Ad Area

दाङमा वर्षेनी थपिँदै एचआईभी पोजिटिभ,संक्रमित हुनेमा पुरुषभन्दा महिला धेरै


घोराही, १६ मंसिर । दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्या वर्षेनी बढदै गएको पाईएको छ । दाङमा २०८० सालमा ४ सय ४ जना एचआइभी संक्रमित रहेकोमा यो वर्ष बढेर ४ सय ३७ पुगेको छ ।

समुदाय स्तरमा पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको छ । यो वर्ष ३३ जना नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो वर्ष जिल्लामा ४३ जना एचआईभीका नयाँ बिरामी थपिएका थिए । यो वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ८५ जना र प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट १ सय ५२ जना एचआईभी संक्रमितले उपचार गराईरहेका छन् ।

एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरुमा सुईद्वारा लागू पदार्थप्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रो लिंगीहरु र रोजगारीका लागि विदेश गएर फर्किएकाहरु रहेका छन् । दुवै एआरटी सेन्टरबाट पहिचान भई औषधि सेवन गरिरहेका एचआईभी संक्रमितहरुमा सबैभन्दा धेरै घोराहीका रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको एआरटी सेन्टरकी काउन्सिलर तारा बिसीका अनुसार, वैदेशिक रोजगारीको सिलसिलामा गएकाहरुमा सबैभन्दा धेरै एचआईभी संक्रमण देखा परेको छ ।

वैदेशिक रोजगारीमा गएर फर्किएकाहरु १ सय ५० जना एचआईभी संक्रमित भएका छन् । यसैगरी, १५ वर्षदेखि माथि उमेर समुहमा १ सय ३७ जना महिला र १ सय २९ जना पुरुष रहेका छन् भने ७ जना अन्य रहेका छन् । यसैगरी, १५ वर्ष मुनि उमेर समुहका ४ जना महिला र ८ जना पुरुष रहेका छन् । जसमध्ये १५ जना यौनकर्मी, २३ जना पुरुष समलिंगी, ५९ जना आप्रवासी कामदार, ७ जना अन्य र ३१ जना आमाबाट बच्चामा सरेका रहेका छन् ।

उता, प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट पहिचान भएका १ सय ५२ जनामा तुलसीपुरका सबैभन्दा धेरै छन् । तुलसीपुरका ८३ जना, शान्तिनगरका १५ जना, बबईका २३ जना, दंगीशरणका १० जना, लमहीका २ जना, घोराहीका १० जना, जिल्ला बाहिरका ९ जनाले उपचार सेवा लिईरहेका एआरटी काउन्सिलर प्रमिला लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, १५ वर्षदेखि माथि उमेर समुहका ७४ जना पुरुष, ७४ जना महिला, १५ वर्ष मुनि उमेर समुहका ३ बालिका र १ बालक रहेका छन्् । जसमध्ये ९ जना यौनकर्मी, १ जना लागू पदार्थ दुव्र्यसनी, ३ जना समलिंगी, ४१ जना आप्रवासी कामदार, ९८ जना अन्य प्रकृतिका रहेका उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष जिल्लामा ४ सय ४ जना फेला परेकोमा मध्ये घोराहीमा एक सय १८, बंगलाचुलीमा १८, लमहीमा २४, राप्तीमा ३१, राजपुरमा १६, बबईमा २९, दंगीशरणमा १३, शान्तिनगरमा १५, तुलसीपुरमा ९३ जना र गढवामा ६ जना एचआइभी संक्रमित रहेका थिए ।

२०७९ सालमा पनि जिल्लामा एचआईभी संक्रमित ३ सय ६१ जना रहेका थिए । उनीहरु मध्ये घोराहीमा २ सय ३२ जना तथा तुलसीपुर क्षेत्रमा १ सय २९ जना गरी ३ सय ६१ जना संक्रमितहरुले एआरटी सेवा लिएका थिए । घोराहीमा १ सय १२ जना महिला, १ सय १६ पुरुष, तेश्रो लिङ्गी ४ जना र तुलसीपुरमा ६५ जना महिला, ६४ जना पुरुष रहेका तथ्यांक थियो ।

एचआईभी पहिचान भएका सबै संक्रमितहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरबाट एआरटी औषधि सेवन गरिरहेका छन् ।अस्पताल आउनेहरुमाथि शंका लागेमा एचआईभी प्रि र पोष्ट टेस्ट, काउन्सिल, औषधी सबै निशुल्क उपलब्ध हुने गरेको छ । पहिचान भएका बिरामीलाई सचेत गराउँदै आउने दिनमा हुने थप जोखिम कम गर्न निरन्तर काउन्सिलिङ गर्ने गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एआरटी काउन्सिलर बिसीले बताउनुभयो ।

उहाँले एचआईभी भएकाहरुलाई बेसलाईन टेस्ट गरेर औषधी दिने, पहिलो पटकका लागि १४ दिनको औषधी दिने गरिएको बताउनुभयो । त्यसपछि मासिक रुपमा १ वर्षसम्म औषधी उपलब्ध गराउने गरिएको बताउनुभयो । औषधी खाएको ६–६ महिनामा अवस्था बारे परिक्षण हुने त्यसपछि एक–एक वर्षमा परिक्षण गर्ने गरिएको बताउनुभयो । भाईरललोड टेस्टका लागि बिरामीको नूमना परिक्षण गर्न काठमाडौ पठाउने काम पनि अस्पताल आफैले गर्दै आएको काउन्सिलर बिसीले बताउनुभयो । अस्पतालबाट बिरामीसँगै उनीहरुको परिवारलाई आवश्यक काउन्सिलको काम निरन्तर हुने गरेको छ ।

यद्यपि, संक्रमितहरुमा अझै पनि यो जटिल रोग हो भन्ने भावना रहेको र समाजले पनि संक्रमितलाई अपहेलना गर्दा पहिचान, उपचार र व्यवस्थापनमा समस्या रहेको तुलसीपुरकी काउन्सिलर लामिछानेले बताउनुभयो । संक्रमितहरुले पायक पर्ने ठाउँमा सहज रुपले औषधि समेत खान नसक्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

नयाँ पहिचान भएकाहरुको पूरा ईतिहास खोज्दै समस्याको समाधान गर्न जरासम्म पुग्ने काम भईरहेको उहाँले बताउनुभयो । यसका लागि एचआईभी संक्रमितको यौन साथीसम्म पुग्ने गरेको जानकारी दिनुभयो ।पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानी राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काममा विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।

एचआईभी पहिचान र रोकथामका लागि जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले पनि काम गर्दै आएका छन् ।नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालका अनुसार, एचआईभी संक्रमति पहिचान गर्न तल्लो तहसम्म काम भईरहेकाले फेला पर्ने गरेका छन् । शंकास्पद, यौन गतिविधिमा बढी हुनेको निगरानी बढाएको हुँदा पछिल्लो समय जिल्लामा एचआईभी संक्रमित पहिचानदेखि उपचारसम्मको व्यवस्था हुने गरेको नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक बसन्त खनाल बताउनुहुन्छ ।

रोगको जोखिम कम गर्न सुरक्षित यौन सम्पर्क, कन्डम वितरण, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै आएको उहाँले बताउनुभयो ।
पछिल्लो समय एचआईभीका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले जोखिमपूर्ण अवस्थामा रहेका संक्रमितहरुको रेखदेखदेखि उनीहरुको स्याहार सुसारमा ध्यान दिन थालेपनि यसको जोखिम कम हुन नसकेको पछिल्लो तथ्यांकले देखाएको छ ।

संक्रमितहरुको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन् । पछिल्लोसमय एचआइभी संक्रमित पहिचान भएकाहरु सिमेन्ट उद्योग क्षेत्रका तथा केही भारतमा काम गरी फर्किएकाहरु हुन् । विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइएको छ । रोजगारीमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किनुका साथै अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको तथ्यांकले पनि देखाउने गरेको छ ।

संक्रमितहरु समाजमा बदनाम हुने डरले खुल्न नसक्दा एड्सको जोखिम झन बढेकाले संक्रमितहरुलाई पनि अन्य सरह व्यवहार गर्ने वातावरण बनाउन आवश्यक रहेको चिकित्सक बताउँछन् ।एचआइभी एड्सका कारण मृत्यु हुने तथा संक्रमितको संख्यामा पनि कमी हुँदै गएको पाइएको छ ।