Ad Area

दाङमा रोकिएन मानव बेचबिखन, ५ वर्षमा १२ मुद्दा दर्ता


मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस

घोराही, २० भदौ । अघिल्लो वर्षको बैशाख १ गते दाङ प्रहरीले महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा लमहीबाट एक होटल सञ्चालकलाई पक्राउ गर्यो । नगरपालिका वडा नम्बर ५ लमहीमा होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय होटल संचालक पक्राउ परे ।

कामको खोजीमा पुगेका दुई महिलालाई विभिन्न आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लाग्न वाध्य बनाएको पीडितको उजुरी परेपछि उनी पक्राउ परे । ती होटल सञ्चालकलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत दाङले कैद सजाय फैसला गरेपछि उनी कैद भुक्तान गरिरहेका छन् ।

२०७९ पुस २६ गते राजपुर गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीया शान्ति थापा मगरले १४ वर्षीया एक बालिकालाई बेचविखन गरेको भन्दै पीडित पक्षले उसै दिन इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए । ललाई फकाई भारततर्फ लैजाँदै गर्दा भैंसाही नाकाबाट प्रहरीले पुस २६ गते नै गिरफ्तार गरी माघ १९ गते मानव वेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरेर कानूनी प्रकृया अघि बढायो ।

दाङ जिल्ला अदालतले २०८० जेठ २२ गते कसुरमा दोषी ठहर गर्दै १५ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना, २ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा थप २ हजार २ सय जम्मा गर्ने फैसला गरेपछि सजाय भुक्तान गरिरहेकी छिन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ५ की २० वर्षीया एक युवती घोराही १४ स्थित एक होटलमा काम गर्न बसिन् । काम गर्दै जाँदा उनलाई होटल संचालकले राम्रो कमाई हुने र बस्नलाई पनि सुख हुने भन्दै भारत लैजाने योजना सुनाए ।

Blog Post Ad

भारतको चण्डीगढमा आफन्तको होटल रहेको बताउँदै उनलाई त्यहीँ लगियो । उनी त्यहाँ पुगेपछि यहाँ भनिए जस्तो हुन सकेन । दलालमार्फत उनलाई पैसामा बेचियो । घर परिवारसँग एक दिन सम्पर्क भएपछि पीडित युवतीले आफु बेचिएको र तत्काल उद्धार गर्न भनेपछि जिल्ला प्रहरी कार्यालय दाङमा उनका आफन्तले अघिल्लो वर्षको माघ २० गते उजुरी दिए । त्यसको केही दिनमै पीडित युवतीलाई नेपाल ल्याउने काम भयो । प्रहरीले घटनामा जोडिएका होटल संचालक, उनकी श्रीमतीलाई नियन्त्रणमा लियो र मुद्दा चलाएर कानूनी कारवाही गरेको छ ।

मानवता विरुद्धकै अपराध मानिने मानव बेचविखन फरक–फरक शैलीमा कसरी हुने गरेको छ भन्ने जिल्लाको यी केही दृष्टान्त मात्रै हुन् । दाङमा मानव बेचविखन तथा ओसारपसारका घटना बर्षेनी बढ्दै गएको पाईएको छ । कतिपय घटना प्रहरी कहाँ आईपुग्ने गरेका छ भने अधिकांश घटना गुपचुपमै रहने गरेको छ ।

बितेको पाँच आर्थिक वर्षमा १२ वटा मानव बेचविखन सम्बन्धीका मुद्दा प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार आर्थिक २०७६–०७७ देखि आर्थिक वर्ष २०८०–०८१ सम्मा जिल्लामा १२ वटा मानव बेचबिखनका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । जस अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १ वटा, २०७७–०७८ मा २ वटा, २०७८–०७९ मा ३ वटा, आर्थिक वर्ष २०७९–०८० मा ४ वटा र आर्थिक वर्ष २०८०–०८१ मा २ वटा मुद्दा दर्ता भएको प्रहरी प्रमुख एसपी केसीले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा ७ जना प्रतिवादी पक्राउ परेका थिए । उक्त घटनामा ५ जना पीडित बनेका थिए । मानव बेचविखन तथा ओसार पसार मुद्दामा दोषी ठहर भए १५ देखि २० वर्ष सम्म कैद र १ देखि २ लाख रुपैयाँ सम्म जरिवानाको कानुनी व्यवस्था छ ।

यस प्रकारका घटनामा पछिल्लो समय विदेशमा समेत बेचिने गरेका छन् । रोजगारीको सिलसिलामा विदेशिने महिलाहरु अक्सर यसको सिकार हुने गरेका घटना प्रहरी समक्ष आउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

उहाँले बढ्दो आर्थिक क्रियाकलाप, बेरोजगारी तथा मानिसहरूमा विकसित असीमित लालसाका कारण पछिल्ला वर्षहरूमा अनेक बहानामा नेपालबाट हुने मानव तस्करीका घटना डरलाग्दो किसिमले बढिरहेको बताउनुभयो । ‘समाजका सामु ठूलो चुनौतिका रुपमा देखापर्दै गएको छ, प्रहरी प्रशासनले एक्लैचाहेरपनि रोक्न सक्ने अवस्था छैन । पहिलो कुरा व्यक्ति स्वयम् सचेत बन्न जरुरी छ’ उहाँले भन्नुभयो ‘सचेतनाको पाटोमा हामीले सक्दो कोसिश गरेका छौँ । तर यतिले मात्रै पुग्दैन । यसका लागि राज्यका हरेक निकाय, समुदाय लाग्न जरुरी छ ।’

कतिपय घटना त अलपत्र अवस्थामा छाड्ने गरेका पनि रहेको उहाँले बताउनुभयो । आफुसँगै लैजाने अनि स्वार्थ पूरा भएपछि भारतमा लगेर उहीँ अलपत्र पार्ने गरेका थुप्रै घटनाहरु पछि प्रहरी समक्ष आउने गरेको उल्लेख गर्नुभयो ।गिरोहले आकर्षक रोजगारी तथा आम्दानीको प्रलोभनमा पारी विभिन्न स्थानबाट लैजाने र अन्त्यमा शारीरिक तथा मानसिक शोषण गर्ने गरेको घटना पछिल्लो समय बढ्दै गएको उहाँको भनाई छ ।

देशभर यो अवस्था बिकराल रुपमा देखा परेको प्रहरी अनुसन्धानले बताउने गरेको छ । नेपाल प्रहरीले मानव बेचविखन निरुत्साहित गर्नकै लागि २०७६ को वैशाखमा मानव बेचखिखन अनुसन्धान ब्युरो नै स्थापना गरेको छ । मानव तस्करीजस्तो अन्तर्राष्ट्रिय सन्जाल भएको संगठित अपराध नियन्त्रण गर्न विशेष जनशक्ति र स्रोत साधनसहित गठन भएको ब्युरोले काम पनि गर्दै आएको छ । ब्यूरोले छिमेकी देश भारतसँगै खाडी मुलुक कुवेत, साउदी अरब, इराक तथा लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, माल्टा, म्यानमारलगायत देशबाट मानव तस्करको चपेटामा परेकाहरूको उद्धारमा खट्ने गरेको छ ।

वैदेशिक रोजगारको गन्तव्यलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन काम गर्दै आएको सुरक्षित आप्रवासन सामी कार्यक्रमको सूचना तथा परामर्शकर्ताको काम गर्दै आउनुभएकी रीता लामाका अनुसार वैदेशिक रोजगारसँग सम्बन्धित ठगी र समस्यामा परेका घटना बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०८०–०८१ मा मात्रै वैदेशिक रोजगारसँग सम्बन्धित ४ सय ७७ उजुरी परेका छन् भने चालु आर्थिक वर्षको हालसम्म ३९ वटा उजुरी पीडितले दिएका छन् । यति मात्रै नभई वैदेशिक रोजगार सम्बन्धि ठगीमा परेको भन्दै किटानी उजुरी दिने क्रम पनि बढेको छ । वैदेशिक रोजगारका नाममा अप्रत्यक्ष रुपमा मानव बेचबिखन र मानव अधिकार हनन् भएको घटनाका रुपमा लिन सकिने ठगीका घटना गत आर्थिक वर्षमा सामीमा २ सय ७७ वटा दर्ता भएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ वटा दर्ता भईसकेको सूचना तथा परामर्शकर्ता लामाले बताउनुभयो ।

अहिलेको आधुनिक समाजमा अवैध लागूऔषधपछि संसारमै तेस्रो ठूलो संगठित अपराध मानिने मानव बेचविखन तथा ओसारपसारमा पीडित हुनेहरुको कारण केलाउँदै जाँदा मानिसमा अशिक्षा, जनचेतना अभाव मात्रै नभई पढे लेखेका मानिस पनि मानव तस्करको फन्दामा परिरहेका घटना बढेको प्रहरीको भनाई छ ।

मीठो खाने, राम्रो लाउने र फेशनप्रतिको मोहले पनि मानव बेचविखनका घटना बढाएको जस्तो लाग्छ,’ लामाले भन्नुभयो ‘आजका दिनमा सबै जनालाई पैसा चाहिएको छ । भोलि के होला भन्ने सोँच्दैनन् अनि समस्यामा पर्छन् अर्थात बेचबिखनमा पर्छन् । अमेरिका, यूरोपको सपना देख्नेहरु आफन्तबाटै समस्यामा पर्ने धेरै रहेका छन् । आफन्तको भर र विश्वास गर्दा समस्यामा पर्ने क्रम बढेको छ ।’ पछिल्लो समय वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन तथा मानव तस्करीका घटना बढ्दै गएको महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह ९एटविन०को अध्ययनले समेत देखाएको छ ।

Blog Post Ad Blog Post Ad