Ad Area

बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति प्रतियोगिता सुरु


घोराही, २ कात्तिक । प्रथम खेतुलाल नेपाली (सुरज) स्मृति कप २०८१ खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ । काभ्रेली एकता समाज दाङको आयोजनामा स्वर्गीय खेतुलाल नेपाली सुरज प्रथम स्मृति कप २०८१ खुला क्रिकेट प्रतियोगिता शुक्रवार भएको हो ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ जुम्लेपानी गढीलेक खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले भौतिक विकाससँगै मानवीय विकासका लागि शिक्षा, खेलकुदलगायत क्षेत्रमा लगानी गर्दै आएको बताए । स्वस्थ नागरिक उत्पादनमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने हुँदा युवाहरुलाई खेल क्षेत्रमा लाग्न यस प्रकारका प्रतियोगिता सहयोगी हुने बताए ।

युवाहरु गलत बाटोमा लाग्नबाट जोगाउन सबैले सकारात्मक भावनाको विकासमा ध्यान दिनुपर्नेमा भन्दै अध्यक्ष पुनले खेलसँगै स्वास्थ्य र वौद्धिक विकासमा खेल गतिविधिले भूमिका खेल्ने हुँदा सबैले साथ सहयोग गर्नुपर्ने बताउनुहुन्छ । आगामी दिनमा पालिकास्तरीय टीम तयार पार्ने गरि पालिकाले योेजना बनाएको भन्दै पहाडी पालिकाका रुपमा रहेको बंगलाचुलीमा पनि क्रिकेट खेल विकासका लागि पूर्वाधार तयार पारिएको बताए । यसका लागि गढीलेकमा खेल मैदान बनाउन प्रदेश सरकारसँगको सहकार्यमा सवा करोड लगानी भइरहेको बताए ।

उनले पालिकाले भलिबल, फुटबल, क्रिकेटलगायत खेलमा आफुहरुले विशेष ध्यान दिएको भन्दै खेलाडीलाई लाग्न आग्रह गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले खेललाई माया गर्ने साथीको सम्झनामा खेल आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले पालिकाले पनि भौतिक विकाससँगै मानवीय विकासमा पालिकाले ध्यान दिएको भन्दै अपेक्षा अनुसार काम हुन नसकेपनि प्रयास जारी रहेको बताए । अरुका कुरा सुनेर धारणा बनाउनेभन्दा आफु सिर्जनशील हुनुपर्ने बेला भएको रचनात्मक काममा जुट्न युवाहरुमा अपिल गरेका थिए ।

सामाजिक सञ्जाल रंगाउनेभन्दा सिर्जनात्मक काममा युवाको भुमिका हुनुपर्ने उनको भनाइ थियो । दुई दिन चल्ने प्रतियोगितामा विभिन्न १० वटा क्लवको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेता टिमले २० हजार तथा उपबिजेता हुनेले दश हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी म्यान अफ द सिरिज, बेस्ट बलर र बेस्ट ब्याटसम्यानलाई पुरस्कार प्रदान गर्नेछ ।
समाजका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको उदघाटन समारोहमा खेल संयोजक विक्रम डाँगीले प्रतियोगिता बारे जानकारी गराएका थिए भने सहजीकरण तेज विश्वकर्माले गरेका थिए ।