प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
दाङ,१२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन । चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छलफलमा दुई प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्दा लाग्ने आर्थिक स्रोतका विषयमा चासो राखेका थिए ।
छलफलमा प्रधानमन्त्रीसहित अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री विद्या भट्टराई, स्वास्थ्य सचिव डा रोशन पोखरेल, आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झा, आयोगका निर्देशकहरु र पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता थियो ।
मंगलबार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक बजेट व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् ।