योजना कार्यान्वयनको तयारीमा स्थानीय तह
दाङ, ७ कात्तिक । स्थानीय तहहरू आफ्नो क्षेत्रमा रहेका आयोजना कार्यान्वयनमा जुटेका छन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरेर १० वटा स्थानीय तह रहेका छन् ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा स्थानीय तह आफूले बनाएका विकासे आयोजना तथा सङ्घीय सरकार तथा प्रदेश सरकारबाट आएका योजनाको कार्यान्वयनमा जुटेको स्थानीय तहले जनाएका छन् । समयमै योजना सम्पन्न गर्ने उद्देश्यले आफूहरू लागिपरेको जनप्रतिनिधि बताउँछन् । स्थानीय तहले तिहार अघि नै उपभोक्ता समिति गठन तथा योजना सम्झौता गरिसक्ने र तिहार लगत्तै योजना कार्यान्वयनमा जाने गरी काम गरिरहेको बताएका छन् ।
समयमै योजना कार्यान्वय सुरु गरेर समयमै सम्पन्न गर्ने तयारीमा स्थानीय तह रहे पनि आर्थिक वर्षको अन्त्यमा योजना सम्भौता गर्ने विगतदेखिको समस्या रहँदै आएको छ । यो समस्या अहिले पनि रहेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस प्रकारको समस्या केही कम हुने अपेक्षा गरे पनि त्यसो हुन नसकेको जानकार बताउँछन् ।
आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम सुरु गर्ने र छिटो सक्नु पर्ने भएकाले हतारमा काम गर्दा गुणस्तरीय काम नहुने र टिकाउ समेत नहुने विज्ञहरूको भनाइ छ । असारे विकास रोक्ने प्रयास सरकारले गरे पनि सार्थकता भने पाउन सकेको छैन । अझै पनि अधिकांश विकास निर्माणका काम आर्थिक वर्षको अन्त्यमै हुने गरेका छन् ।
राप्ती गाउँपालिकाले योजना कार्यान्वयन गर्न उपभोक्ता समिति गठन गर्ने र योजना सम्झौता गर्ने काम भइरहेको जनाएको छ । राप्ती गाउँपालिकाका सूचना अधिकारी विश्वास विश्वकर्माले योजना कार्यान्वयनको काम सुरु भएको जानकारी दिए । ‘हामी योजना कार्यान्वनको प्रक्रियामा काम गरिरहेका छौँ’, उनले भने । कात्तिक मसान्तसम्म योजना सम्झौता सक्ने गरी गाउँपालिकाले काम गरिरहेको जनाएको छ ।
‘कात्तिक मसान्तसम्म योजना सम्पन्न गर्ने र जेठ मसान्तसम्ममा भुक्तानी समेत सक्ने योजना बनाएका छौँ’, सूचना अधिकारी विकले भने । जेठ मसान्तसम्म सबै योजनाको भुक्तानी सक्ने योजना गाउँपालिकाले गरेको भन्दै विकले पालिकाले छ वटा योजना सम्पन्न गरिसकेको जानकारी दिए । छ वटा योजनाको ठेक्का आवसान गरिएको छ भने केहीको ठेक्का आह्वान गर्ने तयारीमा रहेको सूचना अधिकारी विकले जानकारी दिए । उपभोक्ता समिति गठन गरेर योजना सम्झौताको काम भइरहेको उनले बताए ।
यसैगरी लमही नगरपालिकाले पनि योजना कार्यान्वयनलाई अगाडि बढाएको जनाएको छ । हालसम्म कुनै पनि योजना सम्झौता नभएकोे लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले जानकारी दिए । प्राविधिक पक्षले सर्भेक्षण गरिरहेकाले योजना सम्झौता नभएको उनले बताए । ‘अहिले ठुला आयोजनाको प्राविधिक सर्भेको काम सुरु भएको छ, सर्भेको काम सकिएपछि ठेक्का प्रकाशन हुने छ’, प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने ।
अहिले सङ्घीय सरकार तथा प्रदेश सकार अन्तर्गतका आयोजनाको सर्भेको काम भइरहेको उनको भनाइ छ । ठुला आयोजनाको सर्भेपछि नगरपालिकाका आफना आयोजनाको सर्भेको काम सुरु गरिने उनको भनाइ छ । ‘छिट्टै नै प्राविधिक सर्भेको काम सकेर कार्यान्वयनको चरणमा जाने छौँ’, उनले भने । पहिलो चौमासिकसम्म योजना सम्झौता गरिसक्ने लक्ष्य रहेको नगरपालिकाले जानकारी दिएको छ ।
तुलसीपुर उप महानगरपालिकाले पनि योजना सम्झौताको काम सुरु भएको जनाएको छ । उपमहानगरपालिकाका सूचना अधिकारी बावुराम न्यौपानले आयोजनाको सम्झौताको काम सुरु भएको जानकारी दिएका छन् । ‘दसैँपछि सुरु भएको योजना सम्झौताको काम भइरहेको छ’, सूचना अधिकारी न्यौपानेले भने । उपमहानगरपालिकाले पहिलो चौमासिकसम्म योजना सम्झौता सम्पन्न गर्ने योजना बनाएको र दोस्रो चौमासिकसम्म आयोजनाको कार्यान्वन सक्ने गरी काम गरिरहेको जनाएको छ ।
यसैगरी बबई गाउँपालिकाले पनि योजना कार्यान्वयन सुरुआत भएको जनाएको छ । पालिकाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले योजना कार्यान्वयनको सुरुआत भएको जानकारी दिए । अहिले पालिकामा कार्यान्वयन गरिने आयोजनाको प्राविधिक सर्भेको काम सुरु भएको उनले बताए । ‘प्राविधिक सर्भेको काम सकिएपछि कार्यान्वयनको काम अगाडि बढाइने छ’, सूचना अधिकारी अधिकारीले भने ।
पालिकाले ढिलोमा चैतसम्म सबै योजना सम्झौता सक्ने र जेठ मसान्तसम्म सबै भुक्तानी सक्ने योजना बनाएको उनले बताए । पालिकाले पाँच लाख माथिका योजना ठेक्कामार्फत् गर्ने योजना बताएको छ भने पाँच लाखभन्दा कमका आयोजना उपभोक्ता तथा ठेक्कामार्फत् गरिने छ । जिल्लाका अन्य स्थानीय तहहरूले पनि योजनाको कार्यान्वयनको काममा जुटेको जनाएका छन् ।