Ad Area

घोराही दोस्रो नगरस्तरीय ब्याडमिन्टनको फाइनल खेल्ने टीमको टुंगो


घोराही, २८ भदौ । दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ शुरु भएको छ । घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा शुक्रबार घोराही १४ स्थित कभर्ड हलमा शुरु भएको प्रतियोगितामा पालिकाभित्रका ६ विद्यालयले भाग लिएका छन् । पालिकामा रहेका जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, पद्मोदय पब्लिक नमुना मावि, नेपाल पुलिस स्कुल, लिटिल एञ्जल स्कुल र शान्ति सुधा माविका विद्यार्थीले भाग लिएका छन् ।

घोराही खेलकुद विकास समितिको वार्षिक कार्यतालिका अनुसार दोस्रो अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन समुह चरणका सबै खेल सम्पन्न भएका छन् । छात्र-छात्रा डबल र छात्र-छात्रा सिंगलमा इभेन्टमा प्रतियोगिता भईरहेको छ । जस अनुसार शुक्रबार भएको खेलबाट फाईनल खेल्ने टीमको टुंगो लागेको छ । प्रतियोगितामा छात्र डबल इभेन्टतर्फ जनज्योति विद्यामन्दिर र सिद्धार्थ एकेडेमी फाईनलमा प्रवेश गरेका छन् ।

जनज्योति विद्यामन्दिरका आभाष घर्ती र रञ्जित पुन तथा सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र समीर चौधरी फाईनलमा प्रवेश गरेका हुन् । यसैगरी, छात्रा डबल इभेन्टतर्फ लिटिल एञ्जल स्कुल र पद्मोदय पब्लिक नमूना मावि फाईनल प्रवेश गरेका छन् । लिटिल एञ्जलकी चेतना घर्ती र सुप्रिया रोका तथा पद्मोदयकी सुस्मिता वली र विजया पाठक फाईनल प्रवेश गरेकी हुन् ।

यसैगरी छात्र सिंगल इभेन्टतर्फ सिद्धार्थ एकेडेमी र पद्मोदय पब्लिक नमूना मावि फाईनल प्रवेश गरेका छन् । जसअनुसार सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र पद्मोदयका राजीव रेग्मी फाईनलमा प्रवेश गरेका हुन् ।

यसैगरी छात्रा सिंगल इभेन्टतर्फ लिटिल एञ्जल स्कुल र जनज्योति विद्यामन्दिर फाईनलमा प्रवेश गरेका छन् । लिटिल एञ्जलकी सुप्रिया रोका र जनज्योतिकी लिला मल्ल फाईनल प्रवेश गरेकी हुन् ।

Blog Post Ad

प्रतियोगिताको दुवै इभेन्टको फाईनल खेलहरु आज शनिबार दिउँसो २ बजेपछि कभर्ड हलमा हुने भएको छ । प्रतियोगिताका विजेता, उपविजेतालाई पुरस्कारसहित मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसअघि समुह चरणको खेलमा छात्र डबल इभेन्टतर्फ सिद्धार्थ एकेडेमीले लिटिल एञ्जललाई २-० को सेटमा, यस्तै जनज्योतिले पद्मोदयलाई २-० को सेटमा जितेको थियो । यस्तै सिद्धार्थ एकेडेमीले शान्ति सुधालाई २-० को सेटले जित्दा जनज्योति विद्यामन्दिरले नेपाल पुलिस स्कुललाई २-० को सेटमा जितेको थियो ।

छात्रा डबल इभेन्टतर्फ पाँच वटा टीमको सहभागीता रहेको थियो । जनज्योति विद्यामन्दिरले नेपाल पुलिसलाई २-० को सेटमा, लिटिल एञ्जलले सिद्धार्थ एकेडेमीलाई २-० को सेटमा तथा पद्मोदय पब्लिक नमूना माविले जनज्योति विद्यामन्दिरलाई २-१ को सेटमा हराएको थियो ।

यसैगरी, सिङ्गल इभेन्टतर्फ फाईनल प्रवेशका लागि भएको छात्रको खेलमा जनज्योति विद्यामन्दिरले लिटिल एञ्जल स्कुललाई २-० को सेटमा, पद्मोदय पब्लिक नमूना माविले शान्ति सुधा स्कुललाई २-० को सेटमा, सिद्धार्थ एकेडेमीले जनज्योति विद्या मन्दिरलाई २-१ को सेटमा तथा पद्मोदय स्कुलले नेपाल पुलिस स्कुललाई २-० को सेटमा पराजित गरेको थियो ।

यसैगरी, सिङ्गल इभेन्टतर्फ फाईनल प्रवेशका लागि भएको छात्राको खेलमा लिटिल एञ्जल स्कुलले पद्मोदय माविलाई २-१ को सेटमा, जनज्योति स्कुलले नेपाल पुलिस स्कुललाई २-० को सेटमा तथा लिटिल एञ्जल स्कुलले सिद्धार्थ एकेडेमीलाई २-० को सेटमा हराएको अफिसियल बालकृष्ण शाहले जानकारी दिनुभयोे ।

प्रतियोगिता हुनुअघि आयोजित उदघाटन समारोहमा कार्यक्रमकी प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले खेल क्षेत्रको विकासका लागि पालिकाले योजनावद्ध रुपमा काम अघि बढाएको बताउनुभयो ।

उपमहानगरले अहिले खेललाई उच्च प्राथमिकता दिएको भन्दै खेललाई स्वास्थ्यसँग मात्र नभई शिक्षा, पर्यटन, अनुशासन र विकृति न्यूनीकरणसँग जोडेर अघि बढेको हुँदा यसबाट स्वस्थ र सभ्य नागरिक उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समय खेलकुदको विकासमा राज्यको लगानी थपिँदै गएको भन्दै नेपालमा खेलकुदको वातावरण निर्माण हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालले राम्रो नतिजा हासिल गरिरहेको उहाँको भनाई थियो । स्थानीय सरकारका रुपमा रहेको घोराहीले पनि एक वडा एक खेल मैदानको अवधारणालाई सार्थक बनाउन नगर स्तरीय खेलकुद विकास समितिमार्फत काम अघि बढाएको बताउनुभयो ।

खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतमा भएको प्रतियोगितामा सामाजिक विकास समिति संयोजक एवम् नगरप्रवक्ता राममणि पाण्डेले घोराहीका राष्ट्रिय मान्यता प्राप्त सबै प्रकारका खेलकुदको विकासका लागि पालिकाले खेलकुद विकास समितिमार्फत प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । घोराही १४ का वडा अध्यक्ष भानसिं बुढाले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि खेलकुदको महत्व हुने बताउनुभयो ।

खेलकुद विकास समिति सदस्य केशव थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रको सहजीकरण प्रतियोगिता संयोजक श्रवणकुमार खनालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad