Ad Area

दाइजो होइन शिक्षाले शृंगारौँ


नारायणप्रसाद श्रेष्ठ

केही दिन पहिले राती गोलीकाण्डझैँ विवाह उत्सवमा भएको गड्याङगुडुङले एकछिन् तर्सायो । झ्याल खोलि बाहिर हेरेको बन्दुकको आवाजझैँ पटटट आवाज सुनियो । पछि ब्याण्डबाजा सहित चर्को ध्वनीमा बसेको बाजा पनि सुनियो । सुरुमा त फेरि २०५८ साल दोहोरियो कि भन्ने भएको थियो । पछि विवाहको उत्सवमा बजेको बाजाले उतै ध्यान आकृष्ट ग¥यो । अहिले फेरि विवाह उत्सवमा पुरानै शैलीको तडकभडक र अनावश्यक होडबाजी देखिन थालेको छ । वास्तवमा यो कति उपयुक्त हो ?

वैवाहिक संस्कार सृष्टिचक्रको इतिहासलाई जीवन्त राख्दै जीवनलाई सहज गति दिने दुई आत्माबीचको मिलन हो । सांसारिक गतिविधिमा आउने उतार चढावलाई सहज र मैत्रीपूर्ण वातावरणमा उतार्दै सामाजिक आदर्श कायम गर्ने संस्कृति र परम्परा पनि हो । जीवनमा आइपर्ने विविध समस्याहरु समाधान गर्दै जिवात्माले खोजेको निर्दिष्ट लक्ष्य पूरा गर्न यो परम्परा सामाजिक अनिवार्य संस्कृति भएर यहाँसम्म आएको छ ।

सुख, दुःखको घामछायाँसँगै आपसी सम्बन्ध र समन्वय कायम गर्न, प्रकृतिको यथार्थलाई स्वीकारी जीवनको युवावस्थादेखि अन्तिम क्षणसम्म सहयात्री भई बाँच्न र बचाउन, वैवाहिक सम्बन्ध कायम गरिएको हुन्छ । विवाह सामाजिक अनिवार्य संस्कार हो । जो हिजो थियो, आज छ र भोलि पनि रहिरहन्छ । यो कुनै जाति विशेष, धर्म र वर्गबीच नभइ प्रकृतिले सिर्जना गरेको दुई विपरीत लिङ्ग महिला र पुरुषबीचको सम्बन्ध हो ।

यही सम्बन्धबाट सिर्जित सृष्टिको इतिहासले सामाजिक परिवेश उद्घाटित भएको हुन्छ । घरपरिवार, टोल, समाजको साथै राष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्ध र विस्तार तथा परिचय यसैको माध्यमबाट सुरु भएको हुन्छ । यो सामाजिक बन्धन पनि हो । छाडा संस्कृति र पशुवत व्यवहारलाई निर्मुल गरी सृष्टिको सर्वोत्कृष्ट रचनामा रहेको मानवीय जीवनको गरिमा बढाउने यो निर्विकल्प संस्कार पनि हो । मानवीय आचरण र व्यवहारलाई परिस्कृत गर्दै ‘वशुदैव कुटुम्बकम’को मान्यता यही वैवाहिक जीवन पद्धतिले स्थापना गरेको पाइन्छ ।

आजभोलि जताततै विवाहको रमझम छ । दुलाहा र दुलहीको सम्बन्ध कायम गर्न अभिभावकको दौडधुप छ । फलाना केटा र फलाना केटीमा सम्बन्ध कायम गरे निकै राम्रो हुन्थ्यो भन्ने गफ धारा, कुवाँ, पँधेरा, चौतारी जताततै चर्चापरिचर्चा गरिएको सुनिन्छ । आ–आफ्नो संस्कार र संस्कृतिअनुसार घर, मन्दिर, मस्जिद, गिर्जाघर जताततै विवाहको रौनक छ । खुसी साटासट गर्ने, भोजभतेर, तडकभडक चारैतिर देखिन्छ ।

कोभिडको कारणले केही वर्ष शिथिल भएको समाज यो रोग केही कम भएसँगै पुनः पुरानै लयमा विवाह उत्सवहरु ससम्पन्न भए गरेका देखिन्छ । दुलाहा र दुलही भिœयाउने क्रममा वातावरण निकै उल्लासमय भएको पाइन्छ । षोडसोपचारले शृंगारिएकी दुलही र चिटिक्क परेर शृंगारिएका दुलाहाका घरपरिवार खुसी र उमंग साटासाट गरेको देखिन्छन् । घर आँगन, कोठा, चोटा झिलीमिली बत्तीले शृंगारिएका छन् । बाजागाजासहित गरगहनाले झपक्क ढाकिएका चेलिबेटीहरु नाच्दै, उफ्रँदै गरेको दृश्य सडक, टोल, होटल, मन्दिरमा यत्रतत्र देखिएको अवस्था छ ।

शृंगारिएको गाडीभित्रको खचाखचसँगै अटाइ, नअटाइ राखिएको गोडधुईको दाइजोले गाडीको छत भरिभराउ देखिन्छ । दुलाहा, दुलही बसेको गाडीको लस्कर आजभोलि प्रशस्त देखिँदै गरेको छ । दाइजोले भरिपूर्ण भएको गाडीको लस्करसहित दुलही भिœयाउने परम्पराले अझ प्रश्रय पाइरहेको छ । फालानाले त यति धेरै दाइजो ल्याएकी छ भन्दै दिदीबहिनी, छरछिमेकीहरु साउती गरेको सुनिन्छ । हाँडा, भाँडा, लत्ताकपडासहितले भरिएको गाडीको वाहन कति गर्नु त्यो केटा त भाग्यमानी रहेछ, धनी माइती पाएछ भनी गाउँघरमा चर्चा हुन थालेको छ ।

महिला–महिला र पुरुष–पुरुषबीच खानेखुसी र साउती भइरहेको छ । यसरी सामाजिक संस्कारभित्रको दुई आत्माबीचको पवित्र मिलनमा सम्पत्तिको मोहले मानिसको मन, बुद्धि र विवेकमा डेरा जमाउन थालेको छ । धन, सम्पत्ति र दाइजोप्रति मोह बढेको पाइन्छ । केटा बुद्धिमान र सक्षम छ साथै केटी पनि बुद्धिमान र सक्षम छ जस्ता शब्दहरुभन्दा दाइजोप्रतिको मोहले मानिसको विचार खिचेको छ ।

विवाह संस्कार भनेको बाबुआमाको लागि धनसम्पत्ति जोड्ने साधनजस्तै गरी सामाजिक मान्यता स्थापना हुने खतरा बढ्दै छ । सामाजिक संस्कारमा रहेको वैवाहिक सम्बन्धका आदर्शलाई बिर्सेर यही गलत संस्कृति र मान्यता विजारोपण हुने परिस्थिति भए यसले कस्तो प्रभाव पार्ला ? गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।

चेतना र सिर्जनाका सम्वाहक युवायुवतीको दाम्पत्य सम्बन्ध जाति, धर्म, वर्णबीच नभइ प्रकृतिले सिर्जना गर्न खोजेको उत्कृष्ट रचनाको मिलन मानिन्छ । यो यथार्थ सबै सामू प्रष्ट छ । तर पनि दाइजो प्रथाको कारणले शिक्षाजस्तो महत्वपूर्ण आधारभूत आवश्यकता कतै कमजोर भएको त होइन ? यो विषय त्यत्तिकै आइरहेको पनि छ । जीवनको आरोह, अवरोह र गतिशीलतामा देखिने समस्याको समाधान गर्दै सुख, दुःख भोगेर लक्ष्य प्राप्त गर्न कायम हुने वैवाहिक सम्बन्धमा भौतिकवादी चिन्तनभित्र आशक्ति बढाउनु कति जायज ?

युवायुवतीबीचको आपसी सम्बन्धलाई शिक्षाको गुणस्तरीयताले भरिएर सुन्दर र स्वच्छ जीवनशैली अपनाउनुपर्ने अवस्थामा दाइजोलाई सम्मान दिने परम्परा समाजको कलंक हुन सक्दैन र ? तसर्थ, शिक्षाको उज्यालो घामबाट सबैलाई परिचित गराउँदै छोरी र छोरालाई गुणस्तरीय शिक्षा दिनु अभिभावकको जिम्मेवारीबोध हुन आएको छ । भड्किलो, लवाइखवाइ, फेसन, शृंगार, भोजभतेर र दाइजो नै आफ्नो इज्जत वैभव भन्ने मान्यतालाई हटाइ सामान्य कार्य काम गरी विवाह उत्सव सम्पन्न गर्नेतर्फ सबैको ध्यान पुग्न जरुरी भइसकेको छ ।

सामाजिक संस्कारभित्रको विवाह संस्कारलाई प्राकृतिक नियमको पद्धतिसँग गाँसी ज्ञानी र विवेकशील भइ दाइजो होइन शिक्षाको उज्यालो ज्योतिसँगै दुलाहा, दुलहीलाई शृंगारी सामाजिक मान्यतालाई अगाडि बढाऔँ । दुलहीलाई भौतिक विलासीले शृंगार्नुभन्दा गुणस्तरी शिक्षाले शृंगार गर्न सबैको ध्यान आकृष्ट हुन जरुरी छ । विवाह सम्बन्ध कायम गर्दा केटा र केटी दुवै एउटै रथका दुई पाङ्ग्रा हुन् भन्ने यथार्थसँग सबै परिचित भइ शिक्षाजस्ता आधारभूत आवश्यकता पूरा गर्ने गराउनेतर्फ अब सबैको ध्यान जान जरुरी छ ।

दाइजो केवल सम्पत्ति देखाउने भौतिकवादी चिन्तनभित्रको वैभव मात्र हो । यस्तो गलत परम्पराको अन्त्य गरी छोराछोरीलाई दाइजो होइन, शिक्षा, ज्ञान, बुद्धि र विवेकले भरिएको सकारात्मक चिन्तक बन्न उत्प्रेरित गरौँ । सम्पत्तिको होडबाजी देखाउने गरी विवाह संस्कारलाई अनावश्यक भड्किलो हुनबाट रोक्न सिकाऔँ । देखावटी र आडम्बरयुक्त विचारलाई परित्याग गरी बाह्य आवरणमा होइन अन्तरआत्माले देखाउन खोजको सत्यमा आधारित रही विवाह संस्कारलाई सम्पन्न गरौँ । वर्तमानले यही खोजिरहेको छ । हुन त यति कुरा गरिरहँदा कतिपयलाई यो अपाच्य पनि हुनसक्छ ।

छ र पो गछौँ, छोराछोरीको खुसीमा यत्ति नगरे के गर्ने ? भन्ने प्रश्न पनि उठ्न सक्छ । यथार्थ सत्य अवश्य तीतो हुन्छ भन्ने सत्यलाई बुझी धनसम्पत्तिले होइन शिक्षाले ओतप्रोत हुने वातावरण बनाऔँ । वर्तमानमा शिक्षामा महिलाको उपस्थिति देख्दा यसले केही आशा र उल्लासको वातावरण सिर्जना गरेको छ । यसलाई अझ बढी सशक्त भएर समाजलाई अगुवाइ गर्ने गरी शिक्षालाई अझ बढी प्राथमिकता दिनुपर्ने अवस्था परिस्थितिले सिर्जना गरेको छ ।

शिक्षाकै कारणले अहिले महिला हिंसामा समेतमा केही कमी आएको अनुभूति गरिँदै छ । अशिक्षा र बेरोजगारीका कारण भइरहेको हिंसाजन्य अपराध कार्यलाई दुरुत्साहन गर्दै स्वच्छ र पवित्र विचार प्रवाह गर्नसक्ने गरी ज्ञानी र गुणी समझदार छोराछोरी तयार गर्न अभिभावकलगायत हामी सबै एकजुट बनौँ । वर्तमानले यही सन्देश दिने खोजेको छ ।