Ad Area

घोराहीमा याे वर्षकाे खेलकुदका गतिविधि शुरु, २८ गतेदेखि ब्याडमिन्टन हुँदै


घोराही, १८ भदौ । दाङको घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्ष २०८१–०८२ का खेलकुद प्रतियोगिताका कार्यक्रम शुरु गरेको छ ।

गत आर्थिक वर्षबाट नगर स्तरीय खेलकुद विकास समितिमार्फत पालिकामा खेलकुदका गतिविधि अघि बढाएकोमा नगरस्तरीय खेलकुद विकास समितिले यो वर्ष यही भदौ २८ र २९ गते दुई दिन नगरस्तरीय अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता गरेर खेलकुद प्रतियोगिताका कार्यक्रम शुरु गर्न लागेको छ ।

नगरस्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनका अनुसार, घोराही १४ स्थित कभर्डहलमा हुने प्रतियोगिताका लागि घोराहीमा रहेका सबै विद्यालयलाई भदौ २५ गतेसम्ममा खेलाडीको नामावलीसहित टीम दर्ता गर्न आह्वान गरिएको छ ।

सिंगल र डबल गरी दुई विधामा खेलाईने प्रतियोगितामा १७ वर्ष मुनिका छात्र-छात्रा प्रतियोगितामा सहभागी हुन सक्ने खेलकुद विकास समिति संयोजक पुनले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको उहाँले बताउनुभयो । नगरस्तरीय अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गर्न देवबहादुर भण्डारी ९७४५९२४५१८ लाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । जसको सदस्य श्रवणकुमार खनाल ९८४७८५६७८९ र आमन्त्रित पत्रकार छबि पुरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी, यो वर्ष वडा स्तरीय खेलकुद विकास समिति गठनको वर्षका रुपमा अघि सार्दै भदौ महिनाभित्रमा सबै वडामा खेलकुद विकास समिति गठन अभियान हुन लागेको छ । भदौ महिनाभित्रमा सबै वडामा वडा स्तरीय खेलकुद विकास समिति गठन गर्न नगर स्तरीय खेलकुद विकास समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जसअनुसार, वडा नम्बर १ र ४ का लागि सदस्य श्रवणकुमार खनाल, वडा नम्बर २ का लागि सदस्य कृष्णा सुनार, वडा नम्बर ३, ५ र ६ का लागि सदस्य दामोदर शर्मा (दामु) लाई वडा स्तरीय खेलकुद विकास समिति गठन गर्न जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी, वडा नम्बर ७ र १४ का लागि सदस्य प्रविण दहित थारु, वडा नम्बर ८ र ९ का लागि सदस्य सुनिता बिष्ट, वडा नम्बर १०, ११, १२, १३, १८ र १९ का लागि सदस्य प्रविण पुन, वडा नम्बर १५ का लागि सदस्य बिमल थापा र वडा नम्बर १६ का लागि सदस्य देवबहादुर भण्डारीलाई जिम्मेवारी तोकिएको संयोजक पुनले बताउनुभयो । वडा स्तरीय खेलकुद विकास समिति गठन गर्दा वडाले नगरसमितिबाट खटिएका सदस्यहरुसँग समन्वय गरेर काम गर्न समेत आग्रह गरिएको छ । वडा नम्बर १७ मा भने गत वर्ष नै वडा स्तरीय खेलकुद विकास समिति गठन भईसकेको छ ।

Blog Post Ad

गठन हुने वडा स्तरीय खेलकुद विकास समितिमा राष्ट्रिय मान्यता प्रापत खेलका पूर्व तथा वर्तमान खेलाडीहरुलाई प्राथमिकता दिएर समिति बनाउन लागिएको नगर संयोजक पुनले बताउनुभयो ।

घोराही नगरस्तरीय खेलकुद विकास समितिले अब हरेक वडाबाट गठन भएको कार्य समितिबाट ५–५ जना प्रतिनिधिसँगै घोराहीमा क्रियाशील सम्पूर्ण खेलकुद संघसंस्थाका प्रतिनिधिहरुलाई एक ठाउँमा राखेर वृहत कार्यक्रममार्फत वडामा हुने खेलकुदका क्रियाकलापका बारेमा जानकारी गराउने योजना बनाएको छ । यसका लागि खेल संघसंस्थाहरुले वडामा हुने खेलकुदका गतिविधि व्यवस्थित र प्रभावकारी बनाउन गर्नुपर्ने सहयोग र सम्न्वय गर्ने विषयमा कार्यविधि बनाएर सो अनुसार काम गर्ने गराउने योजना पनि ल्याएको उहाँले बताउनुभयो ।

यसैगरी, खेलकुद विकास समितिले आगामी असोज पहिलो सातापछि खेल प्रशिक्षक उत्पादन गर्ने भएको छ । यसका लागि घोराहीका १९ वटै वडामा दुई–दुई जना खेलकुद प्रशिक्षक उत्पादन गर्न एन्फाको स्वीकृतिमा असोज १० गतेदेखि घोराहीमै एन्फा कम्युनिटी कोचिङ कोर्ष संचालन गर्ने गरी हरेक वडामा पत्राचार भईसकेको संयोजक पुनले बताउनुभयो ।

भदौ मसान्तसम्म सबै वडाले उक्त प्रशिक्षणमा सहभागीता लागि नामावली पठाउने समय तोकिएको तथा अन्य ईच्छुक पूर्व खेलाडीहरुले पनि प्रशिक्षण लिन चाहेमा नगर खेलकुद विकास समितिमा समन्वय गर्न सकिने संयोजक पुनले बताउनुभयो ।

खेलकुद विकास समितिले एन्फा कम्युनिटी कोचिङ कोर्षका लागि सम्पर्क व्यक्तिका रुपमा खेलकुद विकास समिति संयोजक नरेन्द्र पुन ९८५७८५६७८९, गोपाल कवँर ९८५७८४१६९९, इराक घर्ती ९८५७८३२१३५ लाई तोकिएको छ ।

यसैगरी, आगामी मंसीरमा सुर्खेतमा हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा घोराहीबाट सहभागी हुने खेलाडीले आवश्यक प्रकृयाका लागि नगर खेलकुद विकास समितिसँग समन्वय गर्न आग्रह गरिएको छ । मंसीर २ देखि १९ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि घोराहीमा रहेका खेल संघसंस्था, क्लव, एकेडेमी र डोजाङलगायतबाट खेलाडीहरुको नाम दर्ता गर्दा नागरिकता, बसाइसराइ वा ठेगाना खुल्ने कुनै सरकारी कागजातका साथ भदौ २८ गतेसम्ममा जिल्ला खेलकुद विकास समिति बेलझुण्डीमा बुझाई सक्न नगर खेलकुद विकास समितिले आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय खेलकुद परिषदले भदौ १४ गते घोराही नगर खेलकुद विकास समितिलाई गरेको पत्राचार अनुसार नगर खेलकुद समिति मातहत रहेका तथा नरहेका सबै खेलकुद संघसंस्थाहरुले आ–आफ्नो जिल्ला संंघसँग समन्वय गरेर नाम दर्ता गर्न आग्रह गरिएको छ ।

घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९ अनुसार घोराहीमा २०८० जेठ २४ गते नरेन्द्र पुन नगर खेलकुद विकास समितिको संयोजकमा नियुक्त भएसँगै पालिकामा योजनावद्ध ढंगले तालिका अनुसार खेलकुदका गतिविधि संचालन हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad