टिमुरका विरुवा बिक्रीबाट आम्दानी
घोराही, ४ कात्तिक । दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर बार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ । बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका विरुवा उत्पादनसँगै बिक्री गरेर दुई लाख बढी बार्षिक गर्ने गरेको हो ।
महत्पपूर्ण जडिबुटीका रुपमा रहेको टिमुरका विरुवा उत्पादन गरेर जिल्लाभित्रसँगै प्युठान, रोल्पा, सल्यान, रुकुमलगायतका जिल्लाहरुमा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढा बताउँनुहुन्छ । परम्परागत रुपमा जंगलमा पाइने टिमुरलाई व्यवसायिक बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले करिव पाँच बर्षअघिदेखि नर्सरीका रुपमा विकास गरिएको अध्यक्ष बुढाले बताउनुभयो ।
नर्सरीका रुपमा विकास भएपछि बंगलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिहरुलाई विरुवा बिक्री गर्ने गर्दै आम्दानी लिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वन समूहका सदस्यलाई विरुवा उत्पादनका लागि तालिमसँगै व्यवसायिक रुपमा विरुवा उत्पादनका लागि ग्रीन हाउस र टनेल निर्माण गरिएपछि वन समूहले व्यवसायीक रुपमा टिमुर उत्पादन थालेको हो ।
टिमुरका विरुवा उत्पादनका लागि करिव सात लाखको लगातमा जिआईजेटले ग्रीन हाउस र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समुहले तीन वटा टनेल निर्माण गरिएको थियो ।
वन समुहले बार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्ने गर्दै आएको भन्र्दै अध्यक्ष बुढाले भन्नुभयो,‘वनलाई उत्पादनसँग जोड्ने र आम्दानीमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक विरुवा उत्पादन गर्ने र बिक्री गर्दै आएका छौ ।’ उहाँका अनुसार लक्ष्य अनुसार विरुवा उत्पादन गर्न नसक्दा गतबर्ष करिव दश हजार मात्र विरुवा मात्र विक्री गरिएको बताउनुभयो ।
वन समुहले सुरुका बर्षहरुमा साविकको राप्तीसँगै बाँके, सुर्खेत,गुल्मीलगायतका ठाउँहरुमा विरुवा बिक्री गरेर बार्षिक दश लाखसम्म आम्दानी गरेको भएपनि पछिल्लो समय अन्य जिल्लाहरुमा विरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार अहिले प्युठान, सल्यानलगायतका दाङमै निजी क्षेत्रबाट पनि टिमुरका बिरुवा उत्पादन हुने गरेको छ ।
वन समुहले बिरुवा उत्पादन गरेर बिक्रीसँगै टिमुरबाट आम्दानी लिनका लागि करिव वन समुहको १९८.३६ हेक्टर क्षेत्रफलमा एक हजार टिमुरका विरुवा रोपिको अध्यक्ष बुढाले बताउनुभयो । रोपिएका विरुवा हुर्किएमा वन समुहले विरुवा विक्रीसँगै फलबाट पनि आम्दानी लिन सकिने भन्दै अध्यक्ष बुढाले भन्नुभयो,‘वन समुहको विभिन्न क्षेत्रमा एक हजार बढी विरुवा रोपेका छौ, त्यी विरुवा हुर्किएपछि विरुवा उत्पादनसँगै फलबाट समेत वन समुहले आम्दानी लिने छ ।’ उत्पादन गरेको रकम वन समुहको खातामा राख्ने र विरुवा उत्पादनलगायतका विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ ।
जुम्लेपानी सामुदायिक वन समूहले उत्पादन गरेका बिरुवा खरिद बिक्रीसँगै अध्ययन अवलोकनका लागि समेत मानिसहरु मानिसहरु आउने गरेको वन समूहका सहसचिव तामबहादुर परियार बताउनुहुन्छ । पहाडी र चिसो हुने ठाउँमा उत्पादन लिन सकिने टिमुरका विरुवा वन समुहले उत्पादन गरेर आम्दानी लिन थालेपछि विरुवा खरिदसँगै अध्ययन, अवलोकनका लागि मानिसहरु आउने गरेको बताउनुभएको छ ।