Ad Area

कविता : अस्थित्व !


श्रीराम दहित
रुचि अनि क्षमता अनुसारको कर्तव्य खै हाम्रो ।
प्रयोग बिहिन इन्जिन झैँ खिया लाग्दै छ नराम्रो ।।

मानव जीवनको कथा सुरु भयो,अनि अन्त्य कहाँ
सुरदुर्लभ मानव काया अस्थित्व बिहिन छ, यहाँ ।।
प्रत्येक पल जल्ने जलाउनेहरुको कमि छैन, गाउँ शहर ।
मानव अस्थित्व जोगाउँदै शान्ति समृद्धि हाम्रो हुनुपर्छ रहर ।।

ओठे भाव अनि भक्ति गर्नेको भिड बढ्दै संसार ।
सत्य-तथ्य उडाउँदै मानव जीवन सधैं छ,अन्धकार ।।
चितासम्म जानु अघि सदुपयोग गरौँ अमुल्य शक्ति ।
टुक्रिएको मन-मुटु जोड्दै संचित गर्न गरौँ है भक्ति ।।

कसैले जीवनलाई गीत गायो त कसैले बनायो कथा ।
मानव अस्थित्व जोगाइ राख्न प्राणी मात्रको बुझौं व्याथा।।
जीवनलाई फुलको उपमा दिदै पुजामा चढाउन मिल्ने बनाऔं ।
काम क्रोध अहंकार मोह घमण्ड प्रगति बाधक तप गरि घटाऔं।।

अनावश्यक शक्ति क्षय शारीरिक मानसिक रूपमा हुँदै,
शक्ति बिहिन महसुस गर्दै भौंतारिदै छ मानव सधैं रुँदै
संसार चलाउने अदभूत उर्जाको खानी हाम्रो मानव चोला ।
कस्तुरीले बिणा खोज्दै हिँडे झैँ स्वयंको शक्ति बुझ्ने कहिले होला ?

वीर नेपाली पहिचान हाम्रो विजयी सधैंको उपहार ।
शक्ति संचित सदुपयोग नगर्दा पराजित देख्छौं संसार ।।
कोपिला हो जीवन नझारी सधैं फक्रिन दिऔं ।
आँसु अनि पासो होइन जीवन खुल्ला पंछि झैँ खेलौं ।।