Ad Area

दाङमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाईते


घोराही, १ भदौ । दाङमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते हुनुभएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ निवासी २५ बर्षीय सम्राट गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ । दुर्घटनामा गम्भीर घाईते गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएका थियो ।

शुक्रवार राती करिव दश बजेतिर दंगीशरण गाउँपालिका–५ डाँडाचिसस्थित तुलसीपुरदेखि पश्चिमतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ प ०९४६ मोटरसाइकल रोकिएको रा १ त १४२२ नम्वरको ट्याक्टरमा पछाडीबाट ठोक्किदा गिरी घाइते हुनुभएको थियो । प्रहरीले ट्याक्टर चालक बबई गाउँपालिका–७ निवासी २९ बर्षीय ईन्द्रबहादुर डाँगीलाई नियन्त्रणमा लिएर घट्ना बारेमा अनुसन्धान अघि बढाएको छ ।

त्यसैगरी शुक्रवार राती करिव २२ ः १५ बजेको समयमा घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ दिपज्योती हस्पिटल नजिक भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते हुनुभएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट फ्याक्ट्रीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २२५४ नम्वरको टिप्परले सोही दिशाबाट आईरहेको रा १ ब ८८५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका–१५ दिपशिखा चोक निवासी २८ बर्षीय शक्तिसिह जिसी घाइते हुनुभएको छ ।

घाईते जिसीको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको प्रहरी नायव उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार टिप्पर चालक घोराही–१५ भरतपुर बस्ने २४ बर्षीय प्रविन चौधरीलाई प्रहरीको नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad