Ad Area

प्रथम सुनिल पुन स्मृति फुटबलको सेमिफाईनलमा घोराही १७ र हापुर युवा क्लव


घोराही, ६ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरस्थित विपि वाटिका खेलमैदानमा जारी प्रथम सुनिल पुन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाईनलमा घोराही १७ र हापुर युवा क्लव प्रवेश गरेका छन् ।

आईतबार भएको खेलमा पहिलो क्वाटरफाइनल खेलमा घोराही १७ ले राइजिङ स्टार हापुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्ने पहिलो टीम बनेको छ । यसैगरी, अपरान्ह ४ बजेपछि भएको दोस्रो क्वाटरफाईनलमा हापुर युवा क्लवले पनि लुम्बिनी फुटबल एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

जारी प्रतियोगिता अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा घोराही १७ का लागि सागर पुन मगर, बिक्रम बिक र केशमान घर्तीले समान १–१ गोल गरे । राइजिङ स्टार हापुरका लागि निशान घर्तीले १ गोल फर्काए । उक्त प्रतियोगिताको प्लेयर अफ द म्याच घोराही १७ का सागर पुन मगर भए ।

यसैगरी, दोस्रो क्वाटरफाईनल खेलमा हापुर युवा क्लवका कैलाश ऐरी, सन्जु बस्नेत र मोहन बुढाले समान १–१ गोल गरे । उता, लुम्बिनी फुटबल एकेडेमीका रुपेन घर्तीले १ गोल फर्काए । प्रतियोगितामा लुम्बिनी फुटबल एकेडेमीका लागि बाधक बनेका हापुर युवा क्लवका गोलकिपर प्रतिक सुनार प्लेयर अफ द म्याच भए ।

प्रतियोगिता अन्तरगत अब सोमबार पनि दुई वटा खेल हुनेछ । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरको व्यवस्थापनमा भईरहेको प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्न अब सोमबार दिउँसो २ बजे मेगा स्पोट्र्स क्लव र युनाईटेड लालमटिया फुटबल क्लव बीच खेल हुनेछ भने अपरान्ह ४ बजेपछि क्वाटर फाईनलको अन्तिम खेलमा आयोजक न्यु स्टार फुटबल एकेडेमी सेतो र कालो भिड्नेछन् ।

असोज ९ गते बुधबार हुने फाईनल खेलमा जिल्लाका विभिन्न १४ टीमको सहभागीता छ । प्रतियोगितामा प्रथम हुने टीमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता हुने टीमले ३१ हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी, प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad