Ad Area

तीनवटा पुल बन्दै, दुईको ठेक्का खारेज


सडक डिभिजन कार्यालय

दाङ, १२ भदौ । सडक डिभिजन कार्यालय अन्तर्गत दाङमा निर्माण हुन थालेका पाँचवटा पुलमध्ये दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनिया स्थित तुइखोला र घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता खारेज भएको हो ।

तुईखोला पुल २०७६ असोज महिनासम्म निर्माणको काम सक्ने गरी २०७४ मा बाँकेको एडभेन्चर जेभी नेपालगञ्जसँग छ करोड ८२ लाख ३७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम नभएपछि सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता रद्द गरेर निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको सूचना अधिकारी इन्जिनियर उज्ज्वलकुमार झाले जानकारी दिएका छन् । उनका अनुसार घोराही–तुलसीपुर सडकखण्डको पत्रेखोलामा पुल निर्माणको जिम्मा पाएको कान्छाराम शंकरमाली जेभीसँग पनि ठेक्का सम्झौता रद्द भएको छ ।

२०७४ भदौ ९ सम्म पुल निर्माण सक्ने गरी २०७१ भदौमा चार करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल लामो समयपछि निर्माण भए पनि पुलमा निर्माण गर्नु पर्ने रेलिङ र एक्सिस रोडलगायतको काम हुन सकेको थिएन । उक्त काम निर्माण कम्पनीलाई गर्नका लागि पटकपटक ताकेता गर्दा पनि नगरेपछि गत आर्थिक वर्षमै ठेक्का सम्झौता रद्द गरिएको सूचना अधिकारी झाले बताए ।

ठेक्का रद्द गरेपछि निर्माण व्यवसायी अदालत गएकाले नयाँ ठेक्काको काम हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । सूचना अधिकारी झाले भने, ‘पुल निर्माणको लागि पटकपटक म्याद थपसँगै ताकेता गर्दा पनि पुल निर्माणको काम पूरा हुन सक्ने अवस्था नदेखिएपछि बाध्य भएर सम्झौता खारेज गरेका हौँ ।’

तयार हुँदै हापुरखोला पुल

Blog Post Ad

विगत ८ वर्षदेखि अलपत्र डुरुवा–कोठरी जोड्ने हापुरखोला पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोला पुलको करिब ८५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । २०७५ चैत १८ सम्म काम सम्पन्न गर्ने गरी सुर्खेतको एसपिए सूर्य जेभीसँग २०७३ असोज १९ मा भ्याट बाहेक १० करोड ५० लाख २१ हजार चार सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार दुई वर्ष छ महिनामा पुल निर्माणको काम सक्नु पर्ने भए पनि निर्माण कम्पनीले काम नगर्दा लामो समयदेखि अलपत्र परेको थियो । पुल निर्माणका लागि चार पटक म्याद पथ गरेपछि अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गत वर्षदेखि निर्माण कम्पनीले राम्रोसँग काम गरेकाले पुल निर्माणको कामले गति लिएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर झाले जानकारी दिए । पुलको पिलर निर्माणसँगै सुपरस्टक्चरको काम सकिएको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै सूचना अधिकारी झाले भने, ‘निर्माण व्यवसायीको लापरवाहीका कारण लामो समयदेखि पुल निर्माण हुन सकेको थिएन तर पछिल्लो समय पुलका लागि पिलर निर्माणसँगै स्ल्याव राख्ने काम सकिएपछि खोलामा बाढी आएको बेला मान्छे पुलबाट वारपार गर्नेसम्म भएको छ ।’

तुईसोता पुलको ८३ प्रतिशत काम

यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुईसोतामा निर्माणाधीन पुलको भौतिक प्रगति ८३ प्रतिशत रहेको छ । २०८१ पुस २३ सम्म पुल निर्माणको काम सक्ने गरी २०७९ असार २३ मा महेश इन्जिनियरिङ सत्यवती जेभी बर्दाघाट नवलपरासीसँग ठेक्का सम्झौता भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका–१३ को पूmलबारी र दंगीशरण गाउँपालिका वडा नं. २ को सरुवाडाँडा गाउँ जोड्ने गरी पुल निर्माणको काम भइरहेको छ । पुल निर्माणको काम सन्तोषजनक रहेको भन्दै सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकले यही गतिमा पुल निर्माणको काम भए निर्धारित समयमै सकिने बताउँछन् ।

पुलका लागि पिलर निर्माणसँगै स्ल्याव राख्ने काम सकिएकाले अब फिनिसिङलगायतका काम बाँकी रहेको छ । १० करोड आठ लाख ४५ हजार चार सय ३१ रुपैयाँ लागत रहेको पुलको हालसम्म आठ करोड ४३ लाख ९९ हजार चार सय २४ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

रनसिङ खोला पुलको ४२ प्रतिशत काम

दुई जिल्ला जोड्ने गरी गढवा गाउँपालिका–१ रनसिङ खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ४३ प्रतिशत मात्रै रहेको छ । गढवा गाउँपालिका–१ जुरौनी र अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ चिरङ्गे जोड्ने रनसिङ खोला पुल निर्माणका लागि २०७९ फागुन ३० सम्म सक्ने गरी सूर्य सेरम तिरुपाते जेभी वीरेन्द्रनगर–६ सुर्खेतसँग २०७७ कार्तिक २ मा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले काम नगर्दा दुई पटक म्याद थप भइसकेको छ । पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेपछि विगत एक वर्षदेखि तिरुपाते निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको साइट इञ्चार्ज समेत रहेका इन्जिनियर विकले जानकारी दिए । उनका अनुसार पुलका चार पिलर र तीन स्ल्यावमध्ये पिलर निर्माणको काम सकिएको र एउटा स्ल्याव राखिएको छ ।

‘नयाँ कन्ट्याक्टरले पुल निर्माणको जिम्मा लिएपछि अहिले पुलको भौतिक प्रगति देखिने अवस्था भएको छ’, इन्जिनियर विकले भने, ‘कन्ट्याक्टरले यही गतिमा काम गरे थपिएको समयमा पुल निर्माण हुने देखिन्छ ।’ नौ करोड २४ लाख ४० हजार नौ सय ३४ रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको वित्तीय खर्च तीन करोड ९१ लाख ६८ हजार छ सय ९६ रुपैयाँ रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । समयमा पुल निर्माणका काम नहुँदा स्थानीयलाई वर्षाद्को समया रनसिङ खोला वारपार गर्न समस्या हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad