Ad Area

ड्रागनफ्रुटबाट राम्रो आम्दानी


सुशीला वली

दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन् ।

५६ वर्षीय बुढा १६ वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसेका थिए । अहिले ड्रागनफ्रुट खेतीबाट आफ्नै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनी खुसी छन् । ड्रागनफ्रुट खेतीबाट सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बुढाको भनाइ छ । बजारीकरणको समस्या नहुँदा खेतीतर्फ आकर्षण बढ्दै गएको उनी बताउँछन् ।

ड्रागनफ्रुट रातो प्रतिकिलो चार सय तथा सेतो चार सय ५० का दरले घरबाटै बिक्री गरेको बताउँदै भन्छन्, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ, माग आए काठमाडौं समेत पठाउने गरेको छु ।’ परम्परागत कृषि कर्मबाट उपलब्धि हासिल नभएपछि ड्रागनफ्रुट खेती रोजेको बुढाले बताए । करिब ८० लाख खर्च गरेर ६ जनाको समूहले ‘दङाली ड्रागनफ्रुट फर्म’ दर्ता गरेर विगत ६ वर्षदेखि दुई बिघा जमिनमा व्यावसायिक रूपमा खेती गर्दै आएको छ ।

‘वार्षिक २० लाखदेखि २५ लाखसम्म कारोबार हुन्छ’, बुढाले भने, ‘दुई बिघामा करिब एक हजार तीन सयभन्दा बढी विरुवा रहेका छन्, प्रति विरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँन्छ ।” वार्षिक वचत रु १५ लाखसम्म हुने गरेको छ ।’ ड्रागनफ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् । तीन÷चार वर्षअघिसम्म प्रतिकिलो आठ सय ५० मा बिक्री हुने गरेको ड्रागनफ्रुटको बर्सेनि मूल्य घट्दै गएको बुढा बताउँछन् । उनी भन्छन्, ‘चार वर्ष अघिको जस्तै ड्रागनफ्रुट बिक्री हुन्थ्यो भने कमाउन विदेश जानु पर्ने थिएन । विगतको तुलनामा दोब्बरले मूल्यमा कमी आएको छ ।’

धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मिहिनेत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बनेका छन् । अन्य तरकारी, पशुपालनलगायतका कृषि व्यवसायमा मिहिनेत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेको छ । ड्रागनफ्रुट खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी लालप्रकाश बुढा बताउँछन् । उनी पनि लामो समय वैदेशिक रोजगारमा रहेका थिए ।

Blog Post Ad

सधैँ विदेशमा बस्नुभन्दा स्वदेशमा केही गर्ने सोचले सामूहिक रूपमा साथीहरूसँग यो व्यवसाय गरेको बताउँछन् । बुढाले भने, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ फर्ममा उत्पादन पनि राम्रो भएको र बिक्रीका लागि घोराही बजार पनि नजिकै रहेकाले आफूलाई बिक्रीका लागि समस्या नभएको बताए ।

अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पान हुन थालेको छ । एकै पटक रोपेपछि लामो समयम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मिहिनेत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागनफ्रुट खेतीमा व्यावसायिक रूपमा लागेका छन् । सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो उत्पादन हुने भएकाले धेरै किसान पछिल्लो समय ड्रागनखेतीमा लागेका छन् । दुई बिघा जग्गाको भाडा वार्षिक ६० हजार तीर्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad