Ad Area

भाइको हत्या आरोपमा दाई पक्राउ


घोराही, ३० असोज । दाङमा  भाईको हत्या आरोपमा दाईलाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका–४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय दाजु पूर्ण तामाङलाई पक्राउ गरेको हो ।

पूर्णले छुरा प्रहार गरेर सहोदर भाइ २८ वर्षीय अनिल तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक ठकुरीका अनुसार असोज २९ गते बिहान नौं बजेतिर घरायासी विवादका क्रममा पूर्णले भाई अनिलको पेटमा छुरा प्रहार गरेका थिए । घाइते अनिललाई उपचारका लागि तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो । अस्पताल ल्याइएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

सुरुमा सम्पत्ति माग्दै बिबाद झिकेर आँफैले आँफैलाई चक्कु प्रहार गरेको भनिएपनि अनुसन्धानका क्रममा अनिलको मृत्यु दाजुको चक्कु प्रहारबाट भएको खुल्न आएको प्रहरी नायव उपरीक्षक ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सुरुमा आफैले चक्कु प्रहार गरेर मृत्यु भएको भन्ने थियो तर मृतकका बाबु सोमार र दाजु पूर्णलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गर्दा दाजु पूर्णले नै भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको तथ्य खुल्न आएको छ ।’

बबई गाउँपालिका–४ हापुरे बजारस्थित डोल्मा होटेलभित्र पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको र झगडा सुनेर भित्र प्रबेश गरेका बुवा सोमारलाई पूर्णले भाइले आँफैले पेटमा चक्कु प्रहार गरेको बताएका थिए । चक्कु प्रहारबाट भुइमा लडेका अचेत अवस्थाका अनिललाई उपचारका लागि अस्पताल ल्याएको थियो । बाबुमाथि भाइले गरेको दुब्र्यबहारका कारण आवेग र उत्तेजनामा आइ दाजुले भाइमाथि चक्कु प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ ।

पूर्ण बुवाआमा र बहिनीसंगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरि बस्दै आएका थिए । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँमा बस्ने अनिल भने दसैंको समयमा असोज २३ गते मात्रै हापुरे आउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad