Ad Area

बड्कापथ सिचाइ आयोजना,आठ किलोमिटर बढी नहर निर्माण


दाङ, १ भदौ ।  दाङको देउखुरीमा राप्ती नदीदेखि दक्षिण क्षेत्रको जमिन सिँचाइ गर्ने उद्देश्यले १२ वर्ष अघि बड्कापथ सिँचाइ निर्माणको काम सुरु भयो । निर्माण कार्यमा अवरोध हुँदा भने अपेक्षा अनुरूप काम अघि बढ्न सकेन । जसले गर्दा राप्ती नदीको पानीले सिँचाइ गरेर खेती गर्ने सपना देखेका किसानको चाहना अझै पूरा हुन नसकेको गढवा गाउँपालिका–४ निवासी सुकदेव चौधरी बताउँछन् । तोकिएकै समयमा सिँचाइ आयोजना निर्माण भए किसानले नदीको पानीले सिँचाइ गर्न पाउने र त्यसले उत्पादनमा वृद्धि गर्ने किसानको अपेक्षा छ तर नहर निर्माण गर्ने विभिन्न ठाउँमा बेला–बेलाको अवरोधले भने तोकिएकै समयमा बन्छ कि बन्दैन भन्ने आशङ्का रहेको चौधरी बताउँछन् ।

सिँचाइ नहुँदा खेती गर्न आकाशे पानीको भर पर्नु पर्ने बाध्यता रहेको भन्दै चौधरी भन्छन, ‘राप्तीको पानीले सिँचाइ गरौँला भनेर पर्खिएको १२ वर्ष भए पनि अझै पानी चलेको छैन, वर्षामा त खेती गर्न आकाशे पानी पर्खनु पर्छ ।’ राप्ती नदीको दक्षिण किनारबाट बड्कापथ सिँचाइ आयोजनाको निर्माण सुरु भएको एकदशक बढी समय भए पनि निर्माणको कामले गति लिन सकेको छैन । जसले गर्दा अहिले पनि मूल नहर बनाउने काम चलिरहेको छ । ३० किलोमिटर लामो नहर निर्माण गर्ने योजना रहे पनि अहिलेसम्म करिब साडे आठ किलोमिटर मात्र नहर निर्माण भएको छ ।

नहर निर्माणको काम साढे १४ किलोमिटर क्षेत्रमा चलिरहेको छ । अबको तीन वर्षभित्र आयोजनाको काम सम्पन्न गर्नु पर्ने भए पनि मूल नहर क्षेत्रमा पर्ने रुख नहटाउँदा निर्माण कार्य सुस्ताएको थियो । पछिल्लो समय नहर क्षेत्रमा पर्ने रुख हटाउन थालिएकाले अब आयोजनाको निर्माण कार्यले गति लिने आशा गरिएको बड्कापथ सिँचाइ आयोजना मूल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरी बताउँछन् ।

उनले भने, ‘हाम्रो पर्खाइ नहरको पानीको हो, त्यो नहरको पानीबाट सिँचाइ गर्ने धोको सबैको छ, अब आयोजनाको कामले गति लिने आशा छ ।’ आयोजना अन्तर्गत कुलपानी सामुदायिक वन क्षेत्रमा दुई सय ८६ वटा रुख कटान गरिएको छ । मूलनहर विस्तार गर्दा ती रुखले आयोजनाको काम प्रभावित भएको थियो । आयोजना क्षेत्रभित्र पर्ने करिब तीन हजार सात सय रुख हटाउनु पर्ने थियो । कुलपानी सामुदायिक वनसहित लक्ष्मी, लखपती, शान्ति र महदेवा सामुदायिक वन क्षेत्रबाट रुख हटाउनु पर्ने देखिएको छ । ती ठाउँको रुख कटान गरेर नहर क्षेत्र खाली गर्ने काम जारी रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

आयोजना क्षेत्रभित्र देखापर्ने विवाद चाँडै समाधान नहुँदा निकास निस्किन ढिलाइ भएको अध्यक्ष चौधरीले  भने, ‘बल्ल नहरको निकास निस्किएको छ, मूल नहर निर्माणको काम सकिएपछि किसानको लागि पानी खोलिन्छ ।’ साडेचार हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने योजना छ । राप्ती नदीको पानीले सिँचाइ गर्ने योजनाका साथ आर्थिक वर्ष २०६८÷०६९ बाट बड्कापथ सिँचाइ आयोजनाको निर्माणको काम सुरु भएको थियो ।

सिँचाइ नहर निर्माणका लागि हालसम्म करिब ७३ करोड बजेट खर्च भइसकेको छ । गत वर्ष मात्रै कार्यालयले २७ करोड ५० लाख निर्माणको काममा खर्च गरेको र चालु आर्थिक वर्षको लागि २४ करोड बजेट प्राप्त भएको प्रगन्ना तथा बड्कापथ सिँचाइ आयोजनाका इन्जिनियर रामपुकार शाह बताउँछन् । निर्माणको कामले पछिल्लो समय गति लिएको भन्दै इन्जिनियर शाहले भने, ‘फिल्डमा देखिएका समस्या समाधान भइरहेका छन् । अब पर्याप्त बजेट भएमा निर्धारित समयभित्र काम सम्पन्न हुनेछ ।’ बड्कापथ सिँचाइ आयोजनाको बनिसकेको मूल नहरमा पानी परीक्षण गरिएको छ । एउटा ढोका खोलेर आयोजनाको मूल नहरमा पानी परीक्षण गरिएको हो । बडहरा गाउँसम्म पानी लग्न सकिने भएको छ ।

Blog Post Ad

अब बडहरासम्मका क्षेत्रमा सिँचाइ गर्न सकिने इन्जिनियर शाह बताउँछन् । उनका अनुसार अहिले आयोजना अन्तर्गत वनघुस्रीसम्मको जमिन सिँचाइ हुने गरी पानी सुचारु गर्न सकिने भएको छ । नहरको विस्तार कार्य महदेवासम्म पुगेको छ । गढवा गाउँपालिका भित्रका जमिन सिँचाइ गर्ने उद्देश्यले चलिरहेको बड्कापथ सिँचाइ आयोजना सबैभन्दा ठुलो सिँचाइ आयोजना हो । यो परियोजना सञ्चालनमा आएको खण्डमा गढवा गाउँपालिका भित्रका धेरै जमिनमा सिँचाइ सुविधा पु¥याउन सकिने, खाद्यन्न तथा तरकारी उत्पादन बढाउन सकिने विश्वास गरिएको छ । कृषि उत्पादन बढाउने र त्यसले नागरिकको जीवनस्तर उकास्न सहयोगी बन्ने स्थानीय बताउँछन् ।

Blog Post Ad Blog Post Ad