Ad Area

ट्रमा सेन्टरको भौतिक प्रगति ७२ प्रतिशत, चैतसम्म सक्ने तयारी


दाङ, १ असोज । देउखुरीको लमहीमा निर्माणाधीन अवस्थामा रहेको ट्रमा सेन्टर निर्माणको कामले पछिल्लो समय गति लिएको छ । जग्गाको स्वामित्व तथा निर्माण स्थलमा भएका रुख हटाउनेलगायतका विवादका कारण लामो समयसम्म काममा ढिलाइ भइरहेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा निर्माण सक्नु पर्ने अवधिसम्म ४० प्रतिशत मात्र काम भएको थियो ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको ट्रमा सेन्टर २०८० असार २३ गतेभित्र निर्माण सक्र्ने गरी २०७७ फागुन २८ गते लामा एन्ड गौरी शङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । सक्नु पर्ने समयमा ४० प्रतिशत मात्रै काम सम्पन्न गरेको निर्माण कम्पनीले पछिल्लो समय भौतिक प्रगति देखिने गरी काम गरेको सहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी प्रेमप्रकाश खड्काले जानकारी दिएका छन् ।

पूर्व–पश्चिम राजमार्ग केन्द्रित दुर्घटनाका घाइतेको उपचारमा सहज ल्याउने गरी लमही नगरपालिका–४ मा निर्माणा हुन थालेको ५० श्ययाको ट्रमा सेन्टर निर्माणको अहिले ७० देखि ७२ प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारी खड्काले बताए । निर्माणका क्रममा कुनै प्राविधिक समस्या नदेखिए म्याद थप गरेको २०८१ चैत्र मसान्तभित्र काम सक्ने अवस्था देखिएको उनी बताउँछन् । पछिल्लो समय निर्माण कम्पनीले राम्रोसँग काम गरेको भन्दै सूचना अधिकारी खड्काले भने, ‘सुरुमा काममा ढिलाइ भए पनि अहिले ट्रमा सेन्टर निर्माणको कामले गति लिएको छ, यही गतिमा काम भए म्याद थप गरेको समयमा निर्माण सकिने देखिन्छ ।’

उनका अनुसार ट्रमा सेन्टरको प्लास्टर गर्नेदेखि भवनमा टायल लगाउने, विद्युत जडान र प्लम्बिङलगायतको फिनिसिङको काम बाँकी रहेको छ । ‘ट्रमा सेन्टरको भवन बनाउने मुख्य काम लगभग ७० देखि ७२ प्रतिशत पूरा भइसकेको छ’, सूचना अधिकारी खड्काले भने, ‘निर्माणको क्रममा कुनै समस्या नभए सम्झौता मितिमै सकिने देखिन्छ ।’

ट्रमा सेन्टरको भवन निर्माणका लागि भ्याटबाहेक १९ करोड ४१ लाख चार हजार १४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माणका लागि जग्गा खाली गराउने, त्यसपछि कोरोना सङ्क्रमण र निर्माण स्थलमा भएका रुखहरू डिभिजन वन कार्यालयले व्यवस्थापनमा ढिलाइ गर्दा ट्रमा सेन्टर निर्माणको काममा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङ बताउँछन् । वनसँगको विवादका कारण लामो सयमसम्म निर्माणमा समस्या भए पनि अहिले कामले गति लिएको बताए ।

‘ट्रमा सेन्टर निर्माणका लागि सुरुमा जग्गा खाली गराउनेदेखि उक्त ठाउँमा भएका रुख हटाउने र त्यस लगत्तै कोरोना सङ्क्रमण भएकाले भवन निर्माणमा समस्या भएको थियो, त्यसैले भवन निर्माणमा केही ढिलाइ पनि भयो’, निर्माण कम्पनीका प्रतिनिधि तामाङले भने, ‘अहिले त्यस्ता समस्या छैनन् र भवन निर्माणको कामले पनि गति लिएको छ ।’ भवन निर्माण क्षेत्रमा भएका रुख हटाउन डिभिजन वन कार्यालयले टाँचा हान्ने काम गरिसकेकाले ती रुख छिट्टै हटाउने बताए ।

Blog Post Ad

अहिले ट्रमा सेन्टर निर्माणको कामले गति लिएको र दसैँ अघि नै ट्रमा सेन्टर निर्माणको काम सक्ने गरी तयारीमा लागेको निर्माण कम्पनीका प्रतिनिधि तामाङ बताउँछन् । ‘ट्रमा सेन्टरको काम दसैँ अघि नै सक्ने गरी तयारीमा जुटेका छौँ’, प्रतिनिधि तामाङले भने, ‘ट्रमा सेन्टरको मुख्य काम सकेपछि अन्य पूर्वाधार निर्माणमा लाग्ने छौँ ।’ उनका अनुसार चार तलाको ट्रमा सेन्टर निर्माणको काम सकिएपछि डाक्टर क्वाटर, नर्सिङ क्वाटर, चमेनागृह सहित शौचालय निर्माण हुने छ । ट्रमा सेन्टर निर्माणका लागि गत चैत महिनादेखिको रकम पाउन नसकेको समेत उनी बताउँछन् । उनका अनुसार करिब २२ कट्ठा जग्गामा प्रदेश ट्रमा सेन्टर निर्माणको काम भइरहेको छ । उक्त जग्गा वन क्षेत्रमा पर्ने भन्दै ट्रमा सेन्टर निर्माणको काम अघि बढ्न नसकेपछि प्रदेश सरकारले वनको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्तिको प्रक्रिया थालेपछि निर्माणको काम सुरु भएको थियो ।

ट्रमा सेन्टर निर्माण भएपछि हाडजोर्नी विशेषज्ञ डाक्टर, न्यूरो सर्जन, जनरल सर्जन, एनेस्थेसियासहित नर्सिङ र पारामेडिक्स टिमले कम गर्ने व्यवस्था गरिएको छ । ट्रमा सेन्टर निर्माणका लागि हालसम्म ११ करोड ७३ लाख ६६ हजार छ सय ६१ रुपैयाँ खर्च भएको सहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी खड्काले जानकारी दिएका छन् ।

कोरोना, रुखलगायत पछिल्लो समय बजेट अभावका कारण पनि काममा केही ढिलाइ भएको भन्दै सूचना अधिकारी खड्काले भने, ‘ट्रमा सेन्टर निर्माणका क्रममा वनका रुख, कोरोना सङ्क्रमणसँगै पछिल्लो समय बजेट अभाव पनि समस्याका रूपमा देखिएको थियो तर अहिले ती सम्पूर्ण समस्या लगभग हटिसकेका छन् ।’ ट्रमा सेन्टर निर्माणको काम २०७८ वैशाख १ गतेदेखि सुरु भएको थियो ।

Blog Post Ad Blog Post Ad