Ad Area

मह उत्पादनभन्दा बजारीकरणमा समस्या


दाङ, २९ भदौ । दाङमा मौरीपालक व्यवसायीले मह उत्पादनमा अनुदानसँगै बजारीकरणमा एकद्वार प्रणाली लागु गनु पर्नेमा जोड दिएका छन् । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायलाई धारासायी बनाउने भएकाले जिल्लामा उत्पादन हुने महको एकद्वार प्रणालीबाट बिक्री गर्नु पर्नेमा जोड दिएका हुन् ।

नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङको १४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मौरीपालक व्यवसायी हिराबहादुर बहकरीले व्यवसायीसँगै व्यवसाय बचाउन एकद्वार प्रणाली लागु गर्नु पर्ने बताए । मह उत्पादन भए पनि बिक्री नहुँदा व्यवसायी समस्यामा पर्ने गरेको भन्दै मह व्यवसायमा देखिएको समस्या अन्त्यसँगै व्यवसायीलाई बचाउन एकै ठाउँबाट एउटै रेटमा बिक्रीको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

‘व्यक्तिले फरक–फरक रूपमा बिक्री गर्दा कसैको बिक्री हुने, कसैको बिक्री नभएर व्यवसाय डुब्ने अवस्था देखियो, मनोमानी तवरले बिक्री गर्दा समस्या देखियो’, देउराली सहकारी संस्थाका अध्यक्ष समेत रहेका बहकरीले भने, ‘यसलाई रोक्न जिल्लामा उत्पादन भएको मह एकै ठाउँबाट बिक्री गर्ने व्यवस्था गरिनु पर्छ ।’ मह सहकारीबाट बिक्री गर्न सकिने र त्यसको समन्वय मौरीपालक महासंघले गर्नु पर्ने उनले बताए । कृषि व्यवसायमा बढ्दो विषादी प्रयोग गर्नाले मौरीपालन व्यवसायमा समस्या देखिएको भन्दै तरकारीमा प्रयोग हुने विषादीलाई नियन्त्रण गर्न सम्बन्धि निकायसँग माग गरे ।

कार्यक्रममा नेपाल मौरीपालक महासंघका लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्माले व्यावसायिक एकता आवश्यक रहेको बताए । पछिल्लो समय जिल्लामा व्यवसायीलाई मह उत्पादनभन्दा बिक्री गर्न समस्या भएको भन्दै प्रदेश अध्यक्ष शर्माले नयाँ बजारको खोजी गर्न आवश्यक रहेको बताए । उत्पादन भएको महको बजारीकरणका लागि बुटवलमा प्रदेशस्तरीय बिक्री केन्द्र स्थापना गर्ने तयारी भइरहेको भन्दै अध्यक्ष शर्माले भने, ‘ठुला बजारमा महको प्रचारप्रसार गर्न सकियो भने बिक्रीमा सहयोग पुग्ने अपेक्षा छ ।’ त्यसका लागि सरकारबाट सहयोगसँगै व्यावसायिक एकता आवश्यक रहेको शर्माको भनाइ थियो ।

दाङ मौरीपालन र मह उत्पादनका हिसाबले उर्वरभूमि भएको भन्दै कृषि ज्ञान केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत पिताम्वर बस्नेतले गुणस्तरीय मह उत्पादन र बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताए । व्यवसाय व्यवस्थित गर्दै उत्पादनको बजारीकरणमा ध्यान दिन सके मौरीपालन व्यवसाय भरपर्दो र राम्रो आम्दानी लिन सकिने कृषि व्यवसाय रहेको उनले बताए । ‘मौरीपालन व्यवसाय अन्य जस्तो घाटाको व्यवसाय होइन, यसबाट किसानले राम्रै आम्दानी लिन सक्नुहुन्छ, त्यसका लागि व्यावसायिक एकतासँगै एकद्वार प्रणालीबाट बिक्री गर्न आश्यक छ’, बरिष्ठ बाली संरक्षण अधिकृत बस्नेतले भने ।

व्यवसायीले नाफा खोज्ने तर गुणस्तरीय उत्पादन, प्रचारप्रसारसँगै बिक्रीमा ध्यान नदिँदा समस्या हुने गरेको बताए । व्यवस्थित महको बजारका लागि जिल्लामा मौरीपालक किसान र मौरीको गोलाको सङ्ख्या, उत्पादन परिणामसँगै स्टक रहेको महको परिमाण आवश्यक रहेको भन्दै त्यसको व्यवस्थापन भए बजारीकरणमा सहयोग गर्न सकिने बताए । उनले मौरी स्रोत केन्द्र स्थापनाका लागि समेत पहल गर्न आवश्यक रहेको बताए ।

Blog Post Ad

कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि अधिकृत पृथुमान चौधरीले मौरीपालनका लागि दाङ अत्यन्त उर्वर भूमि रहेको भन्दै व्यवसायीले मौरीपालन, मह उत्पादनसँगै चरनका लागि क्षेत्र विस्तारमा ध्यान दिनु पर्ने बताए ।

नेपाल मौरीपालन महासंघ जिल्ला शाखा दाङका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मौरी जोन कार्यक्रम दाङका देवलाल खड्का, मौरीपालन व्यवसायी भीमकान्त देवकोटालगायतले मौरीपालन व्यवसायीका लागि उत्पादनमा अनुदानसँगै महको बजारीकरण, किसानबिचको समन्वय, मौरीको चरनका लागि समन्वय गर्नु पर्ने र मौरीपालनका लागि आवश्यक उपकरण पर्याप्त मात्रमा उपलब्ध हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सचिव किशोर पाण्डेयले प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्र आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सरस्वती सुवेदीले गरेकी थिइन् ।

नयाँ नेतृत्व चयन

यसैबिच नेपाल मौरीपालक महासंघ दाङको अध्यक्षमा दिनेश वली चयन भएका छन् । महासंघ दाङको शुक्रवार भएको १४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले वलीको नेतृत्वमा आगामी तीनवर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा पञ्चराम नेपाली, सचिवमा सरस्वती सुवेदी, कोषाध्यक्षमा देवीराम पोख्रेल सर्वसम्मत चयन भएका छन । यसैगरी सदस्यमा देवा भण्डारी, रेशम खनाल, विष्णुप्रसाद पौडेल, पूर्णचन्द्र भण्डारी, विष्णु जिसी, बामदेव भट्टराई र चुर्णबहादुर वली चयन भएका छन् ।

Blog Post Ad Blog Post Ad