Ad Area

बजेट अभावले सेवार खोलामा पुलको काम अलपत्र हुने संकेत


घोराही, ३० भदौ । खोलाको बीच भागमा पुलका लागि पिलर बन्दैछ । जमीन मुनिको भाग तयार भईसकेको छ । माथिको भाग उठाउन छड बाँधेर गुजुण्टो पारिएको छ । खोलाका दुई किनार यत्तिकै छन् । सेवार खोलको बीच भागमा निर्माणाधीन पुल बनाउने मानिस भने देखिदैनन् । किनभने दाङको घोराही–तुलसीपुर खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १६ सेवारखोलामा निर्माणाधीन पुलको काम अहिले रोकिएको छ । बर्खाका कारण रोकिएको धेरैले अडकल काटे पनि यो काम बजेट अभावका कारण रोकिएको छ ।

२०८१ जेठको पहिलो साताबाट सेवार खोला पुन निर्माणको काम थालनी गरेको  निर्माण कम्पनीले डाईभर्सन नबनाएर काम गरेपछि अहिले सवारी आवागमन समेत प्रभावित भएको छ । निर्माण कम्पनीले कामको थालनी गरेपछि सरोकार निकायसँग समन्वय नगरेको, डाईभर्सन नबनाएर काम गर्दा क्षति भएको भन्दै चौतर्फी आवाज उठी रहेका बेला अहिले आएर उक्त पुन निर्माणका लागि बजेट अभाव भएको भन्दै काम नै रोकिएको छ ।
पुलको काम अहिलेसम्म भौतिक प्रगति १५ प्रतिशत भएको छ ।

२०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८० वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँसँग सम्झौता भएको छ । सम्झौता अनुसार काम अघि बढाएको निर्माण कम्पनीले मोबिलाईजेशन वापतको ३ करोडको बिल बनाएर पेश गर्दा बजेट अभाव भन्दै भुक्तानी पाएको छैन । यति मात्रै होईन, २३ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणका लागि यो वर्ष जम्मा १ करोड रुपैयाँ मात्रै निकासा भएको छ ।

सम्झौता अनुसार निर्माण कम्पनीले पुल डिजाइनको काम सकेर पूर्वाधार निर्माणको काम सुरु गरे पनि अबको काम हुने नहुने भन्ने अन्यौलता देखिएको छ ।

पुल सेक्टर कार्यालय नेपालगंज बाँकेका इन्जिनियर उपेन्द्र दासका  अनुसार पुल चार लेनमा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको रहने गरी बनाउन थालिएको हो ।

निर्माण कम्पनीले पेक्सी बाफतको एक करोड रुपैयाँ प्राप्त गरेपनि गत आर्थिक वर्षमा काम गरेको भुक्तानी पाउन सकेको छैन । ‘निर्माण कम्पनीले पेक्सीबाफत पाउनुपर्ने रकम बुझेको छ तर गतवर्ष काम गरेको तीन करोड रुपैयाँ पाउन सकेको छैन’, इन्जिनियर दासले भन्नुभयो ‘यो वर्ष पनि एक करोड मात्र बजेट बिनियोजन भएकाले काममा ढिलाई हुने देखिन्छ । यही अवस्था रहे केही भन्न सकिँदैन । बजेट सुनिश्चित नहुँदा अनि गत वर्षको ३ करोडको बिल रकम भुक्तानी बाँकी छ ।’

Blog Post Ad

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवारखोलामा पुल नहुँदा पानी पर्दा सवारी आवागमनमा समस्या हुने गरेको थियो । पुल निर्माण भएपछि घोराही–तुलसीपुर सडकखण्डमा चल्ने सवारीसाधनलाई सहजता हुने अपेक्षा गरिए पनि निर्माण कार्य थालनी भएको ३ महिनामै बजेट अभाव हुन थालेपछि नागरिकले फेरी सास्ती भोग्नुपर्ने अवस्था देखा परेको छ । निर्माण कम्पनीको निर्माण सामग्री साईट मै रहेको छ । तर, कम्पनीका जिम्मेवार व्यक्ति अहिले सम्पर्कमा छैनन् । काम गर्ने आधार नदेखिएपछि निर्माण कम्पनी अहिले सम्पर्कमा नरहेको बताईएको छ ।  घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत सेवार खोला, हापुर खोला र कालाखोलामा पनि पुल निर्माण हुन बाँकी छ ।

Blog Post Ad Blog Post Ad