Ad Area

यु–१९ महिला एशिया क्वालिफायरका लागि पहिलाे पटक लमहीमा बन्द प्रशिक्षण शुरु


घोराही, ३१ भदौ । आइसीसी यु–१९ महिला क्रिकेट वल्र्ड कप एशिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको प्रथम चरणको बन्द प्रशिक्षण दाङको लमहीमा सोमबारबाट शुरु भएको छ । आगामी नोभेम्बर ६ तारिखदेखि युएईमा हुने एशिया क्वालिफायर प्रतियोगिताका लागि तयारी स्वरुप लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बन्द प्रशिक्षण शुरु भएको हो ।

क्यानको आयोजना प्रदेश क्रिकेट समन्वय तथा जिल्ला क्रिकेटको सहकार्यमा शुरु भएको बन्द प्रशिक्षणमा १५ देखि १९ वर्ष मुनिका सात वटै प्रदेशबाट छनोट भई आएका २९ महिला क्रिकेट खेलाडी रहेका छन् । बन्द प्रशिक्षणमा सिनियर टीमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका तथा उमेर समुहबाट विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समावेश भएकाले नेपालबाट बलियो टीम बन्ने अपेक्षा गरिएको छ ।

२९ जना सहभागी बन्द प्रशिक्षण लमहीमा १५ दिनसम्म चल्नेछ । बन्द प्रशिक्षणपछि आन्तरिक प्रतिष्पर्धा गराउँदै अर्को चरणको १७ जनाको टिम तयार पार्ने लक्ष्य राखिएको छ । एशिया क्वालिफायर खेल्ने अन्तिम १४ खेलाडीको टुंगो लगाउन अर्को चरणमा पनि प्रशिक्षण हुनेछ ।

पहिलो चरणको बन्द प्रशिक्षणको लमही नगर पालिकाका प्रमुख जोगराज चौधरीले उदघाटन गर्नुभएको छ । सो अवसरमा नगरप्रमुख चौधरीले दाङमा क्रिकेट संघ नेपाल क्यानले पहिलो पटक यस प्रकारको खेल आयोजना गरेर यहाँको क्रिकेट विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लमही क्रिकेट रंगशालामा राष्ट्रिय स्तरको बन्द प्रशिक्षणको कार्यक्रमसँगै अब अरु प्रतियोगिता पनि गर्ने वातावरण बनेको हुँदा यसतर्फ क्यानले ध्यान दिनुपर्ने बताउनुभयो ।

Blog Post Ad

दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले महिला क्रिकेटमा नयाँ पुस्ताको आवकर्षण लोभलाग्दो रहेको बताउनुभयो । उहाँले नेपालको क्रिकेट विकासमा महिला टीमले पछिल्लो समय खेल्दै आएको भूमिका स्मरण योग्य रहेको भन्दै बन्द प्रशिक्षणमार्फत बन्ने नयाँ टीमले पनि नेपालको नाम विश्वमा चिनाउन सक्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो ।

बन्द प्रशिक्षणका क्रममा कुनै समस्या भएका लमही नगरपालिकालाई तत्काल जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले दाङमा यस प्रकारको कार्यक्रमले स्थानीय क्रिकेट खेलाडीमा थप हौसला थप्ने काम गरेको बताउनुभयो ।

क्रिकेटको जग बलियो बनाउन क्यानले केन्द्रदेखि जिल्ला तहसम्म पछिल्लो समय क्रिकेट गतिविधि लैजाने काम गरेको भन्दै यसबाट नेपालको १९ वर्ष मुनिको बलियो नयाँ टीम बन्ने विश्वास व्यक्त गर्नुभयो ।

बन्द प्रशिक्षणमा परेका खेलाडीलाई पाएको अवसरलाई खेर जान नदिने गरी मन, वचन र कर्मले खेलमा ध्यान दिन तथा लक्ष्य प्राप्तिमा केन्द्रित हुन सुझाव दिनुभयो ।

युएईमा नोभम्बर ६ देखि १४ तारिखसम्म एशिया क्षेत्रबाट नेपालसहित थाईल्याण्ड, युएई, कुवेत खेल्दै छन् । राउन्ड रोविनका आधारमा उत्कृष्ट हुने टीमले २०२७ मा बंगलादेश र नेपालको आयोजनामा हुने विश्व कप लिन पाउने छ । एशिया क्षेत्रबाट क्वालिफायर खेल्न लागेको नेपालका लागि १९ वर्ष मुनिको विश्वकप खेल्ने सुनौलो अवसर पनि हो ।

यसका लागि अहिले १५ देखि १९ वर्षसम्मका खेलाडी समावेश गरेर बन्द प्रशिक्षण गराईरहेको मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिनुभयो । यो टीमले एशिया कप क्वालिफायर जित्ने विश्वासका साथ बन्द प्रशिक्षणमा उत्रिएको उहाँले बताउनुभयो ।

मुख्य प्रशिक्षक रिजालसँगै सहायक प्रशिक्षकमा सन्जु केसी र जानकी भट्ट रहनुभएको छ । यसैगरी, फिजियोमा कमला चौधरी र अरु ट्रेनरहरु पनि सहभागी हुनुहुनेछ ।

दाङमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा इतिहासमै पहिलो पटक आयोजना हुनु दाङबासीको लागि गौरवको विषय भएको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले बताउनुभयो । यहाँबाट क्रिकेट खेलीरहेका तथा नयाँ पुस्ताका लागि क्रिकेट बुझ्ने र सिक्ने अवसर पनि भएको उहाँको भनाई छ । यस्तै अध्यक्ष मजगैयाले बन्द प्रशिक्षणमा सहभागी भएका महिला खेलाडीलाई नेपाललाई सुखद नतिजा दिने लक्ष्यका साथ प्रशिक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।

बन्द प्रशिक्षणमा सहभागी सिनियर टीमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सक्नुभएकी पूजा महतोले नेपालका लागि यो सुनौलो अवसर भएको बताउनुभयो । सबै क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेर बन्द प्रशिक्षणमा सहभागी भएको भन्दै १९ वर्ष मुनिको नयाँ टीम निकै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उदघाटन समारोहमा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सागर सुवेदी, वडा सदस्य केशव अधिकारी, देउखुरी क्रिकेट क्लवका कार्यवाहक अध्यक्ष प्रकाश जिसी, सदस्य पवन रिजाललगायत उपस्थित हुनुभएको थियो । दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती मगरले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण जिल्ला क्रिकेट संघका सचिव सञ्जु केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad