टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
घोराही, १७ मंसिर । दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रा ७ प ७४६ नम्वरको मोटरसाइकललाई रा १ ख १२९१ नम्वरको टिप्परले ठक्कर दिदा मोटरसाइकल चालक मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर निवासी १९ बर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक थापाले टिप्परको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो । प्रहरकिा अनुसार मृतको शव प्रतिष्ठानमा राखिएको छ । मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–१७ निवासी २२ बर्षीय दिपक बस्नेत गम्भीर घाइते हुनुभएको छ ।
घाइतेको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते बस्नेतको दाहिने खुट्टा र बायाँ हातको औलामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक घोराही ११ डोक्रेना निवासी ४० बर्षीय जीतबहादुर चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको टिप्परले सोही दिशामाजाँदै गरेको मोटरसाइकलाई सवा सात बजेतिर ठक्कर दिएको थियो । आक्रोशित मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन् ।