Ad Area

घोराहीमा कार्तिक र मंसिरमा हुने खेल तालिका र मिति तय


घोराही, ६ असोज । घोराही उपमहानगरपालिका अन्तरगतको नगर स्तरीय खेलकुद विकास समितिले कार्तिक र मंसिर महिनामा हुने खेल तालिका र मिति सार्वजनिक गरेको छ ।

वार्षिक खेलकुदका कार्यक्रम अनुसार तेक्वान्दो, कराँते, क्रिकेट, उपमेयर कप छात्रा भलिबल, बास्केट बल, बक्सिङसहित ६ वटा प्रतियोगिता आयोजना गर्न नगर स्तरीय खेलकुद विकास समितिले खेल मिति र स्थानसमेत तय गरेको हो ।

दशैँ तिहार लगत्तै हुने प्रतियोगिता अन्तरगत अन्तर वडा स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता कार्तिक २४ गते शनिबारदेखि घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा हुने भएको छ । प्रतियोगिताका लागि कार्तिक १२ गतेसम्म वडामा रहेका क्रिकेट टिम दर्ता गर्ने गरि खेल संयोजकमा देवबहादुर भण्डारी र सदस्यमा श्रवणकुमार खनालसहित ३ सदस्यीय समिति गठन गरिएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो ।

यसैगरी, असोज महिनामा गर्ने भनिएको नगर स्तरीय तेक्वान्दो र कराँते प्रतियोगिता चाडपर्व परेका कारण मंसिरमा सारिएको छ । उहाँका अनुसार, मंसिर १ र २ गते तेक्वान्दो तथा मंसिर ४ र ५ गते घोराही १४ मा रहेको कभर्डहलमा कराँते  प्रतियोगिता  गर्ने गरि कार्तिक २८ गतेसम्म टीम दर्ता गरिने भएको छ । तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न कराँते खेलका लागि समिति सदस्य सुनिता बिष्ट र तेक्वान्दो खेलका लागि अर्का सदस्य दामु शर्मालाई खेल संयोजकको जिम्मेवारी तोकिएको अध्यक्ष पुनले बताउनुभयो ।

खेलकुद विकास समितिले मंसिर पहिलो साता अन्तर विद्यालय उपमेयर कप छात्रा भलिबल प्रतियोगिता गर्ने भएको छ । मंसिर ६, ७ र ८ गते जिल्ला समन्वय समितिको परिसरमा प्रतियोगिता संचालन गर्न सदस्य प्रविण पुनको संयोजकत्वमा प्रविण चौधरी सदस्य रहने गरि समिति गठन गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुने विद्यालयका टिमलाई मंसिर ३ गतेसम्म दर्ता गरिसक्ने गरि मिति तोकिएको छ ।

खेलकुद विकास समितिले मंसिर १३, १४ र १५ गते अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न सदस्य विमल थापा संयोजक तथा दामु शर्मा सदस्य रहने गरि प्रतियोगिता संचालन समिति गठन गरिएको छ । घोराही १८ सालघारी कोर्टमा आयोजना हुने ३ दिने बास्केटबल प्रतियोगितामा भाग लिन मंसिर १० गतेसम्म टीम दर्ता गरिसक्न समय तोकिएको छ ।

Blog Post Ad

यसैगरी, खेलकुद प्रतियोगिता अन्तरगत मंसिर २१ र २२ गते नगर स्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । दुई दिने प्रतियोगिता संचालन गर्न सदस्य कृष्णा सुनार खेल संयोजक र केशव थापा सदस्य रहने गरि जिम्मेवारी तोकिएको छ । उक्त प्रतियोगिता घोराही १४ स्थित कभर्डहलमा संचालन गर्न मंसिर १८ गतेसम्म टीम दर्ता गर्न समय निर्धारण गरिएको अध्यक्ष पुनले बताउनुभयो । नगर स्तरीय खेलकुद विकास समितिले चालु आर्थिक वर्षको खेल तालिका अनुसार अन्तर विद्यालय स्तरीय ब्याडमिन्टल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

Blog Post Ad Blog Post Ad