Ad Area

लोकदोहोरी आकाशमा चम्किरहेका गायक चन्द्र शर्मा


दाङ,२९ साउन । लोक गीत संगीत तथा लोकदोहोरीको क्षेत्रमा स्थापित नाम हो, चन्द्र शर्मा । उनले शनिबार मात्र काठमाडौंमा एक समारोहबीच ‘पाँचौ जिनियस म्युजिक अवार्ड–२०८०’मा लोक गीत ‘आच्छा लेकिन लाहुरे…’बाट सर्वोत्कृष्ट लोक गायकको अवार्ड हाँसिल गरेका छन् ।

गायन यात्राको यो दुई दशकमा चन्द्र शर्मा थुप्रै राष्ट्रिय सम्मान तथा अवार्डबाट विभूषित छन् । राष्ट्रको गौरब बोकेको पुरस्कार,सम्मान तथा विभूषणबाट सम्मानित गायक शर्मालाई नेपाल सरकारका तत्कालिन राष्ट्रपति विधादेबी भण्डारीले प्रवल जनसेवा श्री पदक २०७९ बाट विभूषित भएका थिए । शर्मालाई नेपाल जेसिसको राष्ट्रिय प्रतिभा पुरस्कारसहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, साँस्कृतिक समाज नेपाल, राप्ती समाज काठ्माडौ जस्ता थुप्रै संघसंस्थाहरुबाट अग्रज श्रष्टाका रुपमा सम्मानित भइसकेका छन् ।

लोक दोहोरी गायनमा आज यो उचाई हाँसिल गर्न चन्द शर्माले धेरै सँघर्ष गर्नु प¥यो । त्यो सँघर्षको मिठो फलको रुपमा यो सफलतालाई लिन्छन् । २०३६ सालमा प्यूठान जिल्लामा जन्मिएका शर्माको बसाईसराईपछि बाल्यकाल दाङमा बित्यो । स्कुले जीवनबाटै गाउँघर तथा विधालयमा हुने साँस्कृतिक कार्यक्रम, पुजा मेलापर्वहरुमा हुने रमाइला गीत संगीतमा शर्मा आकर्षित हुँदै गए । स्टेज पाउनसाथ अग्रजका गीतहरु गायर सबैलाई चकित बनाउथे ।

गुरुहरु, अभिभावक र साथीहरुको प्रेरणाले गायनमा लागेका उनी कक्षा ६ मा पढ्दा जिल्ला विद्यालयस्तरीय लोक गीत प्रतियोगितामा दोस्रो भए । त्यसपछि जिल्लाहरुमा हुने लोक दोहोरी गीत प्रतियोगितामा गायिका गीता रेउलेको जोडी बनेर उनले थुप्रै पटक प्रथम भए । उनको व्यबसायिक गायन २०५३ सालबाटै सुरु भयो । २०५३ मा दाङ जिल्लाबाट घोराही नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रिय दोेहोरीगीत प्रतियोगितामा पोखरा प्रस्तुत भएका चन्द्र तुतीय पुरस्कार जित्न सफल भए । यसपछि शर्मालाई कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।

यस्तै २०५४ सालमा चैते दशैं बाग्लुङ्ग मेला, २०५५ सालमा बुटवल औद्योगिक मेला, २०५६ सालमा शाफ गेमअन्र्तरगत काठमाडौँको राष्ट्रिय लोक दोहोरी गायन प्रतियोगिता, २०५७ सालमा लोक ब. स्मृतीमा भएको अरुण खोलाको दोहोरीगीत प्रतियोगिता र २०५८ मा भएको प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उनले विभिन्न उपाधि जिते । यस्तै २०५९ मा चितवनमा सम्पन्न लाइन्स क्लब अफ चितवनको राष्ट्रिय गायन प्रतियोगिता, २०६० मा पोखरामा आयोजित लिग दोहोरीमा उनी प्रथमसम्म भए । हालसम्म यस्ता दर्जनौ राष्ट्रिय गायन प्रतियोगितामा चन्द्रले लोक दोहोरीमार्फत उत्कृष्ट गायकको पुरस्कार जितिसकेका छन् । पछिल्लो समय औपचारिक रुपमा हुने यस्ता दोहोरी गायन प्रतियोगितामा चन्द्र शर्माले निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

स्टेजमा दोहोरी गाउने क्रममा उनलाई दर्शकले आफ्नो गीत गाउन अनुरोध गरेपछि २०५६ मा चन्द्रले पहिलो गीति एल्बम हेर सानु…बजारमा ल्याए । उनको यो पहिलो गीत नै निकै लोकप्रिय भयो । त्यसपछि २०५७ सालमा मुहारै जुन जस्तो, २०५८ सालमा पल्लो घरको दाई, २०५९ सालमा चरी भए आउथे उडेर बजारमा ल्याउ । हालसम्म उनले मायाको अनिकाल, काँचो सुरती, बाच्छीले धान खायो, धानको चामल धानैको चिउरा, उखु गुलियो, अच्छा लेकिन, टलटल टल्कने ऐनालगायतका सयौ गीति संग्रह र फुटकर गीतको भिडियोहरु बजारमा ल्याईसकेका छन् ।

Blog Post Ad

स्टेजक कार्यक्रममा पनि उनी आफ्ना गीतबाट दर्शकलाई छमछमी नचाउन सक्ने कलाकारको रुपमा परिचित छन् । यसै क्रममा उनले बेलायत, युरोपका विभिन्न देश, जापान, अष्ट्रेलिया, दुबई, कतार, कोरियासहित विश्वका करिब ३० देशका स्टेजमा आफ्ना गीतहरु सुनाईसकेका छन् । नेपालका ७० भन्दा बढी जिल्लामा पुगेर त्यहाँका सयौं मेला महोत्सब तथा स्टेज कार्यक्रममा आफ्ना चर्चित गीत प्रस्तुत गर्दै दर्शकको मन जितिसकेका छन् । स्टेजमा उनी राम्रो कमाउने लोक दोहोरी गायकका रुपमा लोकप्रिय छन् ।

विभिन्न लोकगीत प्रतियोगिता साथै लोक दोहोरी क्षेत्रको सबैभन्दा ठूलो रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा निर्णायकको जिम्मेवारी उनले निर्वाह गरिसकेका छन् । यस्तै थुप्रै लोक दोहोरी गायन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका चन्द्र अग्रजलाई सधैं सम्मान र नयाँलाई प्रेरणा दिने गायकमा पर्दछन् ।

गायकसँगै सामाजिक अभियान्ता पनि हुन् । शर्मा दर्जनौं नेपाली गीत संगीत सम्बन्धि सँघसंस्थाको नेतृत्वमा रहँदै आएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको संस्थापक सहसचिव, महासचिव, उपाध्यक्ष हुँदै २०७०–२०७३ सम्म केन्द्रिय अध्यक्ष भए । हाल प्रतिष्ठानको संरक्षकको रुपमा छन् । गायक शर्मा हाल कलाकार कल्याणकारी कोषको उपाध्यक्ष, राप्ती रोयल्टी संकलन समाजको उपाध्यक्ष, लोक संगीत बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष, राप्ती समाज, म्युजिक भिडियो निर्देशक समाज, साँस्कृतिक समाजलगायत विभिन्न संघसंस्थाको सल्लाहकारमा रहेका छन् ।

राज्यले कलाकारलाई प्राथमिकतामा नराखेको बेलामा कलाकारका अधिकार र हकहितका लागि सक्रिय रहँदै आएका छन् । विभिन्न निकायमा पुग्दै सम्पूर्ण संगीतकर्मीको हकहितका लागि लड्दै आएका शर्मा आफ्ना सृजनाहरु पनि दर्शक सामु ल्याउँदै आएका छन् ।

Blog Post Ad Blog Post Ad