Ad Area

सरकारी सवारी साधनको दुरुपयोग राेक्न नागरिक समाजको ध्यानाकर्षण


घोराही, ७ भदौ । नागरिक समाज दाङले जिल्लामा रहेका सरकारी कार्यालयहरुको धेरै जसो सवारी साधन कार्यालय समय बाहेक र सार्वजनिक विदाको दिन व्यक्तिगत काममा प्रयोग भई दुरुपयोग भईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका जिल्ला संयोजक नीमबहादुर थापाको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको बैठकले सार्वभौम सत्ता सम्पन्न जनताले तिरेको कर दुरुपयोग भईरहेको प्रति चासो व्यक्त गर्दै सबै सरकारी कार्यालयमा भएका सवारी साधन व्यक्तिगत प्रयोगमा पूर्ण रुपमा नियन्त्रण गर्न गराउनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, संघीय सरकार र प्रदेश सरकारमा रहेका विभिन्न अभियोग लागेका तथा नैतिक आचरण विपरितका सांसदहरुलाई मन्त्री बनाउने जस्ता कार्य तत्काल रोक्न माग गरेको छ ।

छिमेकी मुलुक श्रीलंका, बंगलादेशलगायत कतिपय राष्ट्रहरुमा राजनीतिक नेतृत्वबाट भएका आचरण विपरित कार्यको नतिजाको स्मरण गराउँदै नेपालको संघीय सरकार, प्रदेश सरकारले पनि नैतिक आचरण विपरितका व्यक्तिलाई सरकारको मन्त्री पदमा नियुक्त गरेको घटनाले सार्वभौम नेपाली जनताको अमुल्य मतको अपमान भएको भन्दै यस प्रकारको अमर्यादित कार्य नगर्न नगराउन पनि नागरिक समाजले सरकारको ध्यानाकर्षण गराएको हो ।

यसैगरी, हरितालिका तीज तथा ऋषि पञ्चमी पर्व नजिकिई रहेको बेला पर्वहरु तडकभडक नगरी मर्यादित र सभ्य रुपमा उत्साहका साथ मनाउन अनुरोध गरेको छ ।

यसैगरी, बैठकले पृथ्वी राजमार्ग अन्तरगत आबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट भारतीय नम्बर प्लेटको यात्रुबाहक बस शुक्रबार बिहान मस्र्याङ्दी नदीमा खस्दा ज्यान गुमाएका यात्रुहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सो बसमा सवार घाईतेहरु र मुग्लिन–नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार दिउँसो गुडिरहेको बसमा ढुङ्गा लागेर पल्टिँदा घाइते भएका १९ यात्रुहरुको उचित उपचारको व्यवस्था मिलाउन अपिल गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।