Ad Area

लुम्बिनी प्रदेशमा यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन


दाङ,१३ भदौ । लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन गरिएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ गठन गरिएको जानकारी दिए ।

यातायात क्षेत्रलाई व्यवस्थित गरिनु पर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले यसको समस्या समाधानका लागि कार्यदल गठन गरेको हो । ‘यातायात क्षेत्रका बिषयमा आम नागरिकबाट केहि गुनासा आएका छन्, यसको व्यवस्थापनका लागि माग भएको छ,’ मन्त्री न्यौपानेले भने ‘यातायात क्षेत्रमा भएका समस्या समाधान गरि यसको उचित व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको हो, यो कार्यदलले कसरी यातायात क्षेत्रलाई आम नागरिकका लागि सहज बनाउन सकिन्छ भन्ने बिषयमा अध्ययन गर्ने छ ।’

उद्योग,पर्यटन तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रतिनिधि,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि,आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत,सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि,यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमती पत्र) का प्रमुख,यातायात व्यवस्था कार्यालय रुपन्देही ९सवारी० का प्रमुख,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल ईञ्जिनीयर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य रहेका छन् ।

१० सदस्यीय कार्यदलले प्रदेश यातायात सम्बन्धी प्रवाह हुँदै आइरहेको सेवा प्रवाहमा देखिएका नीतिगत जटिलताका बारेमा अध्ययन गर्ने छ । यातायात सेवा प्रवाहमा देखिएका कानुनी जटिलता सम्बोधनका लागि अध्ययन गरिने र सोही अध्ययन अनुसार आवश्यक पहलकदमी लिईने मन्त्री न्यौपानेले जानकारी दिए । यसैगरि सेवाग्राही हरुको जनगुनासोलाई यो कार्यदलले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । यातायात सम्बन्धी सेवा पाउनका लागि आम नागरिकले सास्ती बेहोर्नु परिरहेको गुनासो आइरहेको छ । यातायात कार्यालयहरुबाट प्राप्त हुने सेवा पाउनका लागि झन्झट बेहोर्नु परिरहेको गुनासो सेवाग्राहीहरुबाट ब्यापक रुपमा आउने गरेको छ ।

सेवाग्राहीहरुले सेवा पाउनका लागि भोग्नु परेका समस्या पहिचानका लागि उनिहरुको गुनासा यो कार्यदलले सुन्ने छ । ‘सेवाग्राहीहरुले सेवा पाउँदाखेरी के कस्ता समस्या वा झन्झट बेहोर्नु परिरहेको छ भनेर सेवाग्राहीको समस्या पहिचानका लागि गुनासा सुनिने छ,’ मन्त्री न्यौपानेले भने ‘सेवाग्राहीहरुका गुनासा र सुझावका आधारमा कसरी यातायात क्षेत्रलाई नागरिक मैत्री बनाउने भन्ने योजना कार्यदलको अध्ययन अनुसार बनाईने छ र यसलाई व्यवहारिक रुपमा लागु गरिने छ ।’ मूलतः यातायात कार्यालयहरुमा टोकन प्रणाली लागु नहुँदा सेवाग्राहीहरुले लामो समय सम्म सेवा पाउनका लागि लाईन बस्नु पर्ने गुनासो गर्दै आएका छन् । मन्त्री न्यौपानेले प्रदेशमा रहेका सबै यातायात कार्यालयहरुलाई तत्काल टोकनको व्यवस्था गर्न केहि दिन अघि निर्देशन समेत दिइसकेका छन् ।

यसैगरि प्रशासनीक एवं व्यवस्थापकीय समस्या, अन्तर मन्त्रालय समन्वय र भूमिकाका बिषयमा समेत कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने भएको छ । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले समग्र यातायात क्षेत्रको सुदृढिकरण एवं व्यवस्थापनको आगामी कार्ययोजना तथा मार्गदर्शन निर्माण गर्ने मन्त्री न्यौपानेले जानकारी दिए । ‘समग्र्र यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेश गर्ने छ,’ मन्त्री न्यौपानेले भने ‘सोही प्रतिवेदनका आधारमा यातायात क्षेत्रको सुदृढिकरण एवं व्यवस्थापनको आगामी कार्ययोजना बनाएर यातायात क्षेत्रलाई व्यवस्थित र नागरिक मैत्री बनाइने छ ।’

Blog Post Ad
Blog Post Ad Blog Post Ad