Ad Area

आयमा आधारित व्यावसायिक मौरीपालन तालिम समापन


घोराही, १० भदौ । लक्षित समुदाय पहिचान गरी घोराहीमा सीप र आयमा आधारित पाँच दिने व्यावसायिक मौरीपालन सम्बन्धि तालिम प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को हापुरमा घोराही उपमहानगरपालिकाको समन्वय, आईएम नेपालको साझेदारी, मुक्त कमलरी विकास मञ्चको सहकार्य र सोसेक नेपालको आयोजनामा ग्रीन ईकोनोमी एक्सलेरेशन प्रोजेक्टमार्फत संचालित मौरीपालन सम्बन्धि प्राविधिक सीप विकास तालिम सोमबार समापन गरिएको हो ।

सो अवसरमा तालिममा सहभागी नन्दा योगीले व्यावसायिक मौरीपालन तालिम लिएपछि अब सिकेको सिपलाई भोलिका दिनमा लागू गर्ने प्रतिवद्धता जनाउनुभयो । घर बाहिर काममा जान नसक्ने अवस्थाका गृहिणीलाई आयआर्जनमा जोड्ने आधार मौरीपालन तालिमले प्रदान गरेको भन्दै सीपलाई आयआर्जनमा रुपान्तरण गर्ने अठोट लिएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष द्रोर्ण बहकरीले उद्यमशीलतामा आवद्ध हुनु आफैमा अवसर भएको भन्दै सिकेको सीपलाई अब उत्पादनसँग जोडेर लैजान आग्रह गर्नुभयो । वडा नम्बर १२ मा मौरीपालनको राम्रो सम्भावना भएकाले यो व्यवसायबाट राम्रो आम्दानी लिन सकिने उहाँको भनाई थियो ।

सोसेकका परियोजना संयोजक द्रोर्ण जिसीले संस्थामार्फत महिला, विपन्न, सिमान्तकृत समुदायको उत्थानका लागि कार्यक्रम गर्दै आएको बताउनुभयो ।

उहाँले विवेक, ज्ञान र सीप, सामग्री दिएर लक्षित समुदायको उत्थानका लागि काम गर्दै आएको बताउनुभयो । उहाँले सिकेको सीपलाई गहन रुपमा लिएर कार्यान्वन गर्न अपिल गर्नुभयो । संस्थाले सीपसँगै उपकरण र प्राविधिक सहयोग पनि निशुल्क दिने गरेको छ । पाँच दिने मौरीपालनको प्रशिक्षकमा हिराबहादुर बहकरी रहनुभएको थियो । तालिममा ११ जना सहभागी भएका थिए । समापन कार्यक्रमको सहजीकरण हीमा कुसुण्डाले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad