Ad Area

प्याब्सन घोराही रनिङ शिल्ड सुरु


महेश बस्नेत
दाङ, २८ मङ्सिर । घोराहीमा तेस्रो प्याब्सन रनिङ शिल्ड २०८१ विहीवारदेखि घोराही उपहानगरपालिका वडा नं. १८ नवलपुरस्थित खेलमैदानमा सुरु भएको छ । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन घोराही नगर कमिटीको आयोजनामा सञ्चालन भइरहेको रनिङ शिल्डको तेस्रो संस्करण तीन दिनसम्म सञ्चालन हुनेछ ।

उद्घाटन सत्रमा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सामुदायिक र निजी विद्यालयहरूलाई एउटै फोरममा राख्ने नीति राज्यले लिनु पर्ने बताइन् । राज्यको लगानीबिनाका निजी विद्यालयहरूले विद्यार्थीको क्षमता विकासमा ठुलो योगदान दिएको उल्लेख गर्दै राज्यले सामुदायिक र निजी विद्यालयहरूलाई समानरूपमा हेर्नु पर्ने उपप्रमुख डिसीले बताइन् । निजी विद्यालयका विद्यार्थीप्रति प्रशंसा गर्दै उपप्रमुख डिसीले विद्यार्थीको अनुशासन, व्यवहार र प्रतिभा देख्दा आफूलाई गर्व महसुस भएको बताइन् । उनले घोराहीले स्थानीय पाठ्यक्रमा पनि विद्यार्थीहरूका अतिरिक्त क्रियाकलापलाई जोड दिएको उल्लेख गर्दै प्याब्सन घोराहीले गर्ने क्रियाकलापमा नगरपालिकाको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीले प्याब्सन घोराहीले रनिङ शिल्डको आयोजना गरी खेलाडी उत्पादन गर्न उत्कृष्ट र महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । गिरीले विद्यार्थीलाई समयको महत्व, अनुशासन, सहकार्य र सकारात्मक पक्षहरूको आत्मबोध गर्ने अवसर रनिङ शिल्डले प्रदान गरेको बताए । प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षतामा भएको रनिङ शिल्डको उद्घाटन सत्रमा शिक्षा तथा खेलकुद समन्वय इकाइ दाङका प्रमुख तिलकराम बन्जाडे शुभकामना व्यक्त गरेका छन् ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे, घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेल, प्याब्सन घोराहीका प्रमुख सल्लाहकार वीरेन्द्र चन्द, खेलकुद विकास समिति घोराहीका संयोजक नरेन्द्र पुन र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्याब्सन घोराहीका उपाध्यक्ष एवम् रनिङ शिल्डका संयोजक मानसिंह घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव बिमल भण्डारीले गरेका थिए ।

विद्यार्थीद्वारा सलामी अर्पण

प्याब्सन घोराही नगरद्वारा सञ्चालित रनिङ शिल्डको उद्घाटन सत्र प्रारम्भमा ग्यालेक्सी एकेडेमीका खेलाडी विद्यार्थीले घोराही उपमहानगरपालिका उपप्रमुख डिसीलाई सलामी अर्पण गरेका छन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी डिसीलाई विद्यार्थीले परेडसँगै सलामी अर्पण गरेका थिए । यसैगरी घोराही उपमहानगरपालिकाभित्र सञ्चालित प्याब्सनमा आबद्ध निजी विद्यालयका विद्यार्थीले घोराही बजारका विभिन्न स्थानबाट झाँकीसहित ¥याली गरेका थिए । पाँच हजार बढी विद्यार्थीको सहभागिता रहेको ¥यालीमा कार्यक्रम स्थलमा पुगी सम्पन्न भएको थियो । सहभागी विद्यालयका विद्यार्थीले कार्यक्रम स्थलमा परेड तथा नृत्य प्रस्तुत गरेका थिए ।

पहिलो दिन दुई खेल

प्याब्सन घोराही नगरद्वारा सञ्चालित प्याब्सन घोराही रनिङ शिल्ड २०८१ को पहिलो दिन विहीवार सम्पन्न जुनियरतर्फको ६० मिटर दौडमा छात्रतर्फ बिद्यानीलकण्ठ स्कुल घोराहीका रमिल कामी प्रथम, सिद्धार्थ एकेडेमी घोराहीका नविन र्चौधरी द्वितीय र गोरखा स्कुलका रविशन गिरी तृतीय भएका छन् । यसैगरी छात्रातर्फ बालकुञ्ज स्कुलका सविना बिसी प्रथम, राप्ती स्कुलका वर्षा जिसी द्वितीय र ज्योतिपुञ्ज घोराहीकी रितु चौधरी तृतीय भएका छन् ।

विहीवार सम्पन्न सिनियरतर्फ १०० मिटर दौडमा छात्रतर्फ गोरखा स्कुलका विपिन लम्साल प्रथम, हिन्दु विद्यापीठका शिशिर बेल्बासे द्वितीय र सिद्धार्थ एकेडेमीका संयोग डाँगी तृतीय भएका छन् । यसैगरी छात्रातर्फ मदन भण्डारी स्कुलकी रचना चौधरी प्रथम, शान्ति निकेतनकी युना चौधरी द्वितीय र डिभाइन एकेडेमीकी संगीता सुनार तृतीय भएका छन् । अन्य खेलहरू शुक्रवार बिहान १० बजेदेखि सुरु गरिने आयोजकले बताएका छन् ।