Ad Area

साहित्यकार शर्माको १९औँ कृति विमोचन


दाङ, ४ असोज । अधिकारी समाज क्षेत्रीय समिति दाङको आयोजनामा साहित्यकार पद्मप्रसाद शर्माको १९औँ कृति ‘ब्राह्मण राजा जसु र वंशधर (इतिहास)’ विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अधिकारी समाजका केन्द्रीय अध्यक्ष नारायणप्रासाद अधिकारीले समाजमा अधिकारीको उचाइ अझै उच्च भएको बताए ।

कार्यक्रममा अधिकारी समाजका केन्द्रीय पूर्व अध्यक्ष रमेशकुमार अधिकारी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, समाजसेवी ऋषिराज जङ्गली, नेपाल निवृत्त शिक्षक समाजका क्षेत्रीय अध्यक्ष खुमानन्द अधिकारी, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले भनाइ राखेका थिए । लेखक अधिकारीले विशिष्ट ओहदामा पुगेका व्यक्तिबारे जानकारी ल्याएर इतिहास लेखेको बताए । इतिहास खोज्दै जाँदा कतिपय स्थानमा आफैँ पुगेको र कति स्थानमा पुग्न नसकेको तथा कतिपय स्थानमा फोनबाट सोधपुछ गरेको शर्माले बताए ।

केन्द्रीय उपाध्यक्ष तथा प्युठानका पूर्व सभासद नारायणप्रसाद अधिकारी र खेमराज शर्माले कृतिको समीक्षा गरेका थिए । क्षेत्रीय अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य बालचन्द्र अधिकारीले गरेका थिए । यसअघि साहित्यकार शर्माका १८ वटा कृति प्रकाशन भइसकेका छन् ।

कृतिहरूमा हाम्रा सुसेलीहरू २०४९ गीतसङ्ग्रह सहप्रकाशन, ढिकपुरदेखि मेचीपुलसम्म २०५८ यात्रा संस्मरण निबन्ध, हुम्लाको झलक २०६० भूगोल इतिहास, राप्ती साहित्य परिषद्को इतिहास २०६० इतिहास, नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास २०६१ निबन्ध, शब्दको भेद र कार्यक्रमको स्वरूप २०६१ निबन्ध, उपहार २०६२ आत्मकथा, जनआन्दोलन भाग २ मा दङाली स्रष्टाको भूमिका २०६३ ईतिहास, पहलवानपुरदेखि तिलासम्म २०६५ यात्रा संस्मरण निबन्ध, तर पनि अचेत छौँ २०६७ यात्रा संस्मरण निबन्ध, जीवनको रहस्य २०७३ निबन्ध सङ्ग्रह, ढिकपुरदेखि अर्घाखाँचीसम्म २०७६ यात्रा संस्मरण, त्रिवेणी २०७७ यात्रा संस्मरण निबन्ध, उज्यालो पर्खिरहेको क्षितिज २०७८ कविता सङ्ग्रह, बाइस तारा २०७९ जीवनचरित, अधिकारी वंशधर नियाल्दा ईतिहास २०८१ र अठार थुँगा २०८१ रहेका छन् । अधिकारीले जन्मदिनको अवसरमा गुरु दामोदर अधिकारीलाई जम्मान गरेका थिए । शर्माका अन्य फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

Blog Post Ad Blog Post Ad