घोराही बजार क्षेत्रलाई आधार बनाएर नियमित रुपमा घुम्ती सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad