Ad Area

एकीकृत समाजवादीले मनायो १२ औं घनश्याम स्मृति दिवस


दाङ,१९ असोज। नेकपा एकीकृत समाजवादी दाङले दंगाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा घनश्याम बुढाथोकीको १२ औं स्मृति दिवस मनाएको छ ।

शनिबार पार्टी कार्यालयमा आयोजित स्मृति कार्यक्रमका एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राणाले घनश्याम बुढाथोकी साँचो अर्थमा कम्युनिष्ट भएको बताए ।

‘ घनश्यामजी अत्यन्त वर्गीय नेता हुनुहुन्थ्यो । सादा जीवन तर उच्च विचारका धनी हुनुहुन्थ्यो । समाजका भुइँ तहका उहाँ वास्तबिक नेता हुनुहुन्थ्यो । उहाँले आफ्ना लागि केही गर्नुभएन तर पार्टी र जनताका लागि सदा समर्पित हुनुभयो ।’ प्रमुख अतिथिका रुपमा बोल्दै राणाले भने ।

एकीकृत समाजवादी दाङका कार्यबाहक अध्यक्ष दामोदर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त सभामा समाजवादीका नेताहरु चिरञ्जिबी बुढाथोकी, गुरुप्रसाद महरा, रामप्रसाद चौधरी, गजेन्द्र खड्का, सुशीला पौडेल, हरिकला बाँठा मगरलगायतले स्वर्गीय नेता बुढाथोकीबारे आआफ्ना स्मृति सुनाएका थिए ।

कार्यक्रमको सहजीकरण जिल्ला उपसचित एवं प्रचार विभाग प्रमुख सूर्य बिसीले गरेका थिए । ०६९ असोज १९ गते एमालेले आयोजना गरेको सरकार विरुद्धको देशव्यापी प्रदर्शनमा भाग लिन जाने क्रममा घोराहीमा बुढाथोकीको मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो ।

दाङको बिकट पहाडी गाबिस सैघा गाबिस(हाल घोराही उपमहानगरपालिका–१९)बाट ०४९ र ०५४ को स्थानीय निर्वाचनमा दुई पटक गाबिस अध्यक्षमा निर्वाचित स्व. बुढाथोकी कार्यकर्तामाझ निकै लोकप्रिय रहेका थिए भने उनलाई धेरै जसोले नेत्रलाल अभागीको सच्चा उत्तराधिकारीका रुपमा समेत हेर्ने गरेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad