Ad Area

विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउँदै मावि जजरागाउँ


घोराही, ७ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ रहेको श्री माध्यमिक विद्यालय जजरागाउँमा शुक्रबार ‘बुक फ्री डे’ का रुपमा व्यवहारिक शिक्षा प्रदान गर्न थालिएको छ ।

व्यवहारिक शिक्षा अन्तरगत शुक्रबार विद्यार्थीहरुले सालको पातबाट दुना टपरी बनाउने सीप सिकेका छन् । कितावी ज्ञानले मात्रै जीवन चलाउन सहज नहुने भएकाले विद्यार्थीहरुलाई विद्यालयबाटै व्यवहारिक ज्ञान सिकाउन सुरु गरेको विद्यालयका प्रध्यानाध्यापक तिलप्रसाद घर्तीले जानकारी दिनुभयो ।

व्यवहारिक सीप अन्तरगत शुक्रबार भएको कार्यक्रममा कक्षा ५ देखि १२ कक्षासम्मका विद्यार्थीलाई दुना टपरी बनाउन सिकाइएको उहाँले बताउनुभयो । त्यसका लागि पात र सिन्काको व्यवस्थापन विद्यालयले गरेको हो ।

विद्यार्थीहरु व्यवहारिक ज्ञान लिन पाउँदा धेरै खुशी देखिन्थे । सोही विद्यालयमा कक्षा १० मा अध्यनरत सर्मिला ओलीले दुना टपरी गाँस्न सिकेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘घरमा तैले केही जान्दैनस्, यो काम नगर भनेर आमाले मलाई छुन पनि दिनु हुन्नथ्यो तर गरेपछि त सजिलै जानिँदो रैछ’, सर्मिलाले भन्नुभयो ‘मैले गरेको कोशिस सफल भएको छ । अब नियमित दुना टपरी बनाएर सुन्दर बनाउने कोशिस गर्छु ।’

आफुले बनाएको दुना देखाउदै उहाँ निकै हर्षित हुनुभएको थियो । घर भित्रको काम छोरी मान्छेले मात्रै गर्नुपर्छ भन्ने मान्यता समाजमा भए पनि विद्यालयमा छात्रछात्रा दुवैले मिलेर सिक्न पाउँदा काममा विभेद नहुने विद्यालयले जनाएको छ ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र विशाल भण्डारीले दुना टपरी गाँस्ने काम छोरी मान्छेको होला भन्ने लागेकोे भन्दै विद्यालयमा सिक्ने अवसर पाएपछि काम जसले गरे पनि हुन्छ भन्ने बोध भएको बताउनुभयो । ‘मैले सिन्का समाउन पनि जानेको थिएन । आज आफैले दुना खुटेर देखाएँ निकै खुशी लागेको छ’ उहाँले भन्नुभयो ‘दैनिक जीवनमा काम लाग्ने सीप सिक्न पाउँदा खुशी लाग्यो । कामको विभेद गर्नुहुँदैन भन्ने पनि प्रष्ट भएको छ ।’

Blog Post Ad

प्रत्येक हप्ताको शुक्रबार विद्यालयमा व्यवहारिक सीप सिकाउने गरेको विद्यालयका शिक्षक रिमा गौतम बताउनुहुन्छ । कहिले बत्ती कात्ने, कहिले दुनाटपरी बनाउने, कहिले खानेकुरा पकाउने जस्ता व्यवहारिक जीवनमा काम लाग्ने कुरा विद्यालयमा सिकाउने गरिएको उहाँले बताउनुभयो । कक्षा १ देखि १२ कक्षासम्म पढाई हुने सो विद्यालयमा हाल ५ सय ५० जना विद्यार्थी अध्यनरत छन् ।

Blog Post Ad Blog Post Ad