Ad Area

दाङ क्रिकेटको भविष्य सुनिश्चित गर्न सामुहिक प्रयास आवश्यक-सचिव राेका मगर


घोराही, २९ भदौ । लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले दाङको क्रिकेटको विकासका लागि सामुहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्षका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा शनिबार घोराहीमा भएको पाँचौँ वार्षिक साधारणसभा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रदेश सचिव रोका मगरले विगतको तुलनामा दाङमा क्रिकेटको पूर्वाधार विकास राम्रो भईसकेको भन्दै अब यसको उचित प्रयोगसँगै खेलाडी उत्पादनमा ध्यान दिन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

‘हिजोको जस्तो वातावरण सहज छैन । पदमा बसेर अरुको भरपर्ने काम भयो भने दाङ क्रिकेट संघलाई अघि बढाउन कठिन छ । यसका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्न ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ‘अहिले बनेको क्रिकेट पूर्वाधारको अधिकतम प्रयोग गरेर खेलाडी उत्पादन गर्न लाग्नुपर्छ ।’

जिल्लाले क्रिकेट संघको केन्द्रीय सदस्य, प्रदेश सचिव पाएको अवस्थामा दाङ क्रिकेटको विकासका लागि अब ढिलाई गर्न नहुने उहाँको भनाई थियो । क्यानले इतिहासमै पहिलो पटक एसीसी १९ वर्ष मुनिको महिला क्रिकेट वर्ड कप एशिया क्वालिफायर प्रतियोगिताका लागि दाङको लमही क्रिकेट रंगशालामा बन्द प्रशिक्षण आयोजनाको अवसर पाउनु दाङका लागि गौरवको विषय भएको बताउनुभयो ।

‘यो अवसर प्राप्त गर्नुमा दाङ जिल्ला क्रिकेट संघले गरेको प्रयासले भएको उहाँको भनाई थियो । यसमा मेरो र प्रदेश कमिटीको कुनै हात छैन । प्रदीप जीले गरेको समन्वय र विश्वासले दाङमा यो अवसर आएको छ । हामीले क्रिकेटको व्यावसायिक विकासका लागि अरु यस्ता थुप्रै काम गर्न सक्ने आधार तयार भएको छ’ उहाँले भन्नुभयो ‘अब मात्रै हामीमा मनैदेखि इच्छाशक्ति चाहिएको छ । अरुले गरिदेला भनेर बस्ने हो भने अरु जिल्लाले अवसर खोसेर लैजान्छ । छिमेकी जिल्लामा क्रिकेटको वातावरण राम्रो भईरहेका बेला दाङले खेलकुदका गतिविधिसँगै खेलाडी उत्पादनमा ध्यान दिन जरुरी छ ।’

Blog Post Ad

कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट संघका निवर्तमान सदस्य किशोरचन्द्र गौतमले दाङको क्रिकेटलाई विश्वसामु चिनाउन संघले आफ्ना क्रियाकलापलाई थप शसक्त बनाउदै लैजानुपर्ने बताउनुभएको थियो । जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यले हालै भएको विश्वकपमा व्यवस्थापकका रुपमा सहभागीता जनाउनु दाङका लागि गौरवको विषय भएको उहाँले बताउनुभयो । अग्रजले गरेको योगदानको कदर गर्दै नयाँ पुस्तालाई क्रिकेटसँग जोड्ने दीर्घकालीन योजना कार्यान्वयन गर्न ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

जिल्ला क्रिकेट संघका सल्लाहकार रिन्जनराज भण्डारीले दाङमा क्रिकेटको वातावरण राम्रो बन्दै गएको हुँदा क्रिकेटको महत्व विद्यालय तहबाट बुझाउने अभियान व्यापक बनाउन सुझाव दिनुभयो ।

साधारण सभामा दाङ जिल्ला क्रिकेट संघले एक भरी गरेका प्रमुख गतिविधिहरुको समीक्षा गरेको थियो । जसअन्तरगत दाङ भ्याकेसन लिग २०८० जारी रहेको, लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता, दाङ कर्णाली सिरिज २०८०, दाङ क्रिकेट लिग सिजन–२, क्रिकेट एम्पायरिङ एन्ड स्कोरिङ प्रोग्राम, बबई टि–२० क्रिकेट प्रतियोगिता २०८०, दाङ सिनियर पुरुष बन्द प्रशिक्षण, दाङ युथ १६ पुरुषबन्द प्रशिक्षण, दाङ महिला सिनियर बन्द प्रशिक्षण, दाङ युथ– १९ महिला बन्द प्रशिक्षण र प्रधानमन्त्री कपमा प्रदेश प्रथम महिला खेलाडीहरुलाई सम्मान तथा जिल्ला बाहिर भएका थुप्रै क्रिकेट गतिविधिमा जिल्लाबाट खेलाडी सहभागी भएको कार्यक्रम लगायत क्रिकेट सम्बन्धी गतिविधि र कार्यक्रम भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, आगामी दिनमा जिल्लामा क्रिकेटका गतिविधि चलायमान बनाउन गर्न सकिने कार्यक्रम बारे पनि वृहत छलफल भएको थियो । कोषाध्यक्ष बालकृष्ण खत्रीले पनि गत वर्ष भर भएका आर्थिक क्रियाकलापको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा संस्थाका सचिव सचिव सन्जु केसीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष खत्रीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारण सभाको बन्दसत्रले पारित गरेको छ । संघका उपाध्यक्ष किशोर घर्ती मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सन्जु केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad