Ad Area

दाङमा ५० किलो बढी चरेस र अफिमसहित तीनजना पक्राउ


घोराही, २२ असोज । दाङमा प्रहरीले ५० किलोभन्दा बढी लागुऔषध चरेस र अफिमसहित तीनजनालाई पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१८ मसिनामा लुकाएर राखिएको ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १५२ ग्राम अफिमसहित तीन अभियुक्तलाई प्रहरीले मंगलवार दिउँसो पक्राउ गरेको हो ।
रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–४ निवासी ३७ बर्षीय सुविन्द्र पुन र ५१ बर्षीय चेतन बुढा लागुऔषध (अफिम) बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक ईश्वर थापाको नेतृत्वमा खटिएको टोलीले मसिनाबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ गरेर खानतलासी गर्दा सुरेन्द्र पुनले बोकेको निलो प्लास्टिकको झोलाभित्र सेतो प्लास्टिकको दुई पोका अफिम भेटिएको थियो । अफिम भेटिएपछि प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा साविक रुकुम पूर्व भूमे गाउँपालिका हाल घोराही उपमहानगरपालिका–१८ मसिनामा बस्दै आउनुभएकी ४२ बर्षीय बिनी पुनबाट उक्त लागुऔषध खरिद गरेको बताएका थिए ।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिनी बस्दै आएको घरमा खोजतलास गर्दा कोठामा लुकाइराखेको चरेश र अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको छ । पक्राउ परेका तिनैमाथि थप अनुसन्धान भइरहेको भन्दै प्रहरी उपरीक्षक तिमिल्सिनाले भन्नुभयो,‘लागुऔषधका रुपमा प्रयोगकर्ताहरु यसअघि पक्राउ भइरहेका थिए तर अहिले प्रहरीले कारोवारीलाई नै पक्राउ गर्न सफल भएको छ ।’

पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीले लागुऔषधसहित तौल गर्ने डिजिटल तराजु एक थान, लागुऔषध प्याकिङ गर्न प्रयोग गर्ने विभिन्न साइजका प्लाष्टिक एक किलो चार सय ग्राम र लागुऔषध प्याकिङ गर्दा प्रयोग गरिने पहेलो र खैरो रङको टम चार थान बरामद गरेको छ । पक्राउ परेका अभियुक्त र लागुऔषध प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad