Ad Area

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका चौथो वर्षपनि ‘अब्बल’ घोषित


घोराही, १ असोज । स्वास्थ्य क्षेत्रका गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिकामध्ये राप्ती गाउँपालिका यो वर्ष पनि उत्कृष्ट घोषित भएको छ ।

स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा अरु पालिकामध्ये सबै भन्दा राम्रो भएको आधारमा सोमबार एक कार्यक्रमका बीच पहिलो भएको घोषणा गर्दै प्रमाण–पत्र प्रदान गरिएको छ ।

गत आर्थिक वर्ष २०८०–०८१ मा पालिकाहरुमा संचालित जनस्वास्थ्य सम्बन्धि कार्यक्रम एवम् मुख्य–मुख्य सूचकहरुको आधारमा मुल्यांकन गरिएको हो ।
खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित विभिन्न २६ वटा सूचकलाई आधार बनाएर गरेको कामको उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य शाहीले जानकारी दिनुभयो । राप्ती गाउँपालिकाले सूचकको आधारमा ६८ दशमलव ३५ प्रतिशत नम्बर हासिल गर्दै प्रथम हुँदा बबई गाउँपालिका सबैभन्दा पुछारमा परेको प्रदेश स्वास्थ्य निर्देशनालयका डा। अच्युथ शर्माले घोषणा गर्नुभयो ।

यसैगरी, जिल्लाको घोराही उपमहानगरपालिका ६७ दशमदव ३८ प्रतिशत नम्बर हासिल गर्दै दोस्रो भएको छ । जिल्लाको दंगीशरण गाउँपालिका ६६ दशमलव १९ प्रतिशत नम्बर हासिल गर्दै तेस्रो भएको छ । दंगीशरण गाउँपालिकाले अघिल्लो वर्ष आठौँ स्थानबाट पाँच स्थान व्यापक सुधार गर्दै तेश्रो स्थानमा पुगेको छ । गढवा गाउँपालिका ६६ दशमलव १३ प्रतिशत नम्बर हासिल गर्दै यो पटक पनि यथावत रहँदै चौथो हुँदा तुलसीपुर उपमहानगरपालिका ६५ दशमलव ११ प्रतिशत नम्बर हासिल गरेर पाँचौँ भएको छ ।

जिल्लाको लमही नगरपालिका ६४ दशमलव ७२ प्रतिशत नम्बर प्राप्त गरेर छैठाँै हुँदा शान्तिनगर गाउँपालिका ६२ दशमलव ४९ प्रतिशत नम्बर हासिल गरेर सातौँ स्थानमा परेको छ । जिल्लाको राजपुर गाउँपालिका ६१ दशमलव ०४ प्रतिशत नम्बर प्राप्त गरेर आठौँ स्थानमा रहँदा बंगलाचुली गाउँपालिका ६० दशमलव ३३ प्रतिशत नम्बर हासिल गरेर नवौँ स्थानमा पुगेको छ । १० पालिकामध्ये स्वास्थ्यको सूचकमा सबैभन्दा कमजोर बबई गाउँपालिका देखिएको छ । बबईले २६ वटै सूचकबाट ५५ दशमलव ९० प्रतिशत नम्बर प्राप्त गर्दै दशौँ नम्बरमा परेको छ ।

अघिल्लो वर्ष २०७९–०८०मा पनि राप्ती गाउँपालिका पहिलो हुँदा घोराही पनि दोस्रो स्थानमा रहेको थियो । यसैगरी, तेस्रोमा शान्तिनगर गाउँपालिका, चौथोमा गढवा गाउँपालिका, पाँचौँमा बंगलाचुली गाउँपालिका, छैठाँैमा लमही नगरपालिका, सातौँमा तुलसीपुर उपमहानगरपालिका, आठौँमा दंगीशरण गाउँपालिका, नवौँमा बबई गाउँपालिका र दशौँ स्थानमा राजपुर गाउँपालिका रहेको थियो ।

Blog Post Ad

यसअघि आर्थिक वर्ष २०७८–०७९ मा पनि राप्ती गाउँपालिका प्रथम, गढवा गाउँपालिका दोश्रो, तुलसीपुर उपमहानगरपालिका तेश्रो र बंगलाचुली गाउँपालिका चौथो भएको थियो । यसैगरी, पाँचौँमा राजपुर गाउँपालिका, छैठौँमा घोराही उपमहानगरपालिका, सातौँमा शान्तिनगर गाउँपालिका, आठौँमा लमही नगरपालिका, नवौँमा बबई गाउँपालिका र अन्तिम अर्थात दशौँमा दंगीशरण गाउँपालिका रहेको थियो ।

कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए । वार्षिक समिक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतिलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको हो ।कार्यक्रममा सबै पालिकाहरुलाई जनस्वास्थ्यका क्षेत्रमा गरेको काम र योगदानको मुल्यांकन गरेर प्रमाण पत्र प्रदान गरिएको छ । समापनका अवसरमा जिल्ला समन्वय समिति प्रमुख शर्माले स्वास्थ्य क्षेत्रमा चिकित्सक, स्वास्थ्य स्वयम्सेविका, राष्ट्र सेवक कर्मचारीमा ठुलो जिम्मेवारी रहेपनि यसमा जनप्रतिनिधिको भुमिका पनि उत्तिकै हुने बताउनुभयो । ‘स्वास्थ्यमा सुधार हुँदै गएको छ । तर, लक्ष्य पूरा हुन सकेको छैन । यसका लागि हामीले धेरै गनुपर्ने हुन्छ’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा सुधार गर्न अझ धेरै गर्नुपर्छ भन्ने मैले महसुश गरेको छु । यसमा सबै जनप्रतिनिधिले पनि जिम्मेवारी लिनु आवश्यक छ ।’

उहाँले स्वास्थ्यमा सुधार भए मात्रै आर्थिक सुधार सम्भव हुने बताउँदै शारीरिक, मानसिक रुपमा स्वस्थ भए मात्रै परिवार समृद्ध बन्न सक्ने बताउनुभयो । ‘परिवारमा एक जना अस्वस्थ भए सिंगो परिवार तनावमा हुन्छ, त्यस्तै देशका नागरिक अस्वस्थ भए देशको अर्थतन्त्रमा असर गर्छ । परेपछि मात्रै उपचार गर्ने परिपाटीले पनि समस्या ल्याएको छ’ उहाँले भन्नुभयो, ‘स्वास्थयमा सुधार ल्याउन हरेक नागरिकलाई स्वास्थ्य सचेतना बढाउनु पर्छ ।’

स्वास्थ्यमा गरिएको लगानी खर्च होईन, पूँजी हो भन्ने बुझ्न जरुरी रहेको बताउँदै उहाँले दाङको स्वास्थ्यमा सुधार ल्याउन साझेदार स्वास्थ्य संस्थाले ठुलो भुमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लालाई स्वास्थ्यमा सबल बनाउँदै प्रदेशमा प्रथम बन्नुपर्छ भन्ने मान्यताका साथ काम गर्नुपर्ने छ, प्रदेश राजधानीको पालिकाले जिल्लामा स्वास्थ्य क्षेत्रमा उत्कृष्टता प्रस्तुत गरेकोमा यो पटक पनि बधाई दिन चाहन्छु, अरु पालिकाहरुले पनि स्वास्थ्यमा सुधार गर्न थप मेहनत गर्नुपर्छ भन्ने सिकाएको छ ।’

अहिले समुदायमा सर्ने भन्दा नसर्ने रोगको अवस्था विकराल बन्दै गएकाले स्वास्थ्य क्षेत्रका जिम्मेवार निकायले अनुसन्धान गर्न अति आवश्यक भएको उहाँको भनाई थियो । कार्यक्रममा प्रदेश स्वास्थ निर्देशनालयका डा। अच्युत शर्माले स्वास्थ्यका क्षेत्रमा थुप्रै समस्या हुनुमा सिमित श्रोत साधनले प्रमुख कारक रहेको बताउनुभयो । तर, यसले अवसर पनि ल्याएको उहाँको भनाई थियो । उहाँले स्थानीय सरकारले यसलाई अवसरका रुपमा लिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वस्थ नागरिक उत्पादन गर्ने काममा स्थानीय सरकार अग्रसर हुनुपर्छ, यसका लागि सबै पक्षको पैरवी अझ हुनु आवश्यक छ ।’

उहाँले उपचारात्मक, निरोधात्मक र सचेतनात्मक पद्धतिबाट मात्रै स्वास्थ्यमा प्रगति सम्भव नहुने बताउँदै त्यसका लागि उपचारभन्दा रोग लाग्न नदिने गरि अभियान र योजना बनाउनुपने बताउनुभयो । कार्यक्रममा जिल्लाभरका स्वास्थ्य शाखाहरुले स्वास्थ्यका क्षेत्रमा भएका काम र चुनौतिका बारेमा दुई दिनसम्म जानकारी गराएका थिए । स्वास्थ्यका सुचकमा सुधार गर्न धेरै मेहनत गर्नुपर्ने भएकाले एकापसमा समन्वय गर्दै अघि बढ्नुपर्ने पनि उनीहरुको ठहर रहेको थियो । दुई दिने जिल्ला स्तरीय समिक्षा गोष्ठीसँगै अब प्रदेश स्तरीय स्वास्थ्य समिक्षा गोष्ठी हुनेछ ।

Blog Post Ad Blog Post Ad